विजयपुर । शिक्षक नियुक्तिमा हुने राजनीतिको कुरूप रूप बर्जु गाउँपालिकामा देखिएको छ । बर्जु गाउँपालिकाका अध्यक्ष जिबच्छकुमार रायले अस्थायी÷करारका  शिक्षक विस्थापित हुने भन्दै शिक्षक सेवा आयोग उत्तीर्ण शिक्षकलाई पदस्थापन गराएका छैनन् । उनले शिक्षा समन्वय एकाइ सुनसरीलाई ‘पदस्थापन गर्न नसकिएको’ पत्राचार नै गरेका छन् ।

शिक्षक सेवा आयोग उत्तीर्ण गरेका ३ शिक्षकलाई शिक्षा समन्वय एकाइ सुनसरीले बर्जु गाउँपालिकामा मङ्सिर २६ गते सिफारिस गरेको थियो । शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख निर्मल निरौलाका अनुसार बर्जु गाउँपालिकामा ३ जना माध्यमिक तहका शिक्षक सिफारिस गरिएको थियोे ।

समन्वय एकाइले नेपालीमा विनोद सुवेदी, लेखाशास्त्रमा मणिकुमार लिम्बू र विज्ञानमा राजन पौडेललाई सिफारिस गरेको थियो । ३ दरबन्दीमध्ये एक दरबन्दी रिक्त भएकाले पदस्थापन गरिएको छ भने २ जनालाई पत्रसहित समन्वय एकाइमा फिर्ता पठाइएको छ । गाउँपालिका अध्यक्ष रायले करारका शिक्षक विस्थापित हुने भन्दै पदास्थापन नगराई पत्रसहित समन्वय एकाइ सुनसरीमा नै फिर्ता पठाइदिएका हुन् । समन्वय एकाइ प्रमुख निरौलाले भने, ‘नेपाली दरबन्दी खाली रहेकोले पदस्थापन गराइयो । अन्य कार्यरत भएकाले पत्रसहित फिर्ता पठाइएको छ ।’

आयोगको परिपत्रअनुसार समन्वय एकाइले सिफारिस गरेको हप्तादिनमा पालिकाले सिफारिस भएका शिक्षकलाई पदस्थापन गर्नुपर्ने हो । तर, पालिका अध्यक्ष रायले पदस्थापन नगराई करारका शिक्षक विस्थापित हुने भन्दै २ शिक्षकलाई पत्रसहित समन्वय इकाइमा फिर्ता पठाएका छन् । पालिका अध्यक्ष रायले चलानी नं. ९५५ को ‘पदस्थापन नगरिएको सम्बन्ध’ को शिक्षा विकास तथा समन्वय एकाइ समिति सुनसरीलाई पत्र पठाएका छन् ।

अध्यक्ष रायले मङ्सिर ३ गते पठाएको पत्रमा ‘प्रस्तुत विषयमा तहाँको कार्यालयबाट मिति मङ्सिर २६ गते च.नं. ४१५ को पत्रबाट पदस्थापनको लागि यस गाउँपालिकामा सिफारिस भई आएका तपशिल बमोजिमका माध्यमिक शिक्षकहरूलाई यस गाउँपालिकामा रहेका अस्थायी÷करारमा कार्यरत शिक्षकहरू विस्थापन हुने भएकाले यस कार्यालयबाट पदस्थापन गर्न नसकिएको व्यहोरा जानकारी गराइन्छ’ उल्लेख छ । लेखाशास्त्र विषयका मणिकुमार लिम्बू र विज्ञानका राजन पौडेललाई पदस्थापन नगरिएको पत्र प्राप्त भएको समन्वय एकाइ सुनसरी कार्यालयले जनाएको छ ।

पालिका प्रमुखको पत्र  प्राप्त भएपछि समन्वय एकाइ सुनसरीले पनि पत्राचार गरेको छ । एकाइ प्रमुख निरौलाले निर्देशनात्मक भएकाले पत्र सार बताउन नमिल्ने बताए । बर्जु गाउँपालिका स्रोतका अनुसार समन्वय एकाइले तलब रोक्का गर्नेदेखि दरबन्दी कटौती हुनसक्ने आशयको पत्र पठाएको छ ।

बर्जु गाउँपालिका स्रोतका अनुसार पालिका अध्यक्षले कार्यकर्ता भएकाले अडान लिएको बताएको छ । स्रोतका अनुसार पदस्थापन नगराइएका शिक्षकले ३ वटा विकल्प दिएका थिए । उनीहरूले पालिकामा नै हाजिर गराउनु पर्ने, स्कुल पठाउनु पर्ने र पत्रसहित समन्वय एकाइमा पठाउनु पर्ने माग गरेका थिए । स्रोतले भन्यो, ‘७ दिनमा पदस्थापन गराउनु पर्ने व्यवस्था भएकाले अनेकन छलफल गरेका छौँ । अध्यक्षले पत्र पठाउनुभएछ ।’

समन्वय एकाइ सुनसरी प्रमुख निरौलाका अनुसार शिक्षकलाई ५ गतेसम्ममा पदस्थापन गराउनु पर्ने थियो । निरौलाले करारका शिक्षक स्थायी शिक्षक पदस्थापन भएपछि अनिवार्य अवकास हुने गरी नियुक्त गरिएको बताए । उनले भने, ‘नियुक्ति पत्रमा स्थायी सिफारिस भई आएपछि अवकास हुने लेखिएको हुन्छ ।’

सरकारी नीतिअनुरूप शिक्षकहरूलाई पदस्थापनका लागि सिफारिस गरेको बताए । यदि पालिका अध्यक्षले पदस्थापन नगरेमा दरबन्दी अन्य पालिकामा जान  सक्ने एकाइ प्रमुख बताए । उनले भने, ‘पदस्थापन नगराए दरबन्दी अन्य पालिकालाई दिन  सकिन्छ । अनुदान र तलबभत्ता रोक्का हुन्छ । यो सरकारी नीति हो ।’ कानूनी कारबाही पनि  हुने उनले बताए  । प्रमुख निरौलाले भने, ‘अविलम्ब पदस्थापन गर्न निर्देशनात्मक पत्र पठाइएको छ । आयोग उत्तीर्ण गरेर आएका छन् । उनीहरूको अधिकारलाई कसैले कुन्ठित गर्न मल्दिैन ।’

बर्जु गाउँपालिका अध्यक्ष जिबच्छकुमार रायले अन्तिम दिन मात्रै आफूले जानकारी पाएको बताएका  छन् । समन्वय एकाइले मङ्सिर २६ गते नै पत्र पालिकामा पठाएको थियो । उनले समन्वय एकाइले समन्वय नगरी शिक्षक सिफारिस गरी पठाएको बताए । उनले भने, ‘नाम समन्वय एकाइ, काम चाहिँ निर्देशनवाला ?’ उनले बाहिरका शिक्षक भएकाले बस्न नमानेको पनि दाबी गरे । उनले सरकारले शिक्षक नपठाउँदा दुई–तीन हजार रुपैयाँ तलबमा काम गरेकाहरू भएकाले जनताको दबाव आएको बताए ।

अस्थायी शिक्षक राजनीतिक आधारका साथै आर्थिक चलखेलमा समेत नियुक्ति गर्ने परम्परा रहेको छ । अस्थायी शिक्षक स्थायी आएपछि स्वतः अवकास हुँदै पनि आएका छन् ।