देउराली ।  धरान स्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका शिक्षाध्यक्षमा प्रा.डा.सञ्जीव कुमार शर्मा नियुक्त भएका छन् । गत असोज २६ गते शिक्षाध्यक्ष प्रा.डा.गुरु प्रसाद खनालको पदावधि समाप्त भएपछि प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गले शर्मालाई  नियुक्त गरेका हुन ।

असोज यता डीन, परीक्षा, प्रा.डा. श्याम थापा क्षेत्रीले निमित्त शिक्षाध्यक्षकाे जिम्मेवारी निर्वाह गर्दै आएकामा बुधबार ईन्टर्नल मेडिसिन विभागका प्रा.डा. शर्मा शिक्षाध्यक्षमा नियुक्त गरिएको प्रतिष्ठानका सह–प्राध्यापक  डा.चुरामणि पोखरेलले बताएका छन् । 

11111

प्रतिष्ठानले बुधबार नै  सञ्चालक परिषद् सदस्यमा प्रतिष्ठानका शिक्षकहरू मध्येबाट दुई जनालाई मनोनीत गरेको छ । मनोनीत हुनेहरूमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा. नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायण राज भट्टराई रहेका छन् । 

उनीहरूलाई प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उपदफा (१) (ध) बमोजिम उपकुलपतिको सिफारिसमा सहकुलपति मन्त्री खापुङ्गले मनोनीत गरेका हुन् । मनोनीत हुने सदस्यहरूको  कार्यकाल ४ वर्षको हुने सह–प्राध्यापक  डा. पोखरेलले बताए । 

उनका अनुसार प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (ग) (१) बमोजिम  नियुक्त भएमा  शिक्षाध्यक्षमा प्रा. डा. शर्माको कार्यकाल भने ५ वर्षसम्म रहने छ ।