धरान । पितृ तर्पण गरे सात पुस्तासम्म पुण्य कमाइने जनविश्वासका साथ मोरङ पथरीशनिश्चरे नगरपालिकाकी धनमाया खड्का सुनसरीको विष्णुपादुका आइपुगिन् । पितृ तर्पणका लागि पौषे औँसीमा विष्णुपादुकाभन्दा अर्को ठूलो धाम नभएको उनको बुझाइ छ । त्यसैले हरेक वर्ष उनी यहाँ आइपुग्छिन् ।
पितृ सम्झनामा श्राद्धका लागि आइपुग्ने खड्का एक्ली पात्र होइनन् । नेपाल तथा भारतबाट धरान उपमहानगरपालिका २० नम्बर वडास्थित विष्णुपादुकामा श्राद्धका लागि आइपुग्छन् । त्यहीमध्येकी खड्काले पितृको सम्झनामा तर्पण गरिन् । उनी भन्छिन्, ‘पितृको सम्झनामा तर्पण दिए सात पुस्तासम्म पुण्य कमाइन्छ भनिन्छ ।’ विष्णुपादुकामा बिहीबारदेखि सुरु भएको श्राद्ध शुक्रबार पनि चलेको थियो । यहाँ भक्तालुहरूको भीड लाग्ने गरेको छ । भक्तालुको भीडलाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष व्यवस्थापन गर्ने गरेको अध्यक्ष राजकुमार निरौला बताउँछन् । उनले भने, ‘यहाँ नेपालका थुप्रै ठाउँबाट मान्छेहरू आइपुग्नुहुन्छ । भारतबाट पनि आउने उत्तिकै भेटिन्छन् ।’
विशेषगरी पूर्वोत्तर भारतबाट नेपाली भाषीहरू नै यहाँ पितृ श्राद्धका लागि विष्णुपादुका आइपुग्छन् । विष्णुपादुकाबारे विभिन्न पुराणहरूमा पनि उल्लेख छ । हिमवत् खण्डमा पनि यहाँको विषयमा वर्णन गरिएको छ । त्यही कारण पनि भारतसम्मका नागरिकहरू आफ्ना दिवङ्गत पितृको तर्पण गर्न यहाँ आइपुग्ने गरेको अध्यक्ष निरौलाको भनाइ छ । पितृ तर्पण गरे परिवारमा सुखशान्ति मिल्ने विश्वासका साथ आइपुग्नेमध्येका झापा दमककी अञ्जु खड्का पनि छिन् । उनी बर्सेनि आइपुग्ने गरेको बताउँछिन् । ‘पितृको सम्झनामा तर्पण दिँदा सन्तानलाई राम्रो हुन्छ भन्ने विश्वास छ’–उनी सुनाउँछिन् ।
पितृ श्राद्धका लागि विष्णुपादुका पहिलो गन्तव्य हो । तर, आजकाल अन्य देवालयमा पनि श्राद्ध गर्ने चलन बसेको छ । धरानको पिण्डेश्वर मन्दिर, सुनसरी रामधुनी नगरपालिकाको रामधुनी मन्दिर र वराहक्षेत्र मन्दिरमा पनि श्राद्ध गर्ने गरेका छन् । कतिपयले पितृ तर्पणलाई संस्कृतिको उपज मान्छन् । मोरङ विराटनगरका प्रह्लाद भट्टराई भन्छन्, ‘पितृ तर्पण संस्कृतिभित्र नै पर्छ । जीवित सन्तानको लागि पनि यो तर्पण आवश्यक छ ।’ संस्कारभित्रको एउटा अङ्ग मानिए पनि युवा पुस्तामाझ विस्तारै पितृ तर्पणजस्ता संस्कार ओझेलमा पर्दै गएको छ । वैदेशिक रोजगारी तथा विदेश पढ्न जाने चलनले पनि यस्ता संस्कार ओझेलमा परेकामा पुराना पुस्ताहरू चिन्तित बन्न थालेका छन् ।
सामान्यतः विष्णुपादुकामा आउने श्रद्धालुहरूले तीन पटकसम्म आउनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् । मोरङ विराटनगरका लक्ष्मण ओझाले मोक्ष प्राप्तिका लागि तर्पण दिन तीनपटक आइसकेको बताए । उनले भने, ‘पहिलो वर्ष विष्णुपादुका, दोस्रो वर्ष वराहक्षेत्र र तेस्रो वर्ष धरानको पिण्डेश्वरीमा आएको हुँ ।’ पौषे औँसीमा देशका देवालयहरूमा श्रद्धालुको भीड लाग्ने परम्परा नै बसेको छ ।