विजयपुर । जापान सरकारको सहयोगमा धरानमा सुविधा सम्पन्न पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालन गरिएको छ ।

शनिबार धरान–१७ स्थित समिति मार्गमा ‘सुनौलो सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र’ सञ्चालन गरिएको हो । पुस्तकालय तथा स्रोत केन्द्रको प्रदेश नं. १ का निवर्तमान सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरे ।

पुस्तकालय तथा स्रोतका केन्द्रका अध्यक्ष रमेशचक्र खड्काका अनुसार रिड नेपालको सहकार्य र जापान सरकारको सहयोगमा २ करोड लागतमा पुस्तकालय तथा स्रोत केन्द्र निर्माण भएको हो । उनका अनुसार पुस्तकालयमा धार्मिक, साहित्यक, कला, कृषि, बालबालिकालगायत सबै प्रकारका ५ हजार पुस्तकहरू राखिएको छ ।

पुस्तकालयमा विभिन्न ५ विभागहरू पनि छन् । बालबालिका कक्ष, महिला कक्ष, श्रव्य–दृश्य कक्ष, युवा र कम्प्युटर कक्ष रहेका छन् । पुस्तकालयमा निःशुल्क कम्प्युटर सिक्न पाउने पनि अध्यक्ष खड्काले बताए । पुस्तकालयमा हाल ५ वटा कम्प्य ुटर छन् । सुनौलो पुस्तकालयलाई पुनःनिर्माण गरी स्रोत केन्द्रको रूपमा विकास गरिएको हो ।

अध्यक्ष खड्काका अनुसार पुस्तकालयमा आवास हल पनि रहेको छ । ५ जनासम्म बस्न मिल्ने हल निर्माण गरिएको हो । आवास हल खड्काले आफ्ना स्वर्गीय पिता चन्द्रबहादुर खड्काको स्मृतिमा स्थापना गरेका हुन् । आवास हल १० लाख लागतमा निर्माण भएको हो ।

पुस्तकालय तथा स्रोत केन्द्रमा अध्ययन तथा भ्रमणमा आउनेहरूलाई निःशुल्क बस्न दिइने अध्यक्ष खड्काले बताए । उनले भने, ‘पुस्तकालय भ्रमणमा आउनेलाई गाउँलेले खाना दिन्छन्, बस्न निःशुल्क गरिएको छ ।’ पुस्तकालय दिगो सञ्चालनका लागि आवास गृह र पुस्तकालयको ५ वटा सटर आम्दानीको रूपमा रहेका छन् ।