भद्रपुर । झापाको भद्रपुर–२ स्थित किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलमा २३ लाख ७० हजार ८७७ रुपैयाँको लागतमा भीम–किचकको मूर्ति निर्माण गरिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत प्राप्त ५० लाख र जनसहभागिता बापतको १२ लाख ५० हजार रुपैयाँको लागतमा घेराबारा र भीम–किचकको मूर्ति निर्माण गरिएको हो ।
उक्त बजेटमध्ये २३ लाख ७० हजार ८७७ रुपैयाँको लागतमा भीम–किचकको मूर्ति निर्माण गरिएको किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए । त्यस्तै, पर्यटकीय स्थल संरक्षणार्थ ३८ लाख ७८ हजार ६८१ रुपैयाँको लागतमा घेराबारा गरिएको उनले जनाए ।
भीम–किचकको नवनिर्मित मूर्ति संविधानसभा सदस्य जितु गौतमले शनिबार अनावरण गरे । मूर्ति अनावरणपछि संविधानसभा सदस्य गौतमले किचकबध सबै जातजातिको पवित्र भूमि भएको बताए ।
‘स्थानीय मात्र होइन, किचकबध नेपालकै सन्दर्भमा सबै जातजातिको पवित्र पुञ्ज हो’, उनले भने, ‘यसको संरक्षण र संम्र्बधनमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी छ ।’ महाभारतकालीन ऐतिहासिक भूमि किचकबधको माध्यमबाट मुलुकको पर्यटन प्रर्वद्धधनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
झापाको सदरमुकाम चन्द्रगढी देखि १० किलोमिटर दक्षिण मेची र देवनिया नदीको दोभान देखि करिव १ किलोमिटर पश्चिम भद्रपुर नगरपालिका २ पृथ्वीनगर पूर्वि कुनामा अवस्थित प्राचिन ग्रन्थ महाभारतमा उल्लेख भएको स्थलनै किचकवध हो । महाभारतमा उल्लेख भएअनुसार यसै स्थानमा भिमले किचकलाई मारेको(वध)ले गर्दा यो स्थानको नाम किचकवध रहन गएको हो । यो समुन्द्र सतह देखि ८५ मिटर अग्लो स्थानमा रहेको छ । यसको भौैगोलिक स्थिति केहि अग्लो स्थानमा करिव १० विगाह क्षेत्रफलको डाँडो आकारको केहि भिरालो जमिनमा अवस्थित छ ।
महाभारतको कथासग जोडिएको यस स्थानमा महत्वपूर्ण पुरातात्विक विशेषताहरु पाइने आसङकामा पुरातत्व विभागले २०५८।५९, ०६०। ६१,०६८ र ०७१।०७२ मा गरिएको छैठौं पटकको उत्खननमा तेश्रो संरचना फेला पारेको थियो । वि.सं.२०३५ सालदेखि पुरातत्व विभागको नजरमा परी उसकै नियन्त्रणमा रहेको यस ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको पहिलो उत्खनन वि.सं.२०५९ सालमा भएको थियो ।
भवनका भग्नावशेष,सुरक्षा चौकी, कालखण्डमा जडित इँटाको जग, पोलिएका इँटा फेला परेको थियो । किचकवधलाई परिचित गराउनको लागी वि.सं.२०६५ साल माघ शुक्ल पूर्णिमा अर्थात स्वस्थानी ब्रतको समाप्तीको लागी लाग्ने ३ दिने मेलाको सुरवात भएको छ । मेलामा नेपालका मात्र नभई भारतको बङ्गाल विहार र आसामवाट समेत यस क्षेत्रको दृष्यावलोकन गर्न आउने गरेका छन् ।
महाभारतकालको करीब २ हजार बर्ष पुरानो हुनसक्ने किचकबधमा उत्खननबाट घोडा बाँध्न प्रयोग गर्न हुनसक्ने तबेला भवन, सुरक्षापोष्ट लगायत विभिन्न प्रकारका वस्तुहरु फेला परेका छन् ।
बिभागले गरेको छैठौं चरणको उत्खननमा तबेला जस्तो देखिने २१ दशमलव २० मिटर लम्बाई र १६ दशमलव २० मिटर चौडाइको एकतले भवनको संरचना पाइएको थियो । त्यस्तै त्यतीखेरको समयमा पनि सुरक्षाप्रदान गर्ने उदेश्यले बनाइएको सुरक्षापोष्ट आकारको संरचना समेत फेला परेको थियो । पहिलाका उत्खननमा जस्तै इँटाका आकार र दिवालको चौडाई पाइएको छ । तवेलाबाट पानी वग्ने इँटाकै डिपिसिमा नाली पनि वनाइएकोे पाइएको छ ।
उत्खननबाट माटाका भाँडाकुँडाहरु, माटाका टायल्स, घोडा र हात्तीले घाँटीमा लगाउने विड्सहरु, माटोका सजावटका सामान, दियो, जार, थाल कचौरा र मिसाइल आकारका माटाका बस्तुहरु फेला परेको थियो ।
समितिको सहकार्यमा पुरातत्व बिभागले पछिल्लो पटक गरेको छैठौं चरणको उत्खनन कार्र्य सम्पन्न भएपछि उत्खनन गरिएको क्षेत्रलाई पुरातत्व विभागले संरक्षण गरि तारवार लगाएको छ । अहिले सम्म गरिएको उत्खननबाट फेला परेका ऐतिहासिक तथा बहुमुल्य मानिने वस्तुहरुलाई पुरातत्व विभागले अनुसन्धानका लागी लगेको छ ।
यस अघिका पाँचपटकको उत्खननमा पुरानो बहुतले दरबारको भग्नावषेश र एउटा एक तले भवनको भग्नावशेष पाइएको थियो । यी दुइवटा संरचनामा ढुङ्गा र माटाका भाँडाकुँडाहरु, ढुङ्गाका थालहरु, माटाको सुराही, बाण, स्टीलका भाँडाकुँडाहरु, नागको मुर्ति, फलामको चक्कु आदि फेला परेका थिए । यी दुइवटा संरचनामध्ये ६७ फुट चौडा र ७१ फुट लम्बाईको १२ वटा कोठा र एक चोक भएको एकतले भवनको संरचनालाई संरक्षण गरिसकिएको छ । दरबार भनिएको भग्नावशेषको त्यहाँ वि.सं.२०२८ सालमा स्थानीयले बनाएका मन्दिरका कारण सम्पूर्ण उत्खनन हुन नसकेको थेवेले बताए ।
हालसम्मको उत्खननबाट यो २ हजारबर्ष पुरानो हुन सक्ने वताइएको छ । शुंगकालमा विकास भएको यस स्थलको कुषाणकाल सम्म प्रगति भएको देखिन्छ भने पाँचौं शताव्दीमा यस भेगमा आएको ९ रेक्टरस्केल भन्दा ठूलो भुकम्पका कारण यो स्थल ध्वस्त भएको अनुमान गरिएको छ । किम्वदन्ती अनुसार हालसम्मका उत्खनन् र यस स्थलको अवस्था हेर्दा मेची नदी पारकिो भारतिय क्षेत्र गलगलिया,भातगाउ, ठाकुरगञ्ज, किसनगञ्जको स्थललाई केन्द्रविन्दु वनाएर प्र्राचिनकालमा कुनै न कुनै शासकको दरवार वा मज्दुर किल्ला थियो भनि अनुमान गर्न सकिन्छ । किचकवधको प्रवेश सगै हाल आएर विशाल सामुदायीक भवन, पाटी पौवा, खानेपानी, भिमले किचकलाई वध गरेको सिमेन्टको मुर्ति, गङ्गा जमुनाको मुर्ति, पुरानो कुवा,शिवालय, नजिकैमा सानो तीनकुने वारुणी वा भिमसेन पोखरी रहेका छन् । संरक्षण समितिका अध्यक्ष थेवे भन्छन् योजना तथा कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आइरहेतापनि दिगो आम्दानीका श्रोत नभएकोले तोकिएका लक्ष्यहरु हासिल गर्न निकै गाह्रो भएको बताउँछन् । सञ्चालित कार्यक्रमहरुमा विभिन्न दाता तथा दातृ संस्थाहरुको ठूलो योगदान भएको बताउदै हालसम्म सवैभन्दा ठुलो सहयोग नेपाल सरकारवाट प्राप्त भएको थेवेले बताए ।
मेची र देवनिया नदीको सङगम स्थल पश्चिममा चियावारी धेरै किसिमका प्रकृतिक दृष्यहरुको कारणले गर्दा पहिरो , प्रेममा वलिदान जस्ता नेपाली चलचित्र तथा गितहरुको छायाङकन र विभिन्न क्षेत्रवाट वनभोज खान आउने हरुको घुइचो लाग्ने गर्दछ । शहरी कोलाहलवाट टाढा रहन चाहने , प्रदुशित वातावरणवाट अलगिन चाहने र प्रक्रितिको सौन्दर्यसग रमाउन चाहनेहरुका लागी एउटा सम्भावित गन्तव्य स्थल किचकवध बनेको छ ।