धरानमा पुस्तकालयहरू खुल्न थालेको सात दशकभन्दा बढी भइसक्यो । हालसम्मको तथ्याङ्कअनुसार २००४ सालमा धरानमा पहिलोपटक पुस्तकालय खुलेको थियो । जुन अहिले धरान उपमहानगरपालिकाको व्यवस्थापनमा ‘सार्वजनिक पुस्तकालय’ नाममा सञ्चालन भइरहेको छ । त्यसपछिका समयमा धरानका टोल–टोलमा पुस्तकालय खुल्ने लहर चल्यो । त्यसबेला धरानमा पठन संस्कृतिको राम्रै विकास भएको पुस्तकालय खोल्ने प्रतिस्पर्धाबाट पनि प्रष्ट हुन्छ । तर, पछिल्लो समय धरानमा भएका पुस्तकालयहरूसमेत सुनसान देखिन्छन् । पाठकहरूको सङ्ख्या दिनानु दिन घटिरहेको छ पुस्तकालयमा । यदाकता पुस्तकालयलाई समयानुकूल परिमार्जन गरिनु पर्ने आवाज पनि उठ्ने गरेको छ । तर, यसतर्फ उपमहानगरपालिका र यहाँका राजनीतिक दलहरूले चासो देखाएको पाइँंदैन ।
धरानका पुराना पुस्तकालयहरूमध्ये कतिपय बन्द भइसकेका छन् भने कति बन्द हुने अवस्थामा छन् । पुस्तकालयहरूप्रति पाठकको आकर्षण घटिरहेका बेला धरान–१७ रेल्वेमा २ करोडको लागतमा आधुनिक पुस्तकालय सञ्चालनमा आएको छ । जापान सरकारको सहयोगमा निर्माण भएको भव्य आधुनिक भवनमा ‘सुनौलो सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र’ स्थापना भएको छ । विगतमा पनि धरान–१७ को समाजले सुनौलो पुस्तकालय सञ्चालन गर्दै आएको थियो । त्यही पुस्तकालयलाई आधुनिक रूपान्तरण गरिएको छ । पुस्तकालयमा बालबालिका कक्ष, महिला कक्ष, श्रव्य–दृश्य कक्ष, युवा र कम्प्युटर कक्ष छन् । यसले धरानको हराउँदै गएको पुस्तकालय प्रेम फेरि फर्किने आशा गर्न सकिन्छ । तर, पाठकलाई फेरि पुस्तकालयसम्म तान्न त्यति सहज भने छैन । एकातिर सूचना र प्रविधिको द्रुततर विकासका कारण छिनभरमै विश्वका खबर मान्छेका हातहातमा पुग्छन् । दुनियाँमा भएका कुरा इन्टरनेटमा खोजेर घरमै बसीबसी अध्ययन गर्न सकिन्छ । अझ अडियो र भिडियोसमेत सुन्न तथा हेर्न सकिन्छ । यस्तो अवस्थामा पाठक पुस्तकालयमै पुगेर किन अध्ययन गर्ने ? भन्ने प्रश्न पनि उठ्न सक्छ । यो प्रश्नको जवाफ पुस्तकालयका सञ्चालकहरूसँग हुनु आवश्यक छ । पुस्तकालयलाई पहिला जसरी पुस्तक पढ्ने र गफ गर्ने थलोका रूपमामात्र होइन, बहुउपयोगी स्थलका रूपमा विकास गरिनु आवश्यक छ । सुनौलो पुस्तकालय तथा स्रोत केन्द्रमा यही प्रयास भएको छ तर, यसलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने चिन्तन आवश्यक छ ।
पछिल्लो समय पुस्तक पढ्नुलाई महŒवपूर्ण काम मान्ने प्रचलन कम हुँदै गएको छ । जुन गलत हो । पुस्तक ज्ञानको स्रोत हो । पुस्तकालयहरूमा सयौं वर्षदेखिका पुस्तकहरू पाउन सकिन्छ । ती पुस्तकमा पाइने ज्ञान इन्टरनेटमा नभेटिन सक्छ । त्यसकारण पनि पुराना पुस्तकहरू संरक्षण गरिनु आवश्यक छ ।अर्कातिर पुराना पुस्तकालयहरूमा सूचना प्रविधिलाई जोड्नु आवश्यक छ । सूचना प्रविधिमार्फत् पुस्तकालयमा बालबालिका र समुदायका मान्छेहरूलाई आकर्षित गर्न सकिने उपायहरू खोजी गरिनु पर्छ । समुदायलाई पुस्तकालयसँग जोडेर विभिन्न सीपमूलक प्रशिक्षणहरू सञ्चालन गर्नु आवश्यक छ । मान्छेको जीवनशैली जोडिए मात्र कुनै पनि विकास दिगो हुन्छ । यसका लागि पुस्तकालय सञ्चालकहरूले पनि सबै कुरा गर्न सम्भव छैन । त्यसैले स्थानीय सरकारले समुदायलाई विकास गर्न पुस्तकालयलाई माध्यमबनाउन सक्छन् । वडा, गाउँ, नगरहरुले पुस्तकालयको विकासकालागिकार्यक्रमहरु बनाउनु आवश्यक छ । पुस्तकालयहरुमा फेरि पनिपाठक फर्काउन समुदाय र सरकार दुवैको हातेमालो आवश्यक छ । किनभने, पुस्तकालयहरुले आम मान्छेमा पढ्ने बानीको विकास गर्छन् । अहिलेकाबालबालिका र समुदायकाविभिन्नवर्गले आर्जन गरेको ज्ञान नै भविष्यको विकासकालागि महत्वपूर्ण हुन्छ । त्यसैले समुदायलाई पनि पुस्तकालयको महŒव बुझाउन आवश्यक छ अनि स्थानीय सरकारहरूले पनि बुझ्नु जरुरी छ ।