मङ्सिर ४ गतेको मध्यावधि निर्वाचनबाट देशको पहिलो शक्ति बनेको नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दलमा सीमित भएको छ । यो देशकै लागि विडम्बना हो । काङ्ग्रेसका लागि त हुँदै हो । सायदै, नेपालमा पहिलो पटक यो खालको नतिजा आएको छ । पहिलो हुने दल प्रतिपक्षीमा बस्नु र अन्य दलले सरकार सञ्चालन गर्नु काङ्ग्रेसका लागि दुःखदायी हुँदै हो । त्यसमा पनि अग्रज नेता तथा ज्येष्ठ नेताहरूका लागि पीडादायी अवसान पनि हो । प्रधानमन्त्रीका लागि १८ औँ पटकको प्रयासमा असफल भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक राजनीतिको सुखद् अन्त्यको परिकल्पनामा थिए । सोअनुरूप काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि पाइला नचालेका होइनन् । तर, आफू पनि प्रधानमन्त्री हुनै पर्ने हठको परिणाम एउटा पद मात्रै गुमेन । राजनीतिमा असल कर्म गर्नेहरूको उमेर हदका कारण दुःखद् अवसान भएको छ । त्यसको नैतिक जिम्मेवारी देउवाले लिनै पर्छ । ज्योतिषीले सातौँ पटकसम्म प्रधानमन्त्री हुने योग छ भन्ने हावादारी भविष्यवाणीका पछाडि दगुर्दाको परिणाम देउवाले अन्तिम समयमा आएर थाहा पाए । जतिखेर थाहा पाए, त्यसबेला ढिला भइसकेको थियो ।
पछिल्लो समय नेपाली राजनीति सिद्धान्त र विचारबाट निर्देशित छैन । केवल, पद र सत्ताबाट निर्देशित छ । सत्ता कसको कोर्टमा पु¥याउने भन्ने होडबाजीले गर्दा नै यो परिणाम आएको हो । कुनै पनि बेला कोर्ट परिवर्तन हुनसक्ने अड्कलबाजीहरू भएकै हुन् । तर, त्यसलाई बुझ्न नसक्नु मात्रै अज्ञानताको एउटा द्योतक हो । अझ नेपाली राजनीतिलाई दुई ठूला देशको भूराजनीतिले प्रभाव पारेकै छ । त्यसमा तेस्रो शक्तिका रूपमा अमेरिकाको अभ्यूदय भएकै हो । जति भारतले नेपालको राजनीतिलाई आफ्नो निर्देशनअनुरूप सञ्चालन गर्दै आएको थियो । त्यति नै पछिल्लो समय चीन पनि नेपालको भूराजनीतिमा चासो देखाउन थालेको थियो । सन् २०१७ मा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) मा हस्ताक्षर गर्ने राष्ट्र नेपालले त्यसलाई कार्यान्वयनमा लानेतर्फ चासो नदेखाउँदा देउवा सरकार निसानामा परेकै हो । त्यही निसाना सरकारमा पर्दै छ भन्ने भेउ नपाउँदाको परिणाम देउवा अन्तिम समयमा हेरेको हे¥यै भए । नेपालमा यस्तो भूराजनीतिक चङ्गुलमा फस्दै छ, यसबाट बाहिर आउन नेपाललाई निकै हम्मे पर्ने देखिएको छ । अझ नेपालमा आर्थिक रूपमा श्रीलङ्कान्मुख हुँदै गएको यथार्थ हामीसामु छर्लङ्ग छ । एकातिर अर्थतन्त्र डामाडोल बनिरहेको छ भने अर्कोतिर भूराजनीतिमा दुई ठूला देशहरू खेलाडीका रूपमा भित्रिँदा त्यसको असर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा परिरहेको छ ।
नेपाल असंलग्न परराष्ट्र नीतिलाई अँगालेर हिँडेको छ तर, त्यसलाई जुन रूपमा अगाडि बढाउनु पर्ने हो त्योअनुरूप हुन नसकेको यथार्थ हो । राज्य हाँक्ने नेतृत्वमा राष्ट्रभक्ति तथा देशप्रतिको प्रेम जुन रूपमा हुनुपर्ने हो त्यो हुन सकेको देखिँदैन । फलतः हामी कुनै न कुनै अप्ठ्यारो परिस्थितिबाट गुज्रिँदै छौँ । हामीले आफूलाई जस्तो देखाउनु पर्ने थियो, त्यस्तो देखाउन नसक्दाको परिणाम भोग्दै आइरहेका छौँ । नेपालमा प्रजातन्त्रको अभ्यूदयदेखि आजको स्थिति अर्थात् ७० वर्षको दौरानमा कतै न कतैबाट सरकार बनाइदिने प्रवृत्तिका कारणबाट समस्यामा पर्दै आएका हौँ । देख्दाखेरि देउवा एउटा कारण हुन सक्छन् । उनले आफूलाई फेरि पनि सरकारको प्रमुख बनाइरहन चाहने प्रवृत्ति पलाउँदा आफ्नो पार्टीमा रहेका अग्रज नेताहरूको भविष्यलाई पनि समाप्त पारे । सातैवटा प्रदेशबाट काङ्ग्रेस सरकार गुम्ने अवस्था सिर्जना भएको छ । यो बाल हठको परिणाम नै थियो । यसमा देउवाको भूमिका जति छ, त्योभन्दा धेरै ठूलो भूमिका प्रथम महिला आरजु राणा देउवाको पनि छ । उनीहरूले जुन किसिमले आफूहरूलाई उभ्याउन चाहे, त्यसले गलत सन्देश प्रवाह भयो । फलतः हातमा आएको लड्डु अर्कैले खाने स्थिति बन्यो । उनी आफै मात्रै सकिएनन् । उनले काङ्ग्रेसका अग्रज नेताहरूको भविष्यलाई पनि समाप्त पारे । उनको यस योगदानलाई काङ्ग्रेसले सदैव स्मरण गरिरहनेछ ।