विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विभेदकारी शिक्षा नीतिलाई समान शिक्षा बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमको अभिमुखिकरण गोष्ठीको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री राईले योग्य र जेहन्दार विद्यार्थीले महंगो शिक्षा भएको कारणले गर्दा शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । ‘शिक्षा आजको आवश्यकता र महत्वपूर्ण हो । शिक्षाको कारणले गर्दा नागरिकमा विभेद रहेको छ । यस्तो विभेद हटाएर समान शिक्षा दिन जरुरी रहेको छ,’ मुख्यमन्त्री राईले भने, ‘अबको आवश्यकता भनेको रोजगारमुखि शिक्षासँगै एकखालको शिक्षा दिन जरुरी रहेको छ ।’
मुख्यमन्त्री राईले सकात्मक भावनाको पैदा गरेर शिक्षालाई गुणस्तरीय सँगै रोजगारमुखि शिक्षा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा काठमाण्डौं विश्व विद्यालयका डिन डा. बालचन्द्र लुईटेलले देशमा प्राविधिक जनशक्तिको अभाव रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । ‘अहिले प्राविधिक जनशक्ति निक्कै कमी रहेको छ,’ उनले भने, ‘माग धेरै छन् । त्यसैले हामीले दक्ष जनशक्ति उप्पादनमा ध्यान दिनुपर्नेछ ।’
कार्यक्रममा प्राडा अच्युत वाग्लले रोजगारमुखि शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा गरिनुपर्नेमा जोड दिए ।