धरान । परिवर्तनका लागि सामाजिक अभियानको नियमित स्वास्थ्य जाँचमा मधुमेह (सुगर) जाँच पनि गर्न थालिएको छ । 

अभियानले वडास्तरीय अभियान पूरा गरी अहिले नियमित पाक्षिक जाँच धरान–१ स्थित मोडल कलेज परिसरमा गर्दै आएको छ । ७० वर्षभन्दा माथिका नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ सुरु भएको अभियानले मधुमेहको पनि जाँच गर्न थालेको अध्यक्ष विष्णु बरालले जानकारी दिए । 

‘ज्येष्ठ नागरिकका सुगर र प्रेसरको समस्या कमन हुने गरेको छ’ उनले भने, ‘प्रेसरको जाँच त पहिलादेखि नै गर्दै आएका थियौँ । यसपटकदेखि सुगरको पनि जाँच गरिन्छ । जसले गर्दा डाक्टरलाई परामर्शमा सजिलो हुने रहेछ ।’

धरानमा एक वर्षयतादेखि अभियानले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा कार्यक्रम गरिँदै आएको छ । ‘सामाजिक स्वास्थ्य क्लिनिक’मा यस पटक २० जनाभन्दा बढी बिरामीहरू सहभागी रहेको कार्यक्रम संयोजक त्रिभुवन बरालले जानकारी दिए । 

उनका अनुसार नियमित तथा फलोअपमा आउने बिरामीहरू धेरै हुने गरेको छ । अभियानले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ । शिक्षा क्षेत्रमा भने घरको स्कुल कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यसलाई फेरि निरन्तरता दिइने अध्यक्ष बरालले जानकारी दिए ।