भद्रपुर । झापाको हल्दिबारीमा आगामी फागुनको पहिलो साताबाट ६ करोडको लगानीमा निजी अस्पताल सञ्चालन हुने भएको छ ।

ग्रामीण समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले १५ शय्याको मेडी होम हस्पिटल प्रा. लि.सञ्चालन हुन लागेको हो । अस्पताल निर्माणको कार्य दु्रत गतिमा भइरहेको अस्पतालका अध्यक्ष कृष्णप्रसाद प्रसाईंले बताए । उनले १५ शय्याको अस्पतालका लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने कागजपत्र गाउँपालिकाको स्वास्थ्य शाखामा पेश गरिसकिएको जनाए । 

हल्दिबारीको केन्द्रमा अवस्थित स्कुल चौकमा चूडामणि श्रेष्ठ र टेकेन्द्र श्रेष्ठको दुई तले भवनहरू भाडा सम्झौता गरी आँगनमा पेबर्स बिछ्याउने र इन्टेरिअरका कार्य सुरु गरिसकिएको, प्याथोलोजी ल्याब, अप्रेशन थिएटर, फार्मेसी, ओ.पी.डी, इमर्जेन्सी वार्ड, लेबर रूम, आइ.सी.यु., एक्स–रे कोठालगायतका विभागहरूमा मापदण्ड अनुसारका स्पेस, रङ, वाइरिङ आदि सुरु गरिएको, स्वास्थ्य बिमा सम्झौताका लागि सम्बन्धित बिमा कम्पनी र वित्तीय संस्थासँग पहल थालिएको, विपन्न वर्ग लक्षित स्वास्थ्य बिमा कार्यक्रमका लागि यशोदा देवी फाउन्डेसनका सचिव दीपकप्रसाद ओलीसँग निःशुल्क बिमा (वार्षिक १० जनाको ) सम्झौता गरिसकिएको जानकारी दिए ।

उनले कम्पनीको नाममा रजिष्ट्रेशन पास गर्नुपर्ने लगभग १५ का जग्गाको ६९ लाख रुपैयाँ सम्बन्धित जग्गाधनीहरूलाई चुक्ता गरिसकिएको समेत जानकारी दिए । अस्पतालले आफ्नै जग्गा खरिद गरे पनि हाललाई भाडाको घरमा सञ्चालन गर्न लागेको अध्यक्ष प्रसाईंले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रही गुणस्तरीय स्वास्थ्य सेवा लिन भद्रपुर, बिर्तामोड, दमकलगायतका सहरहरूमा हल्दिबारीका बासिन्दाहरू जानु परेको र स्वास्थ्य उपचार सरल, सुलभ नभएर सास्ती खेप्नुपरेको तथ्यलाई मध्यनजर गरी सो अस्पताल सञ्चालन गर्न लागिएको उनले बताए ।

फागुनको पहिलो साताभित्र १५ शøया क्षमताको अस्पताल ओपिडी, इमर्जेन्सी, फार्मेसी, ल्याव र विशेषज्ञ सेवा सुरु गरी यशोदादेवी फाउन्डेसनसँग सहकार्य गरी विपन्न परिवार लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, एम्बुलेन्स प्राप्त गर्ने साथै वार्षिक ५० परिवारको स्वास्थ्य बिमा गराउने योजना रहेको समेत अध्यक्ष प्रसाईंले जानकारी दिए ।

अस्पतालमा कृष्णप्रसाद प्रसाईं, होम कार्की, गङ्गा प्रसाईं, शालिक पराजुली, शुक्रराज दाहाल, पुष्कर नेपाल र डा. सीपी न्यौपाने सञ्चालक सदस्य रहेका छन् भने जम्मा शेयर सदस्य ३५ जना रहेका छन् ।

हल्दिबारीमा सरकारीस्तरमा ३ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । भर्खरै एउटा आधारभूत अस्पताल खुलेको छ । त्यस्तै करिब १० वटा क्लिनिक सञ्चालनमा रहेका छन् । हल्दिबारीमा पहिलो पटक निजीस्तरमा सो अस्पताल खुल्न लागेको हो । हल्दिबारीको जनसङ्ख्या ३५ हजार ४ सय ८७ रहेको छ ।