प्रधानमन्त्रीको रूपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अघि सारेसँगै नेपाली राजनीतिमा एउटा नयाँ कोर्ष विकास भएको छ । निर्वाचनपछि प्राप्त जनमतका आधारमा नयाँ सरकार गठन अनिवार्य थियो । सरकार गठनका सन्दर्भमा राष्ट्रपति कार्यालयले गरेको पछिल्लो पत्राचारअनुरूप प्रधानमन्त्रीको रूपमा माओवादी अध्यक्ष प्रचण्डलाई एमालेको समर्थनमा अघि सारेसँगै विकसित घटनाक्रमलाई कतिपयले ‘बार्दली’ को प्रभावको रूपमा अथ्र्र्याएका छन् भने कतिपयले महाभारतको एउटा कथा प्रसङ्गसँग जोडेका छन् । ‘बार्दली’ को प्रभाव भने पनि अथवा महाभारतको त्यो प्रागैतिहासिक कथा प्रसङ्गसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकालाई जोडे पनि भर्खरै सम्पन्न निर्वाचनमा जनमतको अंकगणितका हिसावले दोस्रो भएको एमाले अहिले भूमिकाले राष्ट्रिय राजनीतिमा पहिलो भएको चाहिँ साँचो हो र सबैले स्वीकार गरेका छन् ।

काङ्ग्रेस नेतृत्वको राजनीतिक शक्तिले सर्वोच्च अदालतसमक्ष गरेको हारगुहारको प्रतिफलस्वरूप जनताको अभिमतबाट बनेको सरकारलाई ढालिएको थियो । एमाले अध्यक्ष ओली नेतृत्वको त्यो सरकारलाई गलहत्याएर अपदस्थ गरेसँगै काङ्ग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकार बनेको थियो । अदालतको परमादेशबाट गठित सरकार आन्तरिक राजनीतिक जीवनको आवश्यकताभन्दा पनि वाह्य रुचि र अभिरुचिअनुरूप बनेको थियो । वाह्य रुचि र अभिरुचि निर्देशित गठबन्धनले एमाले अध्यक्ष ओलीलाई आफ्नो बार्दलीबाट आफ्ना अभिमत राख्ने अवस्था बनाएको थियो । आज त्यही बार्दली नयाँ सरकार निर्माणका निमित्त निर्णायक बन्यो, गठबन्धनको सहयोगी शक्ति नेकपा (माओवादी केन्द्र) बार्दलीको आश्रयमा आइपुग्यो र एमाले सक्ने दाउमा बनेको गठबन्धन चकनाचुर भयो भन्ने अर्थमा बार्दलीको चर्चा चुलिएको हो ।

महाभारतको प्रागैतिहासिक कथाका अनुसार, युद्धमा पराजित हुन थालेपछि दुर्योधनले अचानक एउटा नयाँ अस्त्रको प्रयोग गर्नुभयो । उहाँले पाण्डवहरूलाई भन्नुभयो, ‘हेर्नुस् ! हामी एउटै कुलवंशका सन्तान, एउटै रगतले चलेका, एउटै जात र कर्मका र एउटै धर्मका उत्तराधिकारी दाजुभाइ हौँ । हामीले परस्पर एकाअर्कामा लडेर आफ्नो अस्तित्व नामेट पार्नुहुँदैन, विरासत मेट्नु हुँदैन, बरु यसो गरौँ, हस्तिनापुर राज्यमा शासन गर्नुपर्ने छ । समयअवधिका हिसाबले यसलाई परस्पर बाँडौँ । आधा कार्यकाल मैले र आधा कार्यकाल तपाईंहरूले राज्याभिषेक गर्ने र राजकाज चलाउने काम गरौँ । दुर्योधनको यो प्रस्तावबाट भावुक एवम् नाजावफ पाण्डवहरू यो बाहेक विना कुनै शर्त र सम्झौता सहमत भए । सहमतिपत्र बन्यो । परस्पर सबैले सहमति जनाए, हस्ताक्षर गरे र हस्तिनापुरमा दुर्योधनले राज्याभिषेक गरे, राजकाज चलाए । यी दुइटा चर्चाबाहेक हिजोपछिको राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा निकै ठूलो अर्थ राख्छ र प्रभाव छाड्छ ।

घटनाक्रमलाई जसजसले जसरी बुझे पनि वा अथ्र्याए पनि साँचो कुरा के हो भने लोकप्रिय जनमतमा पहिलो रहेको हाम्रो पार्टी संसदीय अङ्कगणितमा दोस्रो शक्ति थियो । राष्ट्रिय राजनीतिका असजिला क्षणमा आफूलाई पद, आशक्तिपात्रको रूपमा होइन, वैकल्पिक शक्तिलाई अघि सारेर नेकपा (एमाले) ले आफूलाई दोस्रो ठाउँमा दोस्रो भूमिकाअनुरूप उभ्याएको छ । पार्टी अध्यक्ष ओलीविरुद्धको निशान केन्द्रित चौतर्फी प्रहार र घेराबन्दीलाई जनमतले जसरी तोड्न आफ्नो अभिमत प्रयोग गरेका थिए, त्यहीअनुरूप अध्यक्ष ओलीले उच्च राजनीतिक सुझबुझ र दूरदर्शिता राख्नुभएको छ । परिस्थिति आजको अवस्थामा यो निर्णायक रहेको छ ।

सङ्घीय अङ्कगणितमा पहिलो शक्ति बनेर अस्भाविक दम्भ घमण्डमा चुलिएको सहयात्री शक्ति नेपाली काङ्ग्रेस नराम्ररी पछारिएको छ । उसको नेतृत्वमा बनेको गठबन्धन, एमाले सक्ने यसका कैयौं प्रयास र कसरतहरू र गत निर्वाचनमा यसले प्राप्त गरेको जनविश्वास बचाउन नसक्ने गरी चुकेको छ, थला परेको छ । ओली नेतृत्वको एमाले ‘बेहाल’ भन्दै चिच्याउने माधवकुमार नेपाल काङ्ग्रेसको सोत्तर बनेका छन् । थ्रेसहोल्ड कटाएर न राष्ट्रिय पार्टी बनाउन सके, न एमाले सक्ने दाउमा बनाएको गठबन्धन कायम राख्न ! घर न घाटका भएका छन् ।

सत्ता चाहने तर तदनुसार नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने बरु प्रभुको छायाँकपी बनेर उभिने नेपाली काङ्ग्रेस राजनीतिक ढडिया थाप्नेबाहेक उल्लेख्य भूमिकामा रहन सक्दैन भन्ने पुष्टि भएको छ, सामाजिक सञ्जालमा काङ्ग्रेसजनबाट पोखिएका विरक्तिबाट उसको योग्यता, क्षमता जगजाहेर भएको छ । राजनीतिक योग्यताको आँकलन र पुस्तान्तरणको विषयमा युवा नेता गगन थापालाई स्वीकार्न नसक्ने र राष्ट्रपतिको मोहमा अल्झिएर दलको नेतृत्व गर्न सक्षम देउवाको विकल्प अरु पनि कोही हुन सक्छ भन्ने यथार्थ नबुझ्ने शीर्षस्थ नेता रामचन्द्र पौडल सहितका काङ््ग्रेसजनका लागि पनि यसबाट गम्भीर शिक्षा प्राप्त भएको छ ।

भत्कियो गठबन्धन:
नेपाली मोडलको समाजवादको प्रारम्भिक अवधारणाअनुरूप समृद्ध नेपालः सुखी नेपाली निर्माणको राष्ट्रिय आकाङ्क्षासहित अघि बढेको ओली नेतृत्वको सरकारका देशभक्तिपूर्ण जनमुखी कामकाजबाट अत्तालिएका राजनीतिक शक्तिहरू र तिलमिलाएको छिमेकको सङ्गठित योजनास्वरूप गठबन्धन बनेको थियो । नेकपा (एमाले) लाई सक्न, धुलाम्य पार्न र नामेट पार्न हरतरहले प्रयासरत गठबन्धनलाई कमजोर पार्नु, भत्काउनु र नेपाली राजनीतिमा नेपाली जनमतलाई निर्वाध निर्णायक तुल्याउनु अनिवार्य थियो ।

माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा अघि सारेसँगै गठबन्धन गर्लम्मै भत्किएको छ, गठबन्धनमार्फत् प्रवेश पाइरहेका वाह्य रुचि अभिरुचिहरू अहिलेलाई चकनाचुर भएका छन्, आन्तरिक शक्ति विघटन गर्न क्रियाशील भाइरसहरू थन्किएका छन्, एमालेलाई सक्न प्रयोग गरिएको औजार अहिले एमालेबाट प्रयोग भइरहँदा एमालेविरुद्धको सङ्गठित प्रहार छताछुल्ल भएको छ । राजनीतिमा चाहिने आवश्यक इमान, जुवान, निष्ठा आदिको पक्ष उजेलिएको छ । एमालेको राजनीतिक, वैचारिक बिम्बात्मक अडान राष्ट्रिय राजनीतिको मियो भागमा उभिएको छ । जनताको रोजाइको पहिलो पार्टी राष्ट्रिय राजनीतिमा पहिलो शक्तिको रूपमा उभिएको छ, स्थापित भएको छ ।

वाह्य रुचि अभिरुचि मत्थर
गठबन्धन निर्माणसँगै नेपाली राजनीतिमा के हुँदैछ ? कहिले हुँदैछ ? कहाँबाट हुँदैछ ? केही थाहा नहुने अवस्था विकास भएको थियो । स्वयम् गठबन्धन नेपाली राजनीतिको आवश्यकताले बनेको थिएन, अन्यत्रबाट प्रकट रुचि अभिरुचिको प्रतिफलस्वरूप बनेको कतिपय बेलामा गठबन्धनमा सामेल दलका नेताहरूको अभिव्यक्ति आइरहन्थ्यो, आइरहन्छ । राजनीतिक जीवनका ससाना घटनाक्रममा यो प्रभाव दिउँसोको घाम झैँ छर्लङ्ग भएर कहिलेकाहीँ उदाउने गरेकै थियो ।

प्रधानमन्त्री को बन्ने दौडमा सरोकारवालाको चासो र सरोकारको गम्भीरताभित्र नेताहरूको कित्ताबन्दी र तदानुकूल मिडियाको सक्रियताबाट प्रष्टै छ । कुनै बेला हाम्रो मन्त्रिपरिषद् बैठकमा महामहिम राजदुत बस्ने गर्दथे रे ! स्थिति त्यो मात्र बाँकी थियो । अर्थात् यसको पुनरावृत्ति मात्र बाँकी थियो, अरू सबै कुरा हाकाहाकी शर्त, लेनदेन, मोलतोल आदि हुने गरेको थियो । राष्ट्रिय स्वाधीनताको रक्षाभन्दा वैयक्तिक विषयको प्रभावले महामहिम राजदुत र राजदूताबासको सक्रियता अस्वभाविक थियो, यसको पराकम्पन घरआँगनमा बिहानको उज्यालो सँगसँगै आउने गरेको थियो, अब क्रमशः थन्किन सक्ने अवस्था बन्न सक्छ । योजनाबद्ध र बुद्धिमतापूर्वक हुने त्यो खालको अस्वभाविक चलखेलका भाइरसको सल्बलाहट मत्थर हुने अवस्था विकास भएको छ ।

स्थायित्वको आधार:
राजनीतिक व्यवस्थामा फेरबदल र संविधानमार्फत् यसको व्यवस्थापन गरेको भए पनि कार्यान्वयनको अभावमा मानिसको अवस्थामा फेरबदल आउन सकेको थिएन, छैन । यसको मूल कारण भनेको देशमा राजनीतिक अस्थिरता र अस्थायित्व नै हो । नेकपा (एमाले) ले राजनीतिक स्थिरता र स्थायित्वका पक्षमा गरेको कार्यहरू प्रभावकारी बन्न सकेनन्, यसका लागि गरिएको बृहत्तर कम्युनिष्ट तथा बामपन्थी शक्तिबीचको एकता पनि आशातीत केही समयसम्म नै टिक्न सकेन । बाह्य चलखेलको प्रभाव नेतृत्वमा देखियो । स्वयम् प्रचण्ड नेतृत्वविरुद्ध राग ओकल्दै सार्वजनिक हुनुभयो ।

राजनीतिक जीवन र मर्यादाबाहिरका विषयवस्तुहरूमा मुछ्ने काम भयो । स्थानीय थानाचौकीमा उजुरीबाजुरी गर्नुपर्ने प्रकृतिका कतिपय अराजनीतिक र मर्यादाहिन विषयवस्तुमा नेतृत्व ओर्लियो । अन्ततः कम्युनिष्ट आन्दोलनलाई सङ्गठित गर्ने परस्पर विश्वास अभावमा तुहियो । कम्युनिष्ट तथा बामपन्थी शक्तिहरू काङ्ग्रेसको बुइ चढेर एमाले सक्ने खेलमा लागे । कम्युनिष्ट तथा बामपन्थी शक्तिबाट आजीत जनमत विकल्प खोज्न थाल्यो । चुनाव अघिमात्र होइन, चुनावपछि पनि दर्जनजति पार्टीहरू देखिए, भेटिए ।

राजनीतिक अभ्यास र आचरणका त कुरा परै राखौँ, कतिपय दलबलमा त संविधान निर्माणको राजनीतिक अन्तरवस्तु, निर्मित संविधानको परिकल्पना, सङ्घीय र समावेशी सैद्धान्तिक विषयको मर्म र यसले तय गरेको स्प्रीटले कहीँ कतै छोएको पनि देखिँदैन । अन्ततः यसको असरमा राष्ट्रिय राजनीतिमा देखियो । यो घटनाक्रमपछि कम्युनिष्ट तथा बामपन्थी शक्तिले आफूलाई सूक्ष्म ढङ्गले अध्ययन गर्न, घटनाक्रमको विश्लेषण र संश्लेषण गर्न र आजको आवश्यकताअनुरूप निर्दिष्ट भएर चल्न सके भने यो सहकार्यले राजनीतिक स्थिरता र स्थायित्व कायम गर्ने आधारसमेत तयार भएको छ । यो परिघटनाले देशमा राजनीतिक स्थायित्व र स्थिरताका लागि कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूलाई नजिक नजिकै ल्याएको छ । 

सहकार्यका लागिः
राजनीतिक हिसाबले प्रचण्ड कस्ता हुन् ? कहाँ छन् ? कति टिक्लान् ? प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी वजन पार्न गाह्रो भनेजस्तो होला कि राजनीतिक एजेण्डामा आधारित हुन्छ र सहज गन्तव्यउन्मुख रहन सक्छ ? त्यो एउटा पाटो हो । समयक्रममा समीक्षा गर्न सकिन्छ । आवश्यक सरसहयोग आदान–प्रदान गर्दै अघि बढ्नुपर्छ । मानिस हुन्, उनले पनि आफूलाई सच्याएका होलान् । तर, यो बाध्यकारी अवस्थामा एमालेले गरेको कामको सराहना गर्नुपर्छ । एमालेको निर्णायक उपस्थिति र भूमिका मुक्तकण्ठले प्रशंसायोग्य छ । यत्तिमै चित्त बुझाउनु पर्छ, यो नै गन्तव्य थियो भन्ने किमार्थ होइन, सुधारात्मक अभ्यास, आचरण र परस्पर विश्वास आर्जनसहित हिजो थाती रहेका मुद्दाहरूको सम्बोधन र व्यवस्थापनका लागि पारस्पारिक गृहकार्य गर्दै प्राप्तिको दिशामा अग्रसरता लिनुपर्छ ।

मूलतः राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अर्थतन्त्रको विकास र पुँजी निर्माण, पारस्परिक समानता र सम्मानमा आधारित सन्तुलित विदेश सम्बन्ध, समाजको विपन्न र पछाडि पारिएको जन र समुदायको बृहत्तर हितोन्मुख कार्यक्रम, व्याप्त भ्रष्टाचार नियन्त्रण, सङ्घीय व्यवस्थाको संवैधानिक व्यवस्थापन र परिकल्पनाअनुरूप सुशासनको पूर्णतः प्रत्याभूति, उपलब्ध पुँजी र प्रविधिको प्रयोगमार्फत् रोजगारीका अवसरहरूको सिर्जना गर्न सक्नु यो सरकार गठन, निर्माण र परिचालनका मुख्य आधारहरू हुन सक्नुपर्छ र हुनुपर्छ । यसमा नै हामी सबैले हाम्रो हित सर्वोपरिता देख्न, खोज्न र भेट्न सक्नुपर्छ । नत्र नेतृत्वप्रति विश्वास क्षय हुनेछ र दलीय परिकल्पनाबाहिर मुलुक जान्छ । हेक्का रहोस्, दलीय उपस्थिति र नेतृत्वको अतिरिक्त क्षमतालाई व्यवहारमा उतार्न सकिएन भने मुलुक झन्झन् दलदल अर्थात् भासमा फस्ने स्थिति नजिकै छ । कतिपयले चाहेका यही छन् भन्ने कुरालाई हामीले स्मरण गर्नुपर्दछ ।

उपसंहारः
राजनीति हो । त्यो पनि प्रतिस्पर्धाको मनोविज्ञानमा आधातिर संसदीय राजनीति ! यो सामान्य र सोझो अवस्थाबाहेक बक्ररेखामा पनि चल्दो रहेछ । यसपटक भयो यस्तै । हिजो तिनले माग गरेको परमादेश थियो, अहिले यो गर्लम्मै भत्कियो । भारतमा जवाहारलाल नेहरूलाई चाचा नेहरू भने झैँ नेपालमा नेपाली जनमनको सर्वाधिक प्रिय व्यक्तित्वको रूपमा केपी शर्मा ओलीलाई आत्मसात गरे । केपी ‘बा’ भनेर पुकारा भइरहेको बेला उहाँ एमाले अध्यक्ष ओलीलाई प्रतिगामी भनियो, अब त्यो प्रतिगमन सच्चियो । ‘बार्दली’ भनेर उछितो काढ्ने काम गरियो, अहिले ‘बार्दली’ नेपाली राजनीतिको गोलपोष्ट बन्यो, निर्णायक केन्द्र बन्यो ।

चौतर्फी प्रहारबाट लागेको चोट सहेका हामी कम्युनिष्ट तथा बामपन्थी शक्तिले यस घटनाबाट उत्तेजित भएर होइन, थप बढी संयमताका साथ अघि बढ्न सक्ने आधार प्राप्त भएकोमा ढुक्क हुन सक्नुपर्छ । भनिन्छ नि यथास्थितिबाट उठ्न सकेको राजनीति विगतमुखी र भूतप्रभावी भएर होइन, यसको गहिरो समीक्षासहित भविष्य निर्माणका लागि गतिशील हुनुपर्छ । अहिले भएको यो नै हो, जुन सर्वथा ठीक छ । यसबाट थप समुन्नतिका आधारहरू खोज्नुपर्छ । एमालेलाई राष्ट्रिय राजनीतिको मियो भागमा उभ्याउन सफल रणकौशल हाम्रो पार्टी अध्यक्ष  ओली यसपटक फेरि ‘च्याम्पियन अफ ल पोलिटक्स’ हुनुभएको छ । यसका निम्ति उहाँको सर्वश्रेयष्कर भूमिका नेपाली कम्युनिष्ट आन्दोलनका लागि सदासर्वदा निर्णायक, प्रभावकारी र कालजयी हुनेछ । सगर्व...!