विजयपुर । धरानकी जमुना आचार्यले आफ्नो १० वर्षीय छोराको कान दुखेपछि हतारिएर धरान–३ जामेमस्जिदस्थित खान मेडिकल हल पुर्याइन् । मेडिकल हलका सञ्चालक (आफूलाई डाक्टर बताउने) एमएच खानले औषधि ‘प्रेस्क्राइव’ गरे ।
मेडिकल हलमा रहेका उनका सहयोगीले ‘स्विच २००’ नामक औषधि दिइन् । जुन औषधि फिजिसियनका लागि नमुना औषधि भनी दिइएको थियो । नमुना औषधि बिक्री गरेपछि पीडितले उक्त विषय ब्लाष्ट टाइम्स दैनिकमा जानकारी गराएको छ । सामान्यतः फिजिसियनका लागि दिइएको नमुना औषधि बिक्री गर्न पाइँदैन । उक्त औषधिको पछिल्तिर ‘नट टु बी सोल्ड’ भनेर लेखिएकै छ । आचार्यका पति राजीव दाहालले भने, ‘योसमेत गरी दुई पटक त्यो मेडिकलले मलाई बिक्री गरिसकेको छ । यो त हदै भयो भनेर मैले तपाईंहरूलाई जानकारी गराएको हुँ ।’
उनका अनुसार करिब २५ दिनअघि पेटमा समस्या हुँदा पनि नमुना औषधि नै बिक्री गरेको थियो । उनले भने, ‘पहिलो पटक खरिद गर्दा मिस्टेकले दिइयो होला भनेर केही भनिन पुनः स्याम्पल औषधि बिक्री गरियो ।’ मेडिकल हलका सञ्चालक खानले भुलवश निःशुल्क दिनुपर्ने औषधि बिक्री भएको प्रतिक्रिया दिए । उनले नयाँ कर्मचारी भएकाले बिक्री नगर्नुपर्ने औषधि दिएको दाबी गरे । उनले भने, ‘नयाँ बहिनीले भुलवश दिइछन्, जानेर दिएका छैनौँ ।’
तर, त्यहाँ यस्ता औषधि पटक–पटक बिक्री हुँदै आएको अन्य सेवाग्राहीले पनि बताएका छन् । सेवाग्राही दाहाल भन्छन्, ‘बिक्री गर्ने बैनीलाई सोध्दा हामीले यस्तो औषधि कति बिक्री गर्छौं कति भन्दै मलाई हप्काइन् ।’ यसैबाट पनि खान मेडिकल हलले भुलवश बिक्री नगरी नियतवश नै बिक्री गर्दै आएको पुष्टि हुन्छ ।
यस्ता विषयमा हालसम्म नियामक निकायहरूले अनुगमन गरेको पाइँदैन । जसको फाइदा मेडिकल हलहरूले उठाउँदै आइरहेका छन् । उक्त औषधि अलकेम ल्याबोटरिज लिमिटेडबाट उत्पादित ‘स्वीच २००’ नामक औषधि नमुनाका लागि भए पनि खुलेआम बिक्री हुँदै आएको छ ।
औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले चिकित्सकलाई नमुनाका लागि दिएको औषधि बिक्री गर्ने अधिकार कसैलाई पनि नभएको बताए । उनले नमुना औषधि बिक्री गर्ने फार्मेसी वा मेडिकललाई निलम्बनको प्रक्रियामा जाने बताए । उनले भने, ‘त्यस्ता फार्मेसीलाई प्रकृति हेरेर निलम्बनको कारबाही गर्छौं ।’
औषधि ऐन २०३५ को दफा १७ फार्मेसी स्नातक वा फर्मास्युटिक्समा स्नातक उपाधि प्राप्त गरेको वा औषधिसम्बन्धी अनुभव प्राप्त गरेको भई औषधि सल्लाहकार समिति मान्यताप्राप्त प्राप्त व्यक्ति चाहिन्छ । यस विषयमा सञ्चालक खानले आफ्नो उपस्थितिमा मात्रै औषधि बिक्री गर्ने गरेको दाबी गरेका छन् ।
मेडिकल सञ्चालक खानले बिरामी परीक्षण गरी प्रेसक्रिप्सन लेख्ने गरेका छन् । प्रचलित ऐनअनुसार चिकित्सक नभई प्रेसक्रिप्सन लेख्न मिल्दैन । जनस्वास्थ्यमाथि खेलवाड भइरहँदा पनि नियामक निकाय नगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, औषधि व्यवस्था विभाग र मेडिकल काउन्सिल बेखबर झैँ छ ।