धरान–३ जामे मस्जिदस्थित खान मेडिकल हलले नमुना औषधि बिक्री गरेपछि मेडिकल हल तथा फार्मेसीले गर्ने फटाइँ बाहिर आएको छ । मेडिकल तथा फार्मेसीमा यस्ता गतिविधि अनियन्त्रित रूपमा भइरहेका छन् । सचेत उपभोक्ताका कारण मात्रै यो घटना बाहिर आयो । सामान्य सेवाग्राही भएको भए नमुना औषधि बिक्री गर्न मिल्थ्यो कि मिल्दैनथ्यो भन्नेसम्मको जानकारी नै हुँदैनथ्यो । नमुना औषधि खराब भन्ने होइन तर, नमुना औषधि निःशुल्क रूपमा वितरण गरिनुपर्छ । बिरामीहरू तथा बिरामीका आफन्तलाई प्रष्टसँग जानकारी गराएर यस्ता औषधिहरू दिनुपर्ने हो । तर, खान मेडिकल हलका सञ्चालक तथा उनका सहयोगीले यस्ता औषधिहरू विगतदेखि नै बिक्री गर्दै आएको उनको सहयोगीको भनाइबाटै पुष्टि हुन्छ । सामान्यतः यस्ता औषधिहरू बिक्री गर्न पाइँदैन । त्यो औषधिमै पनि लेखिएको हुन्छ । तर, जानाजान मेडिकल हलले हेलचेक्र्याइँ गरेको देखिन्छ । यस्ता मेडिकल हलहरू कयौँ हुन सक्छन् । यसका लागि नियमन कसले गर्ने हो ? नियामक निकायहरूले जबसम्म उजुरी पर्दैन, तबसम्म कारबाहीका लागि पाइला चालेको पाइँदैन ।

अहिले नियमनको अधिकार स्थानीय तहमा पनि आएको छ । मेडिकल हल तथा फार्मेसीलाई औषधि व्यवस्था विभागले हेर्नुपर्ने हो तर, चाडपर्वका बेला मात्रै अनुगमन गर्ने र सामान्य चेतावनी दिई छाड्ने प्रवृत्तिका कारण पनि मेडिकल तथा फार्मेसीहरूको मनोबल बढ्ने गरेको छ । औषधि संवेदनशील विषय हो । यसमा विभागले मात्रै हैन, मेडिकल हल तथा फार्मेसीका सञ्चालकहरू आफै पनि संवेदनशील बन्नु आवश्यक हुन्छ । मेडिकल हलका सञ्चालकहरू पनि समाजप्रति उत्तरदायी हुनुपर्छ । समाजप्रति जवाफदेही हुनुपर्छ अनि मात्रै सकारात्मक परिणाम आउँछ । यहाँ खान मेडिकल हल मात्रै दोषी हो भन्ने भन्दा पनि खान मेडिकल हलजस्ता अन्य पनि फार्मेसीहरूले फटाइँ गरिरहेका छन् । यिनीहरूको उचित तवरबाट अनुगमन तथा नियमन नहुने हो भने समस्या झन् झन् विकराल बन्दै जान्छ । समस्याको निराकरण गर्ने दायित्व बोकेकाहरूले आफ्नो जिम्मेवारी र दायित्वलाई कदापि भुल्नु हुँदैन । बेथिति तथा बेरितका काम हुने हाम्रोजस्तो देशका सुधारका लागि नियमन र अनुगमन बढीभन्दा बढी हुन आवश्यक छ । कम्तीमा पनि हरेक सातामा अनुगमन र नियमन गर्ने संयन्त्रको विकास गर्नुपर्छ । यसको जिम्मेवारी स्थानीय तहले पनि लिनुपर्छ । किनकि संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहलाई पनि जिम्मेवारी आएको छ ।

निःशुल्क रूपमा प्राप्त गरेको औषधि बिक्री गर्ने जुन मनसाय राखिएको छ, त्यो मनसाय नै गलत छ । त्यसकारण खान मेडिकल हलका सञ्चालक एमएच खानले जिम्मेवारी लिनुपर्छ । मेडिकल हलहरूले निःशुल्क रूपमा प्राप्त गरेको औषधिहरू सेवाग्राही तथा बिरामीहरूलाई निःशुल्क रूपमा दिनुपर्छ । पहिलो कुरा त बिक्री गर्ने स्थानहरूमा राखिनु पनि हुँदैन । अर्कोतिर नेपालमा सबै मेडिकल हल तथा फार्मेसीहरू अनुमति लिएर चलेका छन् कि छैनन् भन्ने विषयमा पनि महŒवपूर्ण हो । यस्ता विषयमा पनि नियमनकारी निकायहरूले ध्यान दिन आवश्यक छ । नियमनकारी निकायले चाडपर्व लक्षित मात्रै अनुगमन तथा नियमन गर्नु हुँदैन । जनताप्रति उत्तरदायी हुनु सबैको कर्तव्य हो । त्यो कर्तव्यलाई सबैले आत्मसात गर्नुपर्छ । राज्यले नागरिकका लागि सेवा प्रवाह गर्दा सोहीअनुसार ध्यान दिनुपर्छ । त्यसकारण मेडिकल हल तथा फार्मेसीहरूको नियमन चाँडो चाँडो गरियोस् ।