वराहक्षेत्र । विद्यार्थी भर्ना शून्य भएपछि वराहक्षेत्र नगरपालिका–२ पुनर्वासस्थित वराह आदर्श क्याम्पस बन्द हुने अवस्थामा पुगेको छ ।
क्याम्पसमा यो शैक्षिक सत्रमा एकजना विद्यार्थीले पनि पढ्ने मन नगरेपछि सरोकारवालाले गम्भीर चासो देखाएका छन्् । सो विषयमा शुक्रबार क्याम्पसले आयोजना गरेको अन्तरक्रियामा बन्द हुने अवस्थामा पुगेको क्याम्पसलाई बचाउन सबै लागिपर्नु पर्नेमा जोड दिइएको छ ।
अन्तरक्रियामा बोल्दै आदर्श माविका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर पाण्डेले भने, ‘क्याम्पसको हालत अहिले बिरामीजस्तो भएको छ, क्याम्पस यो अवस्थामा पुग्नुमा को दोषी हो ? यसको तुरुन्त जिम्मेवारी लिइनुपर्छ ।’ उनले आफू क्याम्पसको पूर्व शिक्षकसँगै चन्दादाता पनि भएकाले चिन्ता लागेको बताए ।
विद्यालयका पूर्वप्राचार्य प्रह्लाद भट्टराईले सुविधाका बावजुद एकजना पनि विद्यार्थी पढ्न नमान्नु दुर्भाग्य भएको बताए । समस्याको निकास निकाल्न पटक–पटक चन्दादाताको भेला बोलाउन आग्रह गरे पनि क्याम्पसले कुनै पहल नगरेको बताए । ‘कक्षा सञ्चालन र व्यवस्थापनको लागि यसको अहिलेसम्म एक पटक पनि कर्मचारी बैठक बसेको छैन किन ?’–भट्टराईले प्रश्न गरे ।
अभिभावकले क्याम्पसको लागि चन्दा दिए पनि आफ्ना छोराछोरी अन्तै पढाउने गरेको उनले बताए । स्नातक तह कक्षा सञ्चालन तदर्थ समिति तथा व्यवस्थापन समितिका सदस्य भेषरज घिमिरेले क्याम्पसको नैतिक जिम्मेवारी आफुले लिने भन्दै, पदको लोभमा बसेर क्याम्पसको यो हविगत बनाउने जिम्मेवारहरूले तुरुन्त पद छोड्नु पर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यो क्याम्पसमा एउटा मात्र व्यवस्थापन सङ्कायको कक्षा सञ्चालन हुने गरेको छ । जसमा एक जना मात्र कर्मचारी कार्यालय सहयोगी मीनबहादुर कार्की रहेका छन् भने अतिथि क्याम्पस प्रमुखको रूपमा रमेश चौहान रहेका छन् । कक्षाहरू आदर्श माविका शिक्षकहरूले पढाउने गरेका छन् । जहाँ पुरानो भर्ना लिएका ५८ जना पढिरहेका छन् । तर, उनीहरू उत्तीर्ण भएर गएपछि के गर्ने ? भन्ने समस्या उत्पन्न भएको छ ।
क्याम्पस सञ्चालनको लागि अक्षय कोषमा ६० लाख ५१ हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक ३ सय ३७, आजीवन २ सय ९५, विशिष्ट मानार्थ ६४ जना गरी ६ सय ९६ जनाले चन्दा दिएका छन् ।
उता त्रि.वि.ले वार्षिक साढे ७ लाख रुपैयाँ अनुदान पनि दिने भएको छ । अक्षय कोषको लगभग ८ लाख ब्याज र अनुदान मिलाएर बन्ने साढे १५ लाख रुपैयाँले कलेज चलाउन समस्या त हुँदैन् । ‘तर, विद्यार्थी नै नआएपछि कसरी चलाउने ?’–क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष अमर कटुवालले भने ।
विद्यार्थीलाई आकर्षित गर्न एक वर्षसम्म निःशुल्क किताबको सेट दिने गरिएको छ भने छिट्टै पूर्णकालीन शिक्षक व्यवस्था गरिने र शिक्षा सङ्कायको कक्षा पनि सञ्चालन गर्ने योजना रहे पनि विद्यार्थीले नै नपत्याएको उपाध्यक्ष कटुवाल बताउँछन् । स्थानीय तहमा सुलभ शिक्षा दिने लक्ष्यका साथ २०६७ सालमा स्थापना भएको क्याम्पस भवन निर्माणको लागि वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७३/७४ मा १६ लाख रुपैयाँ, ०७४/७५ मा ५० लाख र ०७५/७६ मा ३० लाख रुपैयाँ मिलाएर ९६ लाख अनुदान दिएको छ । तर, १ करोड ३५ लाख रुपैयाँ लागत रहेको क्याम्पसले आ.व. २०७६/०७७ बाट रकम पाउन सकेको छैन । जसले गर्दा झ्याल, ढोका र ट्रष्ट निर्माणको काम हुन नसकेको क्याम्पस प्रमुख रमेश चौहान बताउँछन् ।
तत्कालीन वडा नं. २ का अध्यक्ष हरिकृष्ण भट्टराईको कार्यकालमा आ.व. ०७५/७६ मा दिएको २ लाख ५० हजारवाट फर्निचर निर्माण गरिएको छ भने तत्कालीन प्रदेश सभा सांसद् भीम आचार्यले दिएको २० लाखबाट शौचालय र १ सय १५ मिटरको कम्पाउण्ड वाल बनाइएको छ ।
यसैगरी प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय वाट २० लाख रुपैयाँ विनियोजित भएको चौहानले जानकारी दिए । २०७८/०७९ मा त्रि.वि.ले समेत ७ लाख रुपैयाँ अनुदान दिएको थियो । अहिलेसम्म क्याम्पसले नगरपालिका, प्रदेश सरकार र त्रिविबाट १ करोड २५ लाख ५० हजार रकम पाइसकेको छ । तर, क्याम्पस सञ्चालन र व्यवस्थापनमा अझै समस्या रहेको देखिन्छ ।
वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले शिक्षाको मन्दिर बन्द हुनु चिन्ताजनक भएको हुँदा आवश्यक रकमको व्यवस्था गरेर बन्द हुन नदिने बताए । वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमले क्याम्पसलाई बचाउन सबै लागिपर्नु पर्ने बताए ।
१८ कठ्ठा १३ धुर चर्चिएको जग्गामा दुई तलाको पक्की भवनमा क्याम्पस संचालित छ । आवश्यक शौचालय, विद्युत, ईन्टरनेट, कम्प्युटर र पुस्तकालय सुविधाहरू रहेका छन्, परीक्षाको नतिजा पनि राम्रो छ तर, विद्यार्थी भने यो क्याम्पसमा पढ्न रुचि देखाउँदैनन् ।
‘सबैकुरा राम्रो छ भने क्याम्पस चाहिँ किन नचलेको हो, किन एकजना विद्यार्थी पनि भर्ना हुन आएनन् ! कतै यो राजनीतिको अखडा त बनेको छैन ?’–स्थानीय गोविन्द थापाले व्यङ्ग्य गरे ।
क्याम्पस प्रमुख चौहान भने अघिल्लो शैक्षिक सत्रमा करिब १ सय ५ जनाले भर्ना लिएकोमा हाल करिब दर्जन बढी विद्यार्थी नियमित पढ्ने गरेको बताए । यस शैक्षिक सत्रमा करिब ५ जनाले भर्ना लिएको बताए । उनले कलेजमा स्थानीय आदशर््ा मावि, राइजिङ स्टार बोर्डिङ स्कुल र कालाबन्जारबाट करिब १२ जनाले आंशिक अध्यापन गराउने गरिएको बताए ।
क्याम्पसको यो हालत हुनुमा शिक्षामा राजनीतिकरण हाबी भएको दाबी गर्दै स्थानीय ढुण्डीराज दाहालले भने, ‘जबसम्म विशुद्ध रूपले पढाउने नयाँ अनुहार आउँदैनन्, तबसम्म कुनै परिवर्तन हुँदैन ।’
उता बिबिएस अन्तिम वर्षकी छात्रा शुभद्रा कार्कीले विद्यार्थीले रोजगारीसँगै पढ्न पाइने भएकोले सहरतिर गएको हुनसक्ने बताइन् । कार्कीको कुरालाई समर्थन गर्दै सञ्चालक समितिका सदस्य भवानी गौतमले क्याम्पसको विषयमा केही पढेलेखेका बुद्धिजीवीहरूले आफू सञ्चालन समितिमा हाबी हुन जथाभावी दुष्प्रचार गरिएको भन्दै आक्रोस पोखे ।
छलफलले छिट्टै विद्यार्थी भर्ना अभियान थालिने र पूर्णकालीन क्याम्पस प्रमुख र प्रध्यापकको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।