सुनसरी । सुनसरीको कोसी गाउँपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट स्थानीय ५९ वर्षीया सीतादेवी मुखियाको मृत्यु भयो ।

शनिबार अपरान्ह ४ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बीआर ३२ एएच ६२४४ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै वराहक्षेत्र नगरपालिका–११ मधुवनमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । आइतबार साँझ ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका साइकल यात्री वराहक्षेत्र–१० का २१ वर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत–९ का २३ वर्षीय अजिम साफी आपसमा ठक्कर खाई लडेका थिए ।

विपरीत दिशाबाट आउँदै गरेको को.१ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलीको चक्काले साइकलयात्री ठाकुरलाई घिसार्दा घाइते भएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछिल्लो केही दिनको अन्तरालमा भएका घटना हुन् यी । उल्लेखित घटना मात्रै नभई प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कले समेत प्रदेश नम्बर १ मा दिनहुँजसो दुर्घटना हुने गरेको देखाउँछ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पछिल्लो तीनवर्षको तथ्याङ्कअनुसार प्रदेश नम्बर १ मा ८ हजार २ सय ७३ सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा १ हजार ३ सय ७ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार विगत ३ आर्थिक वर्षहरूको सवारी दुर्घटनाको तथ्याङ्कमा वार्षिक औसत ८० प्रतिशतले वृद्धि भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३ सय २२ वटा सवारीसाधन दुर्घटना भएकोमा ३ सय ३२ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ सालमा ३ हजार १ सय ३१ सवारी दुर्घटना हुँदा ४ सय ४४ जनाको मृत्यु भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ८ सय २० वटा दुर्घटना भएकोमा ५ सय ३१ जनाको मृत्यु भएको थियो । यसैगरी चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म कुल १ हजार ४ सय ८४ वटा सवारीसाधन दुर्घटनामा परेका छन् भने १ सय ७७ जनाले ज्यान गुमाएको अवस्था छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा मासिक औसतमा २ सय ९७ वटा दुर्घटना हुने गरेको देखिन्छ । उल्लेखित तथ्याङ्क गत आर्थिक वर्षको यही अवधिभन्दा ७ दशमलव ८८ प्रतिशतले कम हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार विगत ३ आर्थिक वर्षहरूमा सवारी दुर्घटनाबाट मानिसको मृत्यु वार्षिक रूपमा औसत २६ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको मङ्सिर सम्म औसतमा मासिक ३५ दशमलव ४ जनाको मृत्यु हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा १ सय ७७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको अवस्था छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा १७ दशमलव २ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा सवारी दुर्घटनाबाट २ सय १४ जनाको मृत्यु भएको थियो ।

यस्ता छन् दुर्घटनाका कारण
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता श्यामकुमार सारु मगरका अनुसार प्रदेश नम्बर १ मा ८६ प्रतिशत दुर्घटना मानवीय कारण भएको छ भने १४ प्रतिशत दुर्घटना अन्य कारणले भएको अवस्था छ । मानवीय कारणमा तीव्र गति ५३ प्रतिशत, मादक पदार्थ सेवन १० प्रतिशत, ट्राफिक नियम उल्लङ्घन १९ प्रतिशत र ओभरटेकिङ ४ प्रतिशत दुर्घटनाको कारण देखिएको उनले बताए । यसैगरी यान्त्रिक तथा सवारीको दुरावस्था, सडकको दुरावस्था, प्रतिकूल मौसम र छाडा चौपायाको कारण पनि दुर्घटना भएको देखिएको प्रवक्ता मगर बताउँछन् ।

राम्रोसँग सवारीसाधन चलाउन नजान्ने, बेफिक्रीसँग हाँक्ने, सवारीसाधन ओभरस्पिडमा ओभरटेक गर्न खोज्ने जस्ता कारणहरूले पनि दुर्घटना हुने गरेको उनको भनाइ छ । ‘दुईपाङ्ग्रे सवारी दुर्घटनामा पर्नेहरूमध्ये अधिकांश १८ देखि ४० वर्ष उमेरका रहेका देखिन्छन्’ प्रवक्ता तिम्सिनाले भने, ‘दुर्घटनामा उमेरले पाका व्यक्ति पनि पर्छन् । तर, त्यस्ता घाइते निकै कम मात्र हुन्छन् । सडकमा दुईपाङ्ग्र्रे सवारीसाधनको चाप पनि धेरै हुन्छ । अन्य सवारीसाधन भन्दा दुईपाङ्ग्र्रे सवारीसाधन सुरक्षित पनि होइन । चलाउँदा निकै होसियार रहनुपर्छ ।’

तर, युवावर्गले रक्सी र लागूपदार्थ सेवन गरेर कुदाउने गरेका कारणले पनि मोटरसाइकल, स्कुटरलगायतका सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको प्रवक्ता मगरको भनाइ छ । ट्राफिक प्रहरीले नियम तोड्नेहरूलाई गर्ने कारबाहीमा कडाइ गर्दै गएका कारण दुर्घटनाबाट हुने मृत्युको सङ्ख्या कम हुँदै गएको उनको दाबी छ । दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरबाट ट्राफिक सचेतनाका  कक्षाहरू चलाउँदै आएको बताउँदै प्रवक्ता मगरले भने, ‘समाजले निगरानी नराखे, परिवारले सचेत नगराए दुर्घटना कम हुँदैन ।’