हिजोआज दैनिकजसो सडक दुर्घटनाका खबर सुनिन्छ । तथ्याङ्कले बर्सेनि सडक दुर्घटना बढिरहेको देखाउँछ । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अध्ययन गर्ने हो भने अवस्था कहालीलाग्दो देखिन्छ । पछिल्ला तीन आर्थिक वर्षमा प्रदेश १ मा ८ हजार २ सय ७३ सवारीसाधन दुर्घटनामा परे । यो भनेको दैनिक ७ वटाभन्दा बढी दुर्घटना हुनु हो । ती दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ७ छ । यो दैनिक १ जनाभन्दा बढीको मृत्यु हुनु हो । चालु आर्थिक वर्षको तथ्याङ्क कहालीलाग्दो छ । चालु आर्थिक वर्षमा मासिक औसतमा २ सय ९७ वटा दुर्घटना हुने गरेको देखिन्छ । त्यस्तै औसतमा मासिक १ सय ७७ जनाको मृत्यु भएको तथ्याङ्क छ । तथ्याङ्क अनुसार तीन वर्षयता वार्षिक औसत ८० प्रतिशतले दुर्घटना बढेको देखिन्छ । यसको न्यूनीकरणका लागि बेलैमा नसोच्ने हो भने अवस्था अझै भयावह हुन सक्छ ।
प्रहरीकै तथ्याङ्कलाई आधार मान्दा यो प्रदेशमा ८६ प्रतिशत सडक दुर्घटना मानवीय कारबाट भएको देखिन्छ । यसको अर्थ मान्छेकै लापरबाहीले धेरै दुर्घटना भइरहेका छन् र धेरैको लापरबाहीकै कारण ज्यान गइरहेको बुझ्न सकिन्छ । यसको अर्थ के पनि बुझ्न सकिन्छ भने मान्छेकै लापरबाहीले दुर्घटना बढेको हो भने यसलाई धेरै हदसम्म न्यूनीकरण गर्न पनि सकिन्छ । मानवीय कारणमध्ये पनि तीव्र गतिमा सवारी साधन कुदाएका कारण दुर्घटना ५३ प्रतिशत दुर्घटना भएका छन् भने मादक पदार्थ सेवन गरेर साधन चलाएका कारण १० प्रतिशत, ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका १९ प्रतिशत र ओभरटेकिङका कारण ४ प्रतिशत दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यसभन्दा बाँकी कारणमा मात्र सवारी साधनको दुरावस्था, सडकको दुरावस्था, प्रतिकूल मौसम र छाडा चौपाया दुर्घटनाका कारकका रूपमा देखिएका छन् । यी कारणहरूको गहन अध्ययन गरेर न्यूनीकरण गर्न सरोकारवाला निकायहरू लागिपर्ने हो भने धेरै हदसम्म दुर्घटना कम हुन सक्छ । त्यसका लागि खाली जिम्मेवार निकायमा बस्नेहरूको दृढ इच्छाशक्ति आवश्यक पर्छ । किनभने मानवीय कारणले निम्तिएका समस्याको न्यूनीकरणका उपाय पनि अवश्यै हुन्छन् ।
नेपालमा सडक अनुशासनको पालना गर्ने भन्दा उल्लङ्घन गर्ने प्रवृत्ति धेरै देखिन्छ । सडकको आफ्नै नियम हुन्छ, त्यसलाई चुनौती दिनु आफ्नै ज्यानमाथि खतरा निम्त्याउनु हो भन्ने बुझ्न नसकेसम्म दुर्घटना न्यूनीकरण गर्न गाह्रो छ । एकातिर अस्तव्यस्त र खाल्डाखुल्डी सडक छन् । निर्माण थालिएका सडक पनि ठेकेदारले लामो समय अलपत्र पारेर छाड्दा यातायातका साधनलाई त्यसै पनि गाह्रो छ । त्यसमाथि चालकहरू आफै सडक नियम विपरीत तीव्र गतिमा हुइँकिने, मादक पदार्थ सेवन गरेर चलाउने, अर्को साधनलाई उछिन्न हतार गर्ने प्रवृत्तिले दुर्घटना बढाइरहेको छ । दुर्घटना न्यूनीकरणकै लागि भनेर ट्राफिक प्रहरीले सडकका ठाउँ–ठाउँमा चेकिङ गर्ने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने अभियान चलाएको धेरै भइसक्यो तर, ट्राफिक प्रहरीको यो अभियान पनि चालकलाई सचेत गराउनेमा भन्दा पैसा असुल्नेमा केन्द्रित छ । त्यसकारण पनि सडक दुर्घटना बढेको बढ्यै छ । दुर्घटना न्यूनीकरण गर्न हरेक व्यक्ति सचेत भई सडक अनुशासन पालना गर्नु आवश्यक छ । आम नागरिकलाई सडक अनुशासनको महत्व सिकाउन स्थानीय सरकारहरूले पनि कार्यक्रम ल्याउनु जरुरी देखिन्छ । अन्यथा दैनिक दुर्घटनामा ज्यानका गुमाउनेको सङ्ख्या बढ्दै जाने निश्चित छ । त्यसैले सबै पक्ष सचेत भएर दुर्घटना न्यूनीकरणका उपायहरूको खोजी गर्न ढिला गर्नु हुन्न ।