विराटनगर । आन्तरिक विवादले आर्थिक रूपमा टाट पल्टिएको मोरङ विराटनगरको सञ्जीवनी हस्पिटल एन्ड आइभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ ।

नयाँ शेयर सदस्यहरूबीचको विवादले बजारको ४० करोड रुपैयाँ ऋण नतिरी ५० शøयाको हस्पिटल बन्द भएको हो । ४० करोडमध्ये दुई करोडभन्दा बढी रकम चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब रहेको छ । अहिले उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगर र स्थानीय प्रशासनमा काम गरेको पारिश्रमिक दिलाइदिन माग राख्दै निवेदन दिएका छन् ।

चार जना चिकित्सकसहित १२ जनाको सञ्जीवनी हस्पिटलमा लगानी छ । पछिल्लो समय दिवाकर यादवलाई कार्यकारी प्रमुख बनाएर भिœयाएको चार महिना बित्न नपाउँदै हस्पिटल बन्द भएको हो । यादवले १ करोड रुपैयाँ लगानी गरेर वि.सं. २०७९ असारमा भित्रिएका थिए । उनी आएको पाँच महिनापछि कात्तिकमा हस्पिटल बन्द भएको हो ।

राजकुमार मण्डल, विनायककान्त पन्त, डा. प्रेरणा दाहाल, डा. अन्जु देव, डा. पवन पराजुली, डा. वरुण देव, ओमप्रकाश प्रसाईं, राजेश प्रसाईं, सुरेन्द्र राय, रमेश साह र चन्द्रमणि गुरागाईंको लगानी रहेको कर्मचारी तथा चिकित्सक बताउँछन् । देव र साहबाहेक १० जना सञ्चालकहरूले ६ वर्षअगाडि हस्पिटल लिएका थिए । त्यसबेला एम्स हस्पिटल नाम राखिएको थियो । १० जनाको समूह आएपछि नाम परिवर्तन गरी सञ्जीवनी हस्पिटल बनाइएको थियो ।

त्यसबेला अध्यक्षमा राजकुमार मण्डल रहेका थिए । वि.सं. २०७८ सालमा दुईजना शेयर सदस्य थपिए । उनीहरू ७३ लाख रुपैयाँ लगानी गरेर अस्पतालमा भित्रिएका थिए । नयाँ सञ्चालक थपिएसँगै कोभिड १९ महामारी सुरु भयो । केही वर्ष राम्रो चलेको हस्पिटल कोभिड भित्रिएसँगै हस्पिटल घाटामा जान थालेको थियो । हस्पिटल घाटामा जान थालेपछि सञ्चालकहरू स्वास्थ्य क्षेत्र बुझेका व्यवस्थापकको खोजीमा लागे । सञ्चालकहरूमध्ये चारजना डाक्टर थिए । उनीहरूको आफ्नै क्लिनिक पनि रहेको छ । क्लिनिक छोडेर पूरा समय हस्पिटललाई दिन अन्य सञ्चालकहरूले सुझाएका थिए ।

आफ्नै क्लिनिक भएको कारणले उनीहरूले मानेनन् । चिकित्सकबाहेकका ९ जना सञ्चालकले वि.सं. २०७९ असारमा सेयर रकम नलिइकन तीनजना चिकित्सक डा. अन्जु, डा. पवन र डा. वरुण देवलाई हस्पिटल जिम्मा लगाए । उनीहरूले नयाँ लगानीकर्ता खोजे । त्यही बीचमा दिवाकर यादव नयाँ लगानीकर्ताका रूपमा अस्पतालमा भित्रिए । त्यसपछि ९ जनाको टिम बाहिरियो ।

हस्पिटल छाड्ने बेलामा बजारको सम्पूर्ण दायित्व तिर्ने गरी डा. वरुण, डा. पवन, डा. अन्जु, दिवाकर र पुरानो ९ जनाको टिमबीच सम्झौता भयो । सम्झौतामा पुरानो दायित्व तिर्ने सहमति थियो । जसमा पुरानो दायित्व ४० करोड रुपैयाँ बढी रहेको थियो । संस्थाको सम्पत्ति पनि उति नै थियो । हस्पिटल राम्रो चलोस् भनेर हस्पिटल छाडेका पुराना सञ्चालकको ९ जनाको समूहले विभिन्न मितिमा बजारबाट खोजेर सापटी रकम करिब ३ करोड ८८ लाख रुपैयाँ हस्पिटललाई दिएको देखिन्छ । यो रकमपछि फिर्ता गर्ने गरी लिखत कागज बनाइएको छ ।

वि.सं. २०७९ साउन २४ गते ९ जनाको टिम बाहिरिएपछि हस्पिटल राम्रो चल्न थाल्यो । एक सञ्चालकका अनुसार पुराना ९ जनाको समूह बाहिरिएपछि मासिक करिब १ करोडसम्म अस्पतालले कारोबार गरेको थियो । दुई महिनापछि नयाँ सञ्चालकका रूपमा अस्पतालमा भित्रिएका दिवाकार र तीनजना डाक्टरबीचको मतभेद सुरु भयो । यहीबीचमा दिवाकरमाथि फौजदारी कसुर गरेको आरोप लागेको छ । अहिले यो उजुरी मोरङ प्रहरीमा छ । दिवाकर फरार छन् ।

अस्पतालले त्यहाँ कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरूको दुई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक दिन बाँकी छ तर उक्त पारिश्रमिक भुक्तानी नगर्दै आर्थिक सङ्कटमा परेको सञ्जीवनी हस्पिटल बन्द भएको छ । यहाँ कार्यरत पाँचजना विशेषज्ञ चिकित्सक र पाँचजना मेडिकल अधिकृतसहित दुई दर्जनभन्दा बढी कर्मचारीले पाउनुपर्ने तलब सुविधा नदिई सञ्चालकहरूले हस्पिटल बन्द गरेको ती कर्मचारी तथा चिकित्सकले बताए ।

हस्पिटलमा कार्यरत पाँचजना डाक्टरका अनुसार आफूहरूले तीन वर्षदेखि तलब पाएका छैनौँ । त्यस्तै ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरूले चार महिनाको तलब नपाएको गुनासो गरेका छन् । एकजना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म पारिश्रमिक पाउन बाँकी रहेको बताए । हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरूको भनाइ छ ।

हस्पिटलले पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घ कोसी शाखा र श्रम तथा रोजगार कार्यालय विराटनगरमा पनि निवेदन दिएका छन् । उनीहरूले यसअघि नै लामो समयदेखि सञ्जीवनी हस्पिटलमा काम गरेबापतको पारिश्रमिक नपाएको र तलब माग गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सङ्घमा निवेदन दिएका हुन् । ‘हामीले काम गरेको पारिश्रमिक मागेको वर्षौं भइसक्यो ।

काम गरेको तलब माग्दा आज दिन्छौँ । भोलि दिन्छौँ भनेर टार्ने मात्र काम भयो । पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिइएको छैन । हाम्रो माग सुनुवाइ नभएपछि हामी आबद्ध सङ्घमा पाउनुपर्ने तलब दिलाइदिन हामीले संयुक्त रूपमा निवेदन हालेका हौँ’–एक चिकित्सकले भने ।