इतिहास विगतको वर्तमान हो । यदि यो साक्ष्यलाई भुल्ने हो भने हामी अग्रपथमा बढ्न सक्दैनौँ । धरानको इतिहास स्मरण गर्ने उत्सव नै धरान उत्सव हो । विक्रम संवत् २०१७ सालमा नगरपालिका घोषणा भएको सम्झनामा यो उत्सव मानिँदै आएको छ । यसरी हेर्दा नगरपालिका घोषणा भएको ६२ वर्ष पूरा भएछ । यसबीचमा नगरपालिका उपमहानगरमा परिणत भइसक्यो तर, धरानको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक विकासमा सोचेअनुरूपको प्रगति हुन सकेको छैन । आर्थिक रूपमा लगभग हामी बर्सेनि खुम्चिँदै छौँ । सामाजिक र सांस्कृतिक रूपमा अन्यत्रभन्दा उन्नत छ र छौँ तर, राजनीतिक रूपमा धरान सदैव पछाडि परेको अवस्था छ । यहीँबाट प्रतिनिधित्व गर्ने नेता देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुग्दा पनि धरानले सोचेअनुरूपको प्रगति गर्न सकेन । शैक्षिक रूपमा पाँच–पाँचवटा अलग–अलग अध्यापन गराउने विश्वविद्यालय र आङ्गिक क्याम्पस छन् । दुईवटा विश्वविद्यालयको केन्द्रीय कार्यालय नै धरानमै छ । तर, पनि यथेष्ट प्रगति गर्न नसकेको दृष्टान्त हामीसामु छर्लङ्ग छ ।
धरान उत्सव गरिरहँदा यसको प्रारम्भिक इतिहासलाई भुल्नु हुँदैन । आज धरानमा मानव बसोबास हुन थालेको १ सय २२ वर्ष पूरा भएको छ । मानव बस्ती प्रारम्भ भएको एक सय वर्ष पूरा भएको अवसरमा २०५७ सालमा धरान शतवार्षिक महोत्सव नै आयोजना गरिएको थियो । त्यो आयोजनाको निरन्तरता नै आजको धरान उत्सव हो । तर, यस उत्सवले धरानको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा राजनीतिक रूपमा के महŒव राख्छ ? उत्सवलाई धरानको प्रगतिको सूचक मान्ने हो भने यसले भावी दिनमा अन्य सहरका लागि कस्तो महत्व राख्ला ? यसको गहन समीक्षा हुन जरुरी छ । धरान उत्सवले धरानको गरिमा र आर्थिक मेरुदण्डको आधार तय गर्न सक्छ कि सक्दैन ? विकासको मार्गचित्र बन्न सक्छ कि सक्दैन ? यावत् प्रश्नको हल नखोज्ने हो भने धरान रसातलमा फस्ने देखिँदैछ । किनकि यहाँका सरकारी अड्डाहरू आजको दिनसम्म आइपुग्दा सबै सबैजसो अर्कै सहरमा स्थानान्तरण भइसकेका छन् । २०५७ सालमा शतवार्षिक महोत्सवमा तय गरिएको नारा ‘शैक्षिक, स्वास्थ्य, पर्यटन, सांस्कृतिक पूर्वाधार युक्त सहर धरान’ ले सार्थकता पाउँदै छ त ? यसको पनि गहन समीक्षा हुन जरुरी देखिएको छ ।
हामी कुन मार्गचित्र लिएर नारालाई सार्थक बनाउन लागिपरेका छौँ ? त्यसबारे गम्भीर बहस र छलफल नहुने हो भने धरान उत्सवको सार्थकता शून्यमा परिणत हुनेछ । हामी हरेक वर्ष धरान उत्सव त मनाउने गर्छौं तर, त्यो कर्मकाण्डीमा सीमित हुनेछ । ५० वर्षपछिको धरानको नारालाई नियाल्ने हो भने हाम्रो शैक्षिक गुणस्तर हरेक वर्ष खस्किँदो छ । पर्यटन पूर्वाधारमा शून्य लगानी छ । यहाँ भएका धार्मिक पर्यटनको पनि प्रचार–प्रसार गर्न सकेका छैनौँ । अन्य त तपसिलका विषय रहे । धरान आजको अवस्थामा आइपुग्न हिजोको इतिहास साक्षी छ । त्यही इतिहासले आजको धरान कोरेको हो । तर, भविष्य कोर्नका लागि हाम्रा जनप्रतिनिधिहरूले सार्थक मार्गचित्र कोर्न आवश्यक छ । त्यसका निम्ति बहसलाई नयाँ कोणबाट उठाउन जरुरी हुँदै गएको छ । राजनीतिमा पनि एउटा स्पष्ट खाका कोर्न आवश्यक छ । क्षणभङ्गुरतामा रमाउने धराने जीवनशैलीलाई परिवर्तन गर्नका लागि एउटा नयाँ गुरुयोजना आवश्यक छ । जसले अबको ५० वर्षपछि हामीले तय गरेका नाराहरू सार्थक बन्न सकून् ।