विराटनगर । विराटनगर हस्पिटल चोकस्थित सञ्जीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि.का सञ्चालक ३३ वर्षीय दिवाकर यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।
सुनसरीको औरावनी घर भई विराटनगर–२ मा बस्दै आएका यादवले २७ वर्षीया नर्सलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
ती नर्सलाई भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको आरोप छ । यादवविरुद्ध ती नर्सले मोरङ प्रहरीमा जबरजस्ती करणीमा भदौ अन्तिमतिर जाहेरी दिएकी थिइन् ।
पीडितले दिएको जाहेरी निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । यादव बिरामी भएपछि उनलाई अहिले मोरङ हस्पिटलमा राखेर उपचार सुरु गरिएको छ ।
प्रहरीका अनुसार नर्स र यादव ७ वर्षदेखि लिभइन टुगेदरमा बस्दै आएका थिए । उनीहरूको चिनजान २०७० सालमा भएको हो । इनरुवाको एक हस्पिटलमा काम गर्ने क्रममा उनीहरूको चिनजान भएको थियो । यादव विवाहित हुन् भने नर्स अविवाहित हुन् । इनरुवाको एक हस्पिटलमा भेटघाट भएपछि उनीहरू नजिकिएका थिए ।
यादवले धाकधम्की दिँदै पटक–पटक बलात्कार गरेको आरोप छ । ‘२१ भदौमा दिउँसो कोठामा बसेको थिएँ । विपक्षी आई जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाई विभिन्न धाकधम्की दिई करणी गर्नुभयो । म रोइकराइ गर्दा मलाई लात्ती, घुस्सासमेतले कुटपिट गरी अचेत बनाई हिँड्नुभयो । त्यसपछि छरछिमेकीले थापा पाई हस्पिटल लगेर औषधि उपचार गरेपछि ठीक भएको थिएँ’–ती नर्सले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
प्रहरीमा जाहेरी परेपछि यादव फरार थिए । यादवले सञ्जीवनी हस्पिटलमा ७० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ शेयर लगानी गरी प्रमुख भएर भित्रिएका थिए । उनी आएको ४ महिना हस्पिटल राम्रोसँग चले पनि शेयर सञ्चालकहरूबीचको विवादका कारणले बजारको ४० करोड रुपैयाँ ऋण नतिरी कात्तिकमा बन्द भएको छ । ४० करोडमध्ये २ करोड रुपैयाँभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीहरूको पैसा दिन बाँकी रहेको छ ।