धनकुटा । राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक सुरेशकुमार कार्कीले तालिम प्राप्त विद्यार्थीलाई अनुशासित मात्र होइन, राष्ट्रको सेवा गर्ने र गर्नुपर्छ भन्ने प्रेरणा जगाउने वताएका छन् ।

मोरङ्गको याङशिलामा रहेको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा उपस्थित बुद्धिजीवि तथा तालिममा सहभागिहरुलाई सम्बोधन गर्दै मंगलवार महानिर्देशक कार्कीले यस्तो बताएका हुन् । उनले मुलुक प्रजातान्त्रिक उन्मुख राष्ट्र भइसकेता पनि यहाँ उत्पादित धेरै धरोहरहरु विदेश पलायन भएको बताए । कार्कीले भने–‘मुलुक नै असक्षमहरुको देश भनेर परिचय दिने भइरहेको हुँदा तालिम प्राप्त विद्यार्थीहरु स्वदेशमा नै केही गर्नुपर्छ भन्ने ज्ञान राष्ट्रिय सेवा दलले दिने हुँदा तालिम उपयोगी मात्र होइन सक्षम र लिडर बनाउँछ ।’

महानिर्देशक कार्कीले साँझको तालिम प्राप्त विद्यार्थीहरुको नृत्यलाई नियाल्दै विद्यार्थीहरुले देशभक्ति सन्देश कलामार्फत प्रस्तुत गरेकोमा सहरानीय भएको बताए । राष्ट्रिय सेवा दल पूर्वी तालिमको हलमा ४८ जुनियर डिभिजनका तालिम प्राप्त विद्यार्थीहरुले सुनुवार, राई, थारु, मारुनी, मिथिला, तामाङ सेलो, कौडा जस्ता नृत्य प्रस्तुत गरिरहँदा हाम्रो नेपाल साँच्चैको साँझा फुलबारी रहेको बताउँदै महानिर्देशक कार्कीले भने–‘विदेशी संस्कृति नेपालमा भित्रिसकेको हुँदा त्यसलाई परास्त पार्न नेपाली मन सक्रिय हुनुपर्छ ।’

पूर्वी तालिम केन्द्रमा आयोजित फुटबल खेलको फाइनललाई अवलोकन गर्दै कार्कीले तालिम प्राप्त भइसकेका विद्यार्थीहरुलाई समेटेर समाजसेवा, विपद् व्यवस्थापन सम्बन्धि काममा समाहित गर्न सकिने पनि बताए । स्वस्तिका शिशु सदन अर्जुनधारा झापा र सुनसरी धरानको पब्लिक हाईस्कुल बीच फाइनल खेल भएको थियो ।

खेलमा स्वस्तिकाले १ विरुद्ध ३ गोल प्रहार गर्दै उपाधी जित्न सफल भएको थियो । सहभागि खेलाडीलाई महानिर्देशक कार्कीले उपविजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए भने विजेता स्वस्तिका शिशु सदनलाई ट्रफि सहित मेडल र प्रमाणपत्र क्याप्टेन शरण लिम्बूलाई प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्वी तालिम केन्द्रका प्रमुख कर्णेल विमल केसी, एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष जयकुमार श्रेष्ठ, प्याव्सन झापाका सहसचिव इश्वरा श्रेष्ठ, ब्लाष्ट टाइम्सका सम्पादक किशोर कार्की, यलम्वर टाइम्सका सम्पादक दिपीन राई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमपछि जुनियर डिभिजन तालिम प्राप्त विद्यार्थीहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणा जगाउन विद्यालयको पनि ठूलो हात हुने उपस्थित अतिथिहरुले निर्देशक कार्की समक्ष राखेका थिए । कार्कीले तालिम लिएका जुनियर डिभिजनलाई सेनामा सहभागि गराउन मात्र नभइ स्वदेशमै केही गर्नुपर्छ र राष्ट्र बचाउन लाग्नुपर्छ भन्ने विभिन्न कार्यक्रमहरु लिएर आउने समेत जानकारी दिए ।