पानी विना मानव मात्र होइन, सबै जीवजन्तु र वनस्पतिको अस्तित्वसमेत रहँदैन । त्यसैले पनि पानीलाई जीवनको आधार मानिन्छ । दैनिक जीवनमा पानीको कति महŒव छ भन्ने कुरा सबैलाई थाहा छ, यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन । त्यसैले जीवनसँग जोडिएको पानीको संरक्षण र व्यवस्थापन गरिनु पर्ने आवाज विश्वभरबाट उठिरहेको छ । मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै जाने क्रम बढेसँगै विश्वमा ठूलो चिन्ताको विषय बनिरहेको छ । कतिपय ठाउँमा भने भएको पानीसमेत राम्रो व्यवस्थापन गर्न नसक्दा समस्या बढिरहेको छ । यस्तै किसिमको समस्या धनकुटा बजारमा देखिएको छ । त्यसै पनि धनकुटा पानीको समस्या भएकै ठाउँ हो । त्यसमाथि पानी जम्मा गर्न निर्माण गरिएका ट्याङ्कीहरूको उचित मर्मत सम्भार नहुँदा चुहिएर खानेपानी आपूर्तिमा समस्या उत्पन्न हुन थालिसकेको छ । यो समस्या बेलैमा समाधान नभए अझै बढ्दै जाने निश्चित छ ।
धनकुटा बजारमा खानेपानीका ५ वटा ट्याङ्की रहेका छन् । त्यसमध्ये चारवटा ट्याङ्की चुहिन्छन् । ३ लाख लिटरभन्दा वढी पानी अट्ने ४ वटा ट्याङ्की चुहिएपछि स्थानीयवासी चिन्तित छन् । बरको जरा फैलिएर खानेपानीको ट्याङ्कीमा पस्दा चुहिने गरेको छ । पटक–पटक मर्मत भए पनि दिगो हुन नसक्दा समस्या ज्यूँका त्यूँ छ । धनकुटा बजारको परिचय मोडमा ८० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की छ । यो ट्याङ्की आगलागी वा कुनै विपत्तिका बेला दमकलका लागि आकस्मिक रूपमा पानी भर्न बनाइएको हो । तर, यो पनि चुहिने भएका कारण विपत्ति पर्दा झनै समस्या देखिने अवस्था छ । केही समयअघि धनकुटामा आगलागी हुँदा दमकलले उक्त ट्याङ्कीबाट पानी भर्न पाएनन् । किनभने ट्याङ्की चुहिएको थियो । त्यसपछि १७ किलोमिटर टाढा पर्ने मूलघाटमा पुगेर तमोर नदीको पानी ल्याउनु प¥यो । आगलागी भइसकेपछि तुरुन्त निभाउनु पर्नेमा १७ किलोमिटर टाढा पुगेर पानी भरेर ल्याउँदा धेरै क्षति भइसकेको हुन्छ । यो ट्याङ्की चुहिएको ६ महिनाभन्दा बढी भए पनि सरोकारवालाले चासो देखाएका छैनन् । यस्तो संवेदनशील कुरामा स्थानीय सरकार र अन्य सरोकारवाला निकाय गम्भीर बन्नुपर्छ ।
ट्याङ्की मर्मतका लागि उपभोक्ता र स्थानीयले धनकुटा नगरपालिकालाई पटक–पटक जानकारी गराए पनि काम नभएको गुनासो गरेका छन् । स्थानीय सरकारले यस्तो समस्या पर्दा टुलुटुलु हेरेर बस्नु हुँदैन । पानीको अभाव हुँदा आगलागी हुँदा त समस्या हुन्छ नै, पशुपंक्षी र मानवलाई पिउनसमेत समस्या हुने अवस्था आउन दिनु हुँदैन । त्यसैले सरोकारवालाले ढिलो नगरी यस्ता काममा ध्यान पु¥याउनु आवश्यक छ । धनकुटाका विभिन्न गाउँमा पानीकै समस्याका कारण गाउँ नै छाडेर हिँड्नु पर्ने अवस्थासमेत देखिएको छ । किन यस्तो समस्या आइरहेको छ भन्ने विषयमा सरोकारवालाहरूले अध्ययन गरी समस्या समाधानको पहल गर्नुपर्छ । तत्कालका लागि चुहिएका ट्याङ्की मर्मत गरेर आम उपभोक्तालाई पानीको अभाव हुन नदिनु स्थानीय सरकार र खानेपानीसँग सरोकार राख्ने सबैको कर्तव्यसमेत हो ।