विक्रम संवत् २००७ साल फागुन ७ गते १ सय ४ वर्षको जहानियाँ राणा शासन अन्त्य गर्दै मुलुकमा प्रजातन्त्रको बिरुवा रोपिएको घोषणा भयो । मुलुकमा मध्ययुगीन अँध्यारोबाट सुनौलो बिहानीको प्रादुर्भाव भयो । अब नेपालीका छोराछोरीहरू पनि राज्यको प्रतिनिधित्व गरी राजकाजमा सहभागी हुन पाउने राज्यव्यवस्थाको सुरुवात भयो ।
तदनुरूप नै काङ्ग्रेस र राणाहरू सम्मिलित सरकार गठन भयो । नेपाली काङ््ग्रेसका प्रतिनिधि र राणाहरूका बीच मर्यादा र मन्त्रालय बाँडफाँट भएको देखिन्छ । नेपालको सन्दर्भमा प्रजातन्त्रको बिरुवा निकै नौलो भएको अनुमान गर्न सकिन्छ । यसमा सन्देह गर्ने ठाउँ पनि थिएन । अब प्रजातन्त्रको प्रादुर्भाव भएपछि मुलुक समृद्धि र विकासको पथमा लम्कन्छ भन्ने तत्कालीन मुलुकका जनताले विश्वास गरेको पाइन्छ । तर, सोचेजस्तो मुलुकको मुहार फेर्न नसकेको प्रष्टरूपमा देखिन आउँछ ।
तत्कालीन राजा श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवले प्रजातन्त्रको पक्षमा आफ्नो राजगद्दी पनि दाउमा लगाएको प्रष्ट देखिन्छ । १ सय ४ वर्षे राणा शासन अन्त्य गर्न नेपाली काङ्ग्रेसले क्रान्तिको घोषणा गरी राणा शासनको मूलोच्छेदन गर्ने दृढ सङ्कल्प लिएर नेपाली जनताहरूलाई साथमा लिएर क्रान्तिको बिगुल फुकेको प्रष्ट हुन आउँछ ।
२००७ सालको क्रान्तिको नेतृत्व मातृकाप्रसाद कोइराला, जननेता विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर र लौहपुरुष गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले संयुक्तरूपमा गर्नुभएको थियो । नेपालमा प्रजातन्त्र स्थापनार्थ गरिएको क्रान्ति निकै महिनासम्म चलिरह्यो । अन्तमा आएर राजा, काङ्ग्रेस र राणाहरूको त्रिपक्षीय वार्ता भारतको दिल्लीस्थित हैदरावाद हाउसमा भयो । तत्पश्चात् २००७ साल फागुन ७ गते प्रजातन्त्रको उदय भएको र राजा त्रिभुवनबाट शाही घोषणा भएको प्रष्ट हुन आउँछ ।
माथि उल्लेख गरिएअनुसार राणा र काङ्ग्रेसको संयुक्त सरकार गठन भयो । विभिन्न आरोह र अवरोहका बावजुद विशेष कारणवश भङ्ग भयो । २००८ सालतिर मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भएको देखिन्छ । २००७ सालदेखि २०१५ सालसम्म नेपालको राजनैतिक अवस्था सङ्क्रमणकालमै थियो । प्रजातन्त्रको सुनौलो घामले ढकमक्क भएको देशमा काला बादलहरूका रूपमा राजा महेन्द्र देखा पर्दै गए ।
आफ्नो हातमा मुलुकको शासन व्यवस्था हत्याउन अनेक प्रपञ्च रच्न थाले । नेपाली काङ्ग्रेस र अन्य पार्टीहरूको तीव्र विरोधपछि राजा महेन्द्र हच्किएर नेपाली काङ्ग्रेसका सुवर्ण शमशेरलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त गरी पार्टीहरूको विरोधलाई थामथुम पारे । तत्पश्चात् २०१५ साल फागुन ७ गते सुरु भएको आमनिर्वाचन चैत २१ गतेसम्म गरी चार चरणमा निर्वाचन सम्पन्न भयो । नेपाली काङ्ग्रेसलाई निर्वाचनमा हराउन राजा महेन्द्रको छत्रछायाँमा गठन गरेको प्रजातान्त्रिक महासभालाई देशभर काङ्ग्रेसविरुद्ध पैसा खर्च गरेर उम्मेदवारी खडा गर्न लगाएतापनि कांग्रेस ७४ सिटमा विजयी भई भयो ।
देशको पहिलो आम निर्वाचनमा ठूलो पार्टी बन्यो । राजा महेन्द्रले बीपीलाई प्रधान हुन नदिन ठूलो षड्यन्त्र गरे तर, राजा महेन्द्रको केही सीप नलागेर निर्वाचन भएको एक महिना २३ दिन अर्थात् २०१६ साल जेठ १३ गते राजा महेन्द्रले नेपाली काङ्ग्रेसका अति प्रभावशाली नेता विश्वेश्वरप्रसाद कोइरालालाई नेपाल अधिराज्यको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गराए । मन्त्रीमण्डल गठन भयो ।
प्रजातान्त्रिक सरकार मन्त्रीहरूले बीपीको नेतृत्वमा देशमा भएको सीमित स्रोतसाधनको उपयोग गरी काम गर्दै रहे । देशको शासनभार र मुलुकमा भर्खर मात्र स्थापित प्रजातन्त्रलाई मलजल गर्न बीपीलाई ठूलै चुनौती थियो । तर, बीपीको चमत्कारिक नेतृत्वले सबै चुनौतीलाई पार लगाउँदै, देशको शासन व्यवस्था सनै सनै लयमा ल्याउन बीपी सक्षम हुनुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको परराष्ट्रनीति बढ्दै गयो । दुवै छिमेकी भारत र चीनको सहयोग लिन बीपी सफल हुनुभयो ।
देशले क्रमिक रूपमा विकास गर्दै लैजाने नीति नेपाली काङ्ग्रेस सरकारले अवलम्बन ग¥यो । यस्तै अवस्थामा मुलुकको विकास र राजकाजमा राजा महेन्द्र र बीपी को टक्कर पर्दै गयो । नेपाली काङ्ग्रेसको सरकारले देशमा समृद्धि र विकास गर्ने फाँटमा आफ्नो घोषणा–पत्रअनुसार काम गर्दै जनताका चाहनाको सम्बोधन गर्दै, पैनी, कुलो, बाँध कुलेशा, उद्योग र गाँस, कपास र रोजीरोटीको विषयमा गम्भीररूपले लिँदै आफ्नो लक्ष्य पहिलयाउँदै जाँदै गर्दा, बीच–बीचमा राजा महेन्द्रको हस्तक्षेपकारी प्रवृत्तिको सामना पनि गर्नु पर्दथ्यो ।
तर, नेपाली काङ्ग्रेसको सरकार आफ्नो अठोटका साथ देश र देशवासीको हितको लागि अगाडि बढ्दै गयो । यस्तै आरोहअवरोहका बीचमा पनि नेपाली काङ्ग्रेसको सरकारले अन्तर्राष्ट्रिय देशहरूमा नेपालको विकासको लागि दाताहरूको मनोभाव बदल्न सफल भएको दस्तावेजले दर्शाएको छ । आफ्नै लयमा काम गर्दै गएको मुलुक करिब करिब १ वर्ष ६ महिना पार गर्न केही दिन बाँकी रहँदा मुलुकमा राजा महेन्द्रबाट सञ्चालित समूह र व्यक्तिहरू, गोरखा, स्याङ्जा र काठमाडौँमा पनि सरकारविरुद्ध वितण्डा मच्चाउन सफल भए । देशमा ठूलो संकट आइपर्ने अवस्था तत्कालीन अवस्थामा बुद्धिजीवीहरुले आँकलन गरेको पाइन्छ ।
हठात २०१७ साल पौष १ गते राजा महेन्द्रद्वारा सैनिक बलको आडमा नेपालको प्रजातन्त्र कलिलो मुनालाई निमोठेर मुलुकलाई मध्ययुगीनको अध्यारोमा धकेल दिए । वी।पी।, गणेशमान र अन्य मन्त्रीहरु बन्दी जीवन बिताउन बाध्य भए । प्रजातान्त्रिक सरकार भङ्ग भयो । मुलुक अस्तव्यस्त भयो । वी।पी।, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचन र दिवानसिंह राईको सुन्दरीजलस्थित जेलमा करिब आठ वर्षसम्म बास भयो । सुन्दरीजलको लामो कारावासपछि माथि उल्लेख गरिएका नेताहरू जेलमुक्त हुनुभयो ।
जेलबाट छुटेपछि बीपी आफ्ना जनता र कार्यकर्ताहरू भेट्न देशाटनमा निक्लिनुभयो । आफ्ना कुरा राख्न र जनताका पिर बुझ्न विभिन्न ठाउँमा भ्रमण गर्नुभएको थियो । तर, जननायक बीपी कोइराला देशमा धेरै दिन बस्न पाउनुभएन । राजा महेन्द्रले पुनः जेल बन्दी बनाउने सम्भावना भएकाले बीपी बाध्य भएर भारत प्रवासमा जानुभयो । बीपीको अनुपस्थितिमा देशभरका ार्यकर्ता र नेताहरू अभिभावकविहीन भए । पञ्चायती सरकारको कोपभाजनमा धेरै नेता र कार्यकर्ताहरू जेल जीवन बिताउन बाध्य भए । बीपीले भारत प्रवास गएको केही वर्षपछि सशस्त्र क्रान्तिको आह्वान गर्नुभयो । जब क्रान्तिको आह्वान भयो, त्यसपछि क्रुर पञ्चायती व्यवस्थाका नायक मानिने राजा महेन्द्रले नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता छानीछानी धरपकड र आतङ्कको सृजना गरे । धेरै साथीहरू बन्दी भए । विद्यार्थी नेताहरू पनि पञ्चायती सरकारको कोपभाजन भए ।
सशस्त्र क्रान्तिको दौरानमा देशमा धेरै घटनाहरू भए । सबभन्दा ठूलो घटना ओखलढुङ्गाको टिमुरेमा भयो । त्यहाँको मुठभेडमा राम, लक्ष्मण र अन्य होनहार नेताहरूको अथवा क्रान्तिकारीहरू आहत भए । राम, लक्ष्मणसँग यो पङ्क्तिकारले पनि विराटनगरका कारावासमा सँगै बन्दी जीवन बिताउने सौभाग्य पाएको थियो । ओखलढुङ्गाको असफल क्रान्तिपछि बीपीलाई ठूलो आहत पर्न गयो । यसै असफल क्रान्तिको गर्भबाट बीपीले ‘राष्ट्रिय मेलमिलाप’ को नीति अवलम्बन गर्नुभयो र नेपाली काङ्ग्रेसले २०३३ साल कात्तिक महिनामा बीपीको आह्वानमा पटनामा ठूलो राष्ट्रिय सम्मेलन ग¥यो । त्यस सम्मेलनमा धरानबाट भक्तगोविन्द श्रेष्ठ, सतिशचन्द्र गिरी, राजेन्द्र बजगाईं, माधवगोविन्द लाखे (श्रेष्ठ) र म भाग लिन जानुपर्ने भयो । त्यस समयमा पैसाको अभाव त छँदै थियो । पैसा कहाँबाट जुटाउने ? पिरलो थियो मलाई, तर एकदिन मेरो डेरामा दिवङ्गत शङ्करमान श्रेष्ठ आएर विश्वजी म पटना जान पाइनँ, तपाईंलाई यो बाटो खर्च भनेर रु. २००।– दिनुभयो । उहाँलाई धेरै धन्यवाद दिएँ । हाल शङ्करमानजी हामीबीच हुनुहुन्न ।
हामीहरू पटना पुग्यौं । म विराटनगरका त्यतिखेरका जल्दाबल्दा नेताहरू बद्रीनारायण बस्नेत, जयहरि शर्मा, राजेन्द्र विरहीहरूसँग पटनास्थित भारतीय राष्ट्रिय काङ्ग्रेसको अतिथि गृहमा बस्यौं । भोलिपल्ट सम्मेलन सुरु भयो, सबै विद्यार्थी नेता र अन्य नेताहरूले आ–आफ्ना विचार राखे । कसैले बीपी नेपाल जानुहुन्न खतरा छ भने । अधिकांश नेताहरूले हैन बीपी नेपाल जानुपर्छ भन्ने आफ्नो राय प्रकट गरे । सम्मेलन २ दिनसम्म चल्यो । हामी सबै सहभागीहरू आ–आफ्नो गन्तव्यस्थलतिर लाग्यौं । हामीहरू जोगबनी आइपुग्दा अब फेरि धरपकडमा परिन्छ कि भन्ने त्रासले हामी त्रस्त थियौं । धन्न त्यस्तो नराम्रो घटना भएन । त्यसपछि २०३३ साल पौष १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर बीपी, गणेशमानलाई पुनः सुन्दरीजल बन्दीगृहमा र शैलजा आचार्यलाई सेन्टर जेलमा बन्दी बनाइयो । अब नेपाली काङ्ग्रेसका तमाम कार्यकर्ताहरू आगामी राजनैतिक अवस्थाप्रति चिन्तित भए । उता पञ्चायती व्यवस्थाका हिमायतीहरूमा पनि खैलाबैला मच्चिन थाल्यो ।
हामी तमाम कार्यकर्ताहरूबीच त्रास पनि थियो भने उमङ्ग पनि थियो । बीपी बन्दी भए पनि नेपालमै हुनुहुन्छ । अन्तर्राष्ट्रको आँखा पनि नेपालतिर मोडिएको थियो । त्रास र उमङ्गका बीच नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि भित्रभित्रै सङ्गठन निर्माणमा लागिपरेका थिए । केही महिनापछि बीपी र गणेशमान छुट्नुभयो । एक किसिमको राजनैतिक वातावरण सृजना भयो । बीपी स्वास्थ्य उपचारको लागि अमेरिका प्रस्थान गर्नुभयो र बीपीले देशमा एक किसिमको राजनैतिक वातावरण बनोस् भनेर ‘प्रजातन्त्रवादीहरू पञ्चसँग नतर्स र पञ्चहरू पनि प्रजातन्त्रवादीहरूसँग नझस्क’ भन्ने नेपालमा सौहार्द्रताको राजनीतिक बुटी प्रदान गर्नुभयो ।
यस वाणी अथवा कोटेसनले नेपालका राजनीतिकर्मीहरूमा आशाको दियो जगायो भने पञ्चहरू पनि काङ्ग्रेस, कम्युनिष्टबाट झस्किन कम भएजस्तो लाग्दथ्यो । बीपी र गणेशमानको आगमनले देशभित्रको राजनीतिले ठूलो कोल्टे फेरेको थियो । पञ्चायती व्यवस्थाका हिमायतीहरू पनि देशमा कुन राजनीतिले फड्को मार्ने हो ? भन्ने कुरामा अनभिज्ञ थिए । तर, जे होस् बीपीको स्वदेश आगमनले देशभित्र ठूलो हलचल ल्याएको थियो ।
अन्तर्राष्ट्रका आँखा पनि नेपालको राजनीतिमा सोझिएको भान प्रष्ट हुन आएको थियो । राष्ट्रिय मेलमिलापको नाराले गति लिँदै गएको थियो । बीपीको उपस्थितिले सारा प्रतिबन्धित शक्तिहरू बीपी र गणेशमानको वरिपरि झुम्मिन थाल्यो । कम्युनिष्ट नेता मनमोहन अधिकारीले बीपीको नेतृत्वमा नेपालमा प्रजातन्त्र पुनस्र्थापनाको अभियानलाई अगाडि बढाउन नेतृत्व लिनु पर्दछ भन्दा बीपीले आफ्नो ठाउँबाट सङ्घर्ष गर्न सुझाव दिनुभएको थियो ।
तर, आज आएर बीपीले अवलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलापको औचित्यलाई हाम्रै नेताहरूले बुझीबुझी लत्याएको प्रष्ट हुन आउँछ । बीपी र गणेशमानले ज्यानको बाजी लगाएर स्वदेश आगमन गर्नुभएकोले राजनैतिक सहजता सृजना भएको थियो । तर, नेताहरूमा अझ पनि चेतना आएको देखिँदैन । बीपीका वाणीहरूमा भर पर्नुभन्दा आफ्नै ढङ्गमा जानु राम्रो भन्दा आज पार्टीले सम्पूर्ण कुराहरू गुमाउनुप¥यो । अझ धरानको काङ्ग्रेसमा महेन्द्र प्रवृत्तिले त सङ्गठन तहसनहस भएको छ ।
राप्रपाको नामोनिशान नभएको धरानमा नेपाली काङ्ग्रेसका धराने नेताहरूले स्थानीय तहको निर्वाचनमा महेन्द्र प्रवृत्ति अवलम्बन गरी २ र ३ नं. वडाको काङ्ग्रेसको सङ्गठन तहसनहस गर्नेतर्फ उद्यत भए । यसको जिम्मेवारी धरान काङ्ग्रेसले लिनुपर्छ कि पर्दैन ? कि राप्रपाको उदय ग¥यौं भनेर गर्व गर्ने ? यसको जवाफ निकट भविष्यमा धरान काङ्ग्रेसले दिनुपर्छ ।
राष्ट्रिय मेलमिलापको आवश्यकता र सार्थकतालाई सबै काङ्ग्रेसी जनहरूले आत्मसात गरी बीपीले अवलम्बन गर्नुभएको सिद्धान्तबाट सिञ्चित हुनुपर्छ । तब मात्र बीपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । अब सबै काङ्ग्रेसी जनले महेन्द्र प्रवृत्ति अन्त्य गर्नुपर्दछ ।