धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट)ले कर्मचारी कल्याण समाजलाई आधिकारिकता प्रदान गरेपछि पहिलो पटक निर्वाचन हुँदै छ ।

सिनेटले आधिकारिकता प्रदान गरेपछि कर्मचारी कल्याण समाजले २०७२ सालमा विधान निर्माण गरेको थियो । सोही विधानमा रहेर पुस २३ गते अर्थात् शनिबारका दिन चुनाव हुँदै छ । समाजको अध्यक्ष पदका लागि ९ जना आकाङ्क्षी देखिएका थिए । जसमध्ये २ जनाले नाम फिर्ता लिएका छन् ।

निर्वाचन समितिका अध्यक्ष प्रकाश श्रेष्ठले पुस १५ गते जारी गरेको उम्मेदवारको नामावलीमा अध्यक्ष पदमा ९ जना आकाङ्क्षी देखिएका थिए । त्यसमध्ये खड्गबहादुर राउत र राकेशकुमार दास*ले नाम फिर्ता लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार ७ जनाले अध्यक्ष पदमा भिडन्त गर्दै छन् ।

नामावलीअनुसार किशोरप्रसाद पोखरेल, महेश्वर राई, मदनकुमार हलुवाई, कविता ढकाल, भूपध्वज बुढाथोकी, किरणप्रसाद भट्टराई र सञ्जीवकुमार कर्ण अध्यक्षमा भिडन्त गरिरहेका हुन् । निर्वाचनमा किशोर, महेश्वर र मदनको प्रतिस्पर्धा तीव्र हुने कर्मचारी सदस्य बताउँछन् ।

कुल २४ पदका लागि हुन लागेको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ४ जना, वरिष्ठ उपाध्यक्ष महिलामा तीनजना, प्रशासनिक कर्मचारीको उपाध्यक्षतर्फ ४ जना, पारामेडिक्स कर्मचारीतर्फको उपाध्यक्षमा ३ जना महासचिवमा ३ जना, सचिवमा ४ जना, कोषाध्यक्षमा ४ जनाले भिडन्त गर्दै छन् ।

सबै पदमा एक–एकजना मात्रै निर्वाचित हुनेछन् । यस्तै सदस्य प्रशासनिक कर्मचारीमा तीन पदका लागि ४ जना, सदस्य नर्सिङमा ३ पदका लागि ५ जना, सदस्य पारामेडिक्स ३ पदका लागि ६ जनाले भिडन्त गरिरहेका छन् । त्यस्तै खुल्ला सदस्यतर्फ ६ पदका लागि १२ जना भिडन्तमा छन् । समाजमा प्रशासनिक, पारामेडिक्स र नर्सिङ कर्मचारी गरी कुल १३ सय २६ जना सदस्य छन् । यसमध्ये उपाध्यक्ष नर्सिङतर्फ सफला बुढाथोकी निर्विरोध निर्वाचित भएकी छन् ।

बीपी प्रतिष्ठान ऐन २०४९ को नियमावली २०५५ को संशोधित व्यवस्थाले कर्मचारी कल्याण समाजलाई पनि आधिकारिकता प्रदान गरेको हो । यसअघि प्रतिष्ठानमा समाज भए पनि सिनेटले आधिकारिकता प्रदान गरेको थिएन । पहिलो पटक २०६३ सालमा कर्मचारी कल्याण मञ्च गठन भएको थियो । जसमा प्रशासनिक कर्मचारी मात्रै सम्मिलित थिए ।

२०६९ को निर्वाचनपश्चात् कर्मचारी कल्याण समाजको निर्वाचित अध्यक्ष बनेका सुजेन्द्र गोलेका अनुसार प्रशासनिक कर्मचारीको मात्रै मञ्च बनेपछि नर्सिङ कार्यरतको नर्सिङ वेलफेयर कमिटी, पारामेडिक्स कर्मचारीको पारामेडिक्स कर्मचारी वेलफेयर कमिटीको छुट्टाछुट्टै समिति रहेको थियो । ती समितिलाई गाभेर कर्मचारी कल्याण समाज निर्माण गरिएको थियो । उक्त समितिको तदर्थ कार्यकालको नेतृत्व कल्पना पोखरेलले गरेकी थिइन् ।

तत्कालीन समयका अध्यक्ष गोले भन्छन्, ‘२०६३ सालमा प्रशासनिक कर्मचारीको मात्रै मञ्च गठन गरिएको थियो । जसको अध्यक्षमा दिनेशराज दाहाल हुनुहुन्थ्यो । प्रतिष्ठानले कर्मचारीहरूको एउटा मात्रै समिति हुनुपर्छ भन्ने भएपछि तीनवटैलाई मर्ज गरेर समाज गठन गरेका थियौँ । त्यसको नेतृत्व कल्पना पोखरेलले गर्नुभएको थियो ।’

चुनावबाट निर्वाचित भएपछि समाजले आफ्नै किसिमले विधान बनाएको थियो । तर, उक्त विधानलाई प्रतिष्ठान प्रशासनले स्वीकार गरेको थिएन । पछि शिक्षक, विद्यार्थी र कर्मचारी कल्याण समाजको विधान प्रतिष्ठानले नै बनाउने भन्ने निर्णय भएपश्चात् नै २०७२ सालमा प्रतिष्ठानले आधिकारिकता दिएको हो । सिनेटबाट आधिकारिता पाएपश्चात्को यो पहिलो निर्वाचन हो ।

अध्यक्ष सुजेन्द्र गोले अध्यक्ष रहेको समाजमा कार्यवाहकको रूपमा उमेश थापालाई दिएपश्चात् राजन कोइरालाको नेतृत्वमा बागी तदर्थ समिति गठन गरेको थियो । उक्त तदर्थ समितिले पनि आफ्नै हिसाबले काम गर्दै आइरहेको थियो । सोही समितिमा उपाध्यक्षका रूपमा महेश्वर राई रहेका थिए । उनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरिरहँदा अब प्रतिष्ठानमा दुईवटा समिति अस्तित्वमा नआउने दाबी गरेका थिए ।

*सम्पादकीय नोटः यसअघि ९ जना अध्यक्षका प्रत्यासीमध्ये राकेशकुमार दासले फिर्ता लिएको हुनुपर्नेमा सञ्जीवकुमार कर्णले फिर्ता लिएको भनी आएकाले उक्त कुरालाई सच्याइएको छ ।