पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सुत्केरी महिलाको ज्यान गएको छ । कुम्मायक—२ मङ्जावुङकी मनिषा आचार्यको ज्यान गएको हो । प्रसुती भएपछि अत्यधिक रक्तस्राव भएको थियो । उनको थप उपचारको लागि सदरमुकाम लान एम्बुलेन्स नपाउँदा ज्यान गएको हो ।
वडाको बर्थिङ सेन्टरमा आचार्यलाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान पुर्याएको थियो । मङ्जावुङका प्रमूख सचिन्द्र मेहताका अनुसार उनलाई भर्ना गरिएको दुई घण्टापछि नर्मल डेलिभरी भएको थियो ।
केहिबेरपछि रक्तस्राव सुरु भएर औषधी दिएपछि ठिक भयो’ मङ्जावुङका प्रमूख सचिन्द्र मेहता भने् सोही दिन साँझ ४ बजे अचानक बेहोस भएपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम लैजाने क्रममा उनको निधन भएको मेहताको भनाइ छ ।
बेहोस भएपछि तत्काल जिल्ला अस्पताल पुर्याउने एम्बुलेन्स नपाउदा ट्याक्सीको खोजी गरी जिल्ला अस्पताल पुर्याइएको थियो । तर त्यो समय सम्ममा धेरै ढिला भएको थियो । साँझ ९ बजे जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनले जन्म दिएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ । सुत्केरीपछि हुने अत्यधिक रक्तस्रावका कारण उनको निधन भएको पाँचथर अस्पतालका डा. बुद्वीबहादुर थापाले जनाए ।