धरान । धरान मेघा हिमालय कलेजले शुक्रबार वाइन वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । मेघाको होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा १२ मा अध्ययरत् विद्यार्थीहरू वर्कसपमा सहभागी थिए ।
कार्यशालालाई वाइन विशेषज्ञ जुना मास्केले सहजीकरण गरेकी थिइन् । उनले बेलायत र जर्मनबाट इन्टरनेसनल वाइन बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टमा डबल अनर गरेकी छन् ।
उनले विद्यार्थीहरूलाई वाइन बन्ने प्रक्रिया, सर्भ गर्ने तरिका, वाइनका प्रकार, वाइन गिलासका प्रकार तथा वाइन बनाइने अङ्गुरका विभिन्न प्रकारबारे जानकारी दिएकी थिइन् ।
जर्मनीमा ‘नेपाली वाइन लेडी’ को परिचय बनाएकी मास्केले बेलायत, जर्मनी र नेपालका विभिन्न होटलहरूमा वाइनसम्बन्धी प्रशिक्षण दिने गरेको मेघाका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषण श्रेष्ठले जनाए ।
‘हस्पिटालिटी इन्डष्ट्री र वाइन एक–अर्काका परिपूरक जस्तै हो’ उनले थपे, ‘त्यसैले विद्यार्थीहरूलाई विभिन्न तारे होटलहरूमा पाइने वाइनका प्रकार र प्रोफेसनल तरिकाले वाइन सर्भ गर्ने तरिकाबारे प्रशिक्षण दिइएको हो ।’ यसबाट विद्यार्थीहरूमा पेसागत सीपको विकास हुने अपेक्षा गरिएको मेघाका प्रिन्सिपल भाष्कर पौड्यालले बताए ।