सुनसरी । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन बढे पनि सुनसरीका सीमा नाकामा कुनै सचेतता अपनाइएको छैन । 

सुनसरीको कोसी गाउँपालिका–८ भण्टाबारीबाट भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गरिए पनि अन्य नाकामा भने हेल्थ डेस्क राखिएको छैन । नेपाल–भारतबीच रहेको खुला सीमाका कारण जोखिमलाई मध्यनजर गर्दै दुई दिनयता सशस्त्र प्रहरीले स्वास्थ्य कार्यालय सुनसरीसँग समन्वय गरेर नाकामा सतर्कता अपनाए पनि दिनहुँ ठूलो सङ्ख्यामा भारतबाट आउने सबैले स्वास्थ्य परीक्षण गराएको पाइँदैन । जसले गर्दा नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको स्थानीय सफिक मन्सुरी बताउँछन् ।

सीमा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका अनुसार सशस्त्र प्रहरीको पहलमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग समन्वय गरेर भारतबाट आउने व्यक्तिको सशस्त्र प्रहरीले ज्वरो नाप्नेदेखि एन्टिजेन परीक्षण थालेका छन् । पुस २० गतेदेखि भण्टाबारीको नाका हुँदै आउने व्यक्तिको ज्वरो नाप्ने र एन्टिजेन परीक्षण गर्दै मास्क वितरण गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ । भण्टाबारी नाका हुँदै एकदिनमा कति व्यक्ति आउने गरेको तथ्याङ्क भने राखिएको छैन ।

पुनः कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिम बढे पनि सुनसरीको मुख्य नाकाका रूपमा रहेको भण्टाबारी नाकामा भने नाम मात्रैको हेल्थ डेस्क राखिएको अर्का स्थानीय राजदेव सरदारले बताए । ‘भारतबाट मानिस निर्वाध रूपमा आवत–जावत गर्छन्’ उनले भने, ‘सीमामा तैनाथ सशस्त्र प्रहरीले केही व्यक्तिलाई चेकजाँच गरे पनि अधिकांश त्यतिकै आउँछन्; कुनै कडाइ गरिएको छैन ।’ सीमाबाट आवत–जावत गर्ने सबैको एन्टिजेन परीक्षण सम्भव नभएकाले भारतका ठूला सहरबाट आउनेहरूको मात्रै परीक्षण गरिरहेको हेल्थ डेस्कमा तैनाथ एकजना सशस्त्र प्रहरीले बताए । खुला र व्यस्त सीमा भएकाले ठूलो सङ्ख्यामा आउने सबैको स्वास्थ्य परीक्षण सम्भव नभएको उनले बताए । भारतका विभिन्न राज्यबाट आउने मानिस मुख्य राजमार्गसँग जोडिएको भण्टाबारी नाकाहुँदै आवत–जावत गर्ने गर्छन् । त्यसरी आउने मानिसलाई ध्यानमा राख्दै भण्टाबारीमा हेल्थ डेस्क राखिए पनि प्रभावकारी नभएको स्थानीयको भनाइ छ । स्वास्थ्य मन्त्रालयले सीमामा एन्टिजेन परीक्षण गर्ने, हेल्प डेस्क राख्ने लगायतका निर्देशन दिए पनि उक्त निर्णय सुनसरीका सीमा नाकामा कार्यान्वयनमा आएको पाइएको छैन ।

कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवम् सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना भाइरसको नयाँ भेरिएन्टको सङ्क्रमणलाई लक्षित गर्दै आवश्यक परेको अवस्थामा सीमामा हेल्थ डेस्क राखिने बताउँछन् । भीडभाड नगर्न, मास्क र सेनिटाइजर प्रयोग गर्नजस्ता व्यक्तिगत तवरबाट सतर्कता अपनाउन आग्रह गर्नुबाहेकका अन्य हेल्थ डेस्क राखेर सीमामा परीक्षण गर्ने तत्कालै आवश्यकता नदेखिएको उनको भनाइ छ । कोभिड न्यूनीकरण तथा रोकथाम गर्न विगतमा बनाइएका संरचना तयारी अवस्थामा राखिएको हुँदा आवश्यक परेको अवस्थामा त्यसलाई परिचालित गरिने प्रजिअ यादवले बताए । यद्यपि छिमेकी मुलुक भारतका विभिन्न स्थानमा कोरोना भाइरसको नयाँ भेरिएन्ट फेला परेकाले सतर्कता अपनाउन उनले सबैमा आग्रह गरे ।