विराटनगर । विराटनगर महानगरपालिका–१२ बाट घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठूलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रबार बिहान विराटनगर–१२ बाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ र रक्सी बरामद गरेको हो । विराटनगर–१२ मा अवैध घरेलु मदिरा बनाई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा उत्पादन गरेको तथा उत्पादनको तयारी गरिएको मदिरा र मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १ सय २५ लिटर र मदिरा बनाउने भाडाका सामानहरू ३१ थान बरामद गरेको जानकारी दिए ।
बरामद गरेको सामान अन्दाजी २ लाख ४४ हजार ९ सय ७० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद सामान प्रहरीले आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ ।