वराहक्षेत्र । वराहक्षेत्रबाट मोटरसाइकल चोरीको आरोपमा चक्रघट्टी महेन्द्रनगर प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर जिल्लाको आमचौक गाउँपालिकाको वडा नं. ४ बस्ने वर्ष १९ का रोशन विशुङ्खे र वराहक्षेत्र नपा वडा नं. ९ का २७ वर्षीय सुदेश राई रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताएका छन् ।

पुस १६ गते नगरपालिकाको वडा नं. ७ बाट निलबहादुर बोगटीको को–२३ प ६१०१ नम्बरको रातो रङको पल्सर र कुलबहादुर तामाङको को.१६ प २३१९ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

चोरी भएका दुवै मोटरसाइकल भोजपुरको बालङ्खाबाट बरामद भएका छन् भने आरोपी दुवैलाई पक्राउ गरी म्याद थपपछि इप्रका चक्रघट्टीमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।