धरानलाई कुनै समय विकासको नमुना सहर भनेर चिनिन्थ्यो । सडक निर्माण होस् या कुनै विकासका काममा जनसमुदाय र स्थानीय तह मिलेर काम गर्ने भएकाले जनसहभागिताको नमुना हेर्न देशका अन्य क्षेत्रबाट मानिसहरू धरान आउँथे । अहिलेको परिस्थिति भने फरक छ । अहिले विकासका हरेकजसो आयोजना विवादमा परेका छन् । विवादकै कारण विकासमा अवरोध पुगेको छ । विकासका काममा उत्पन्न हुने गरेका विवादले पहिलेको जनसहभागिताको नमुना सहर धरान अहिले विकास विरोधी सहर भनेर चिनिन थालेको छ । यसले धरानको दीर्घकालीन विकासमा असर परिरहेको छ । यसबाट पाठ सिकेर धरानले विकासका काममा एकजुट भएर अघि बढ्नुको विकल्प छैन ।

पछिल्लो समय जोगवनी–किमाथाङ्का व्यापारिक राजमार्ग अन्तर्गत धरानको तीनकुनेदेखि भेडेटारसम्मको सडक–खण्ड विवादका कारण निर्माण हुन सकेको छैन । हालको कोसी राजमार्ग रहेको सडक बजारबीचबाटै छ । यसैलाई विस्तार गरिने योजना छ । मापदण्ड अनुसार सडकको केन्द्रबाट दायाँ—बायाँ ३१–३१ मिटर चौडाइ हुनुपर्ने व्यवस्था छ । सोही मापदण्डअनुसार बनाउँदा बजार क्षेत्रका धेरै घरहरू भत्किने भएकाले विवाद उत्पन्न भएको छ । यो विवादमा राजनीतिक दलहरू सामेल छन् । योजनाअनुसार सडक निर्माण गर्ने विषयमा दलहरू खुलेर बोल्न सकेका देखिंँदैनन् । उनीहरूमा विकासभन्दा बढी भोटको चिन्ता छ । त्यसैले धरानको सडक विस्तार लामो समयदेखि अन्यौलमा छ । विकासका काममा यसरी राजनीतिक खिचातानी गरिनु गलत हो । पछिल्लो समय भने धरानका राजनीतिक दलहरू धरान क्षेत्रमा चार लेन सडक निर्माण गर्ने विषयमा सहमत देखिएका छन् । यद्यपि सडक विस्तार कहिलेबाट सुरु हुने टुङ्गो छैन । जोगवनी–किमाथाङ्का राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–सडक आयोजनाले भने मापदण्डअनुसार खाली गर्न आग्रह गरिरहेको छ । खाली हुने बित्तिकै सडक निर्माण थाल्ने तयारीमा छ आयोजना तर, असारसम्ममा खाली नभए आयोजनाको समय सकिन्छ । त्यसपछि सडक कार्यालयलाई जिम्मा लगाइन्छ । त्यसपछि सडक विस्तार कहिले हुने झनै टुङ्गो हुँदैन । त्यसैले स्थानीय सरोकारवाला र राजनीतिक दलहरूले बेलैमा तदारुकता देखाउनु जरुरी छ । सरकारले २०३१ सालमा नै राजमार्गसम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित  गरेको थियो । अहिलेसम्म सोही मापदण्डअनुसार राजमार्ग बनाउन खोजिए पनि विभिन्न राजनीतिक स्वार्थका कारण अवरोध हुँदै आएको छ । धरानका राजनीतिक दल र नेताहरूले विकासका काममा आमनागरिकलाई एकजुट गराउन नसक्नु उनीहरूको असक्षमता हो । धरानको विकासका काममा यसरी नै अवरोध भइरहने हो भने नयाँ आयोजनाहरू कसरी आउँछन् ?, धरानको विकास कसरी अघि बढ्छ ? गम्भीर बन्नु पर्ने विषय हो ।

सडक विस्तारको काममा सहमति जुटाउन स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्छ । विकासका काममा किन पटक–पटक विवाद भइरहेको छ ? भनेर अध्ययन गरिनु आवश्यक छ । अन्यथा धरानको विकासको गतिमा अघि बढ्नुको साटो झन्झन् पछि पर्दै जाने निश्चित छ । त्यसैले विकासका काममा राजनीतिक दल, स्थानीय सरकार र यहाँका नागरिक एकजुट भएर अघि बढ्नु आवश्यक छ ।