धरान । धरानमा एक सुन व्यापारीको अपहरणको असफल प्रयास भएको छ । धरान उपमहानगरपालिका–२ रत्नरोडस्थित मास्के ज्वेलर्सका सञ्चालक टीकाराज मास्केको अपहरणको प्रयास गरेको खुलेको हो ।
आइतबार बिहान करिब ६ बजेर १५ मिनेटतिर मास्केलाई तीन जना युवाको समूहले छुरी देखाएर अपहरण गर्ने प्रयास गरेको पीडित मास्केले बताए । ‘हिजो चाहिँ धारामा पानी आएन, आज चाहिँ आयो होला ओभर फ्लो भयो होला भनेर ढोका खोलेँ । ढोका खोल्ने बित्तिकै तीन खुट्किला मुनी एक जना मान्छे र त्योभन्दा तल दुईजना देखेँ । को हँ भनेर कराएँ’ उनले भने, ‘किनभने मिस्त्रीहरू आउने गर्थे । फेरि सर्टर पनि रिमोटवाला छ । रिमोटवाला हत्तपत्त खुल्दैन । को हँ, भनेपछि तल भएका दुईजना पनि माथि चढिहाले । घाँटी समातेर मलाई तलतिर लगे । म कराएको थाहा पाएपछि श्रीमती र छोरी पनि आइहाले । त्यो थाहा पाएर छोरा पनि माथिबाट आइहाल्यो अनि उनीहरू भागे ।’ छोरा आएपश्चात् उनीहरूले हाते पेस्तोल देखाएर पछाडि सर्दै भागेको पीडित मास्केले बताए ।
‘मैले को हँ भनेपछि मलाई घाँटीमा समातेर चक्कु देखाइहाले’–उनले भने । सोही कारण मास्केको गाला तथा घाँटीमा सामान्य चोट पनि लागेको छ । मास्केले विभिन्न प्रयोजनका लागि घरको भित्रपट्टि नयाँ घर निर्माण गरिरहेको स्थानको भेन्टिलेसनबाट उनीहरू भित्र प्रवेश गरेको देखिन्छ । हाल निर्माणाधीन अवस्थामा रहेको घरको दुईवटा भेन्टिलेसन फोडेर उनीहरू भागेको उनका छोराले बताए ।
‘ममी कराउन थाल्नुभाथ्यो । मैले चाहिँ ढङ्ढङ गरेको सुनेको थिएँ । तल आएँ, तपाईंहरू को हुनुहुन्छ भन्दा गन देखाएर पछाडि सर्दै सर्दै भागे’ छोरा विशाल मास्केले भने, ‘मैले चाहिँ गन नै देखेँ ।’ घटनामा संलग्नमध्ये दुईजना ६ बजेर २४ मिनेटमा रत्नरोडको पूर्वतर्फबाट महेन्द्रपथतिर कुद्दै आएको सिसिटिभी फुटेजमा देखिन्छ र उनीहरूले घटनास्थल नजिकै पार्किङ गरेर राखेको बजाज कम्पनीको २०० सीसीको एनएस मोटरसाइकलमा चढेर पूर्वतर्फ भागेको देखिन्छ । उक्त बाइकको नम्बर भने मोटरसाइकलको बत्तीका कारण देखिँदैन । मोटरसाइकल रत्नरोडबाट पालिका तरकारी बजारतर्फ गएको देखिन्छ । घटनामा संलग्न अर्का एक जना भने उक्त रोडमा देखिएको पाइँदैन ।
पीडितहरूले घटनापश्चात् तत्कालै वडा प्रहरी कार्यालयमा मौखिक जाहेरी दिएको बताए । उजुरीपश्चात् प्रहरीले आएर जाँच पड्ताल गरेको छ । त्यसपश्चात् सिसीटिभी फुटेजका आधारमा पुनः इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको पीडित मास्केले बताए । उनीहरू लुटपाटको उद्देश्यले आएका हुन् वा अपहरण गर्ने उद्देश्यले आएका हुन् भन्ने विषयमा खुल्न सकेको छैन । मास्केको परिवारले पहिलेदेखि नै सुनचाँदी व्यवसाय गर्दै आइरहेको छ । यस घटनाबाट पीडित परिवार त्रसित बनेको छ । ‘दिनदहाडै मान्छेको अपहरण गर्न खोजियो’–छोरा विशालले भने । यस्ता घटनाबाट अरू पनि सचेत हुनका लागि उनले आग्रह गरे । घटनामा संलग्नहरू छिमेकी सरला कायस्थको घरको उत्तरतर्फको खाली भागबाट भेन्टिलेसन फुटाएर प्रवेश गरेको पीडित मास्केले बताए । भाग्ने बेलामा पनि सोही स्थान नै प्रयोग गरेको उनीहरूको भनाइ छ ।
यस विषयमा निवेदन परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसअघि पनि मास्केको घरअगाडि नै बेवारिसे अवस्थामा बम राखिएको उनका आफन्त गोपाल मास्केले बताए । ‘केही वर्षअगाडि दाजुको घर अगाडि नै बेवारिसे अवस्थामा राखिएको बम नेपाली सेनाको टोली आएर डिस्पोज गरेको थियो’ उनले भने, ‘यस्ता घटनाले व्यवसायीहरू आतङ्कित हुने भएकाले प्रहरीले उचित सुरक्षा दिनुपर्छ ।’ उनले घटनामा संलग्नहरूलाई चाँडै पक्राउ गरी सार्वजनिक गर्न माग गरे ।