धरान–२ रत्नरोडका पुराना सुन व्यवसायी टीकाराज मास्केलाई तीनजनाको अज्ञात समूहले अपहरणको शैली प्रयोग गरे । यो कार्यले धरानका व्यवसायीमा एक प्रकारको त्रासद स्थिति सिर्जना गरेको छ । बिहानीको समयमा भएको यस्तो हर्कतले मास्केको परिवारलाई मात्रै त्रास सिर्जना गरेको छैन । यसले समग्र धरानका व्यवसायीमाथि नै त्रास सिर्जना गरेको छ । व्यवसायीहरू असुरक्षित हुने स्थिति आउनु राज्यका लागि शुभ होइन । व्यवसायी मास्केका अनुसार ती युवाहरू कुन उद्देश्य र प्रयोजनका लागि आएका थिए भन्ने खुल्न सकेको छैन । तर, उनीहरू लुटपाट गर्न आएका थिए भने घरमाथि किन आए ? जब आफूलाई देख्ने बित्तिकै किन झम्टिए ? यस्ता अनेकन प्रश्नले उनलाई पिरोलेको छ । कुनै कालखण्ड थियो, व्यापारी–व्यवसायीहरू अधिकतर चिन्तामा हुन्थे । कहिले अपहरणमा पर्ने हुन् वा मारिने हुन् भन्ने डर र चिन्ताले उनीहरूलाई खाइरहन्थ्यो । तर, आज स्थिति फरक छ र पनि व्यवसायी सुरक्षित हुने वातावरण छैन ।

हाम्रो समाज तथा हाम्रा समाजलाई अगुवाइ गर्ने युवा शक्तिहरूले किन गलत बाटो रोजिरहेका छन् । किन छोटो मार्गबाट पैसा तथा धनसम्पत्ति आर्जन गर्न चाहन्छन् ? यसका पछाडि हाम्रो सामाजिक संरचना नै गलत हो वा त्यो संरचना निर्माण गर्ने निर्माणकर्ताहरू गलत हुन् ? यसको जवाफ खोज्ने बेला भएको छ । यहाँ व्यवसायीको असुरक्षाको विषय मात्रै होइन, यहाँ त सामाजिक संरचनामाथि नै प्रश्न उठ्ने स्थिति बन्दै गएको छ । अहिले हरेक मानिस ‘सर्टकर्ट’ प्रयोग गर्न चाहिरहेको छ । यस्तो किन भइरहेको छ ? यसमा को दोषी छ ? समाज यस्तो बन्नुमा दोषी को हो ? यसको उत्तर खोज्नुपर्ने जिम्मेवारी सबैमा आएको छ । एउटा व्यवसायीमाथि हुन लागेको अपराध तत्कालका लागि ट¥यो होला । तर, यस्ता गलत हर्कतहरू हाम्रा समाजमा नभएका हुन् त ? पक्कै पनि होइनन् । त्यसैले अब समाजलाई सत्मार्गमा हिँडाउने जिम्मेवारी सबैको काँधमा आएको छ । हरेक मानिस नैतिक र चरित्रवान् हुन आवश्यक देखिएको छ । नैतिकताको खडेरीलाई अन्त्य गर्न जरुरी हुँदै छ । हामीले हाम्रा छोराछोरी तथा युवापुस्तालाई असल संस्कार सिकाउन जरुरी हुँदै गएको छ ।

समाजका अवयवहरूलाई जरैदेखि सुधार गर्नका लागि हरेक क्षेत्रमा सुधार आवश्यक छ । राजनीतिक, शिक्षा, स्वास्थ्य हरेक चिजमा सुधारको खाँचो छ । राजनीति भ्रष्ट भयो भने देश भ्रष्ट हुने रहेछ । असल शिक्षा तथा सदाचारी शिक्षाको अभावमा व्यक्ति भ्रष्ट हुने रहेछ । स्वास्थ्यलाई निःशुल्क नगर्दा त्यसबाट हुने परिणाम भयावह हुने रहेछ । यो हामीले हिजोदेखि हेर्दै आयौँ तर, परिवर्तन गर्ने जिम्मेवारी बोकेका राजनीतिक दल तथा नागरिक समाजहरूले अहिले पनि यसलाई प्रमुखताका साथ राखेको देखिँदैन । ‘मै खाउँ मै लाउँ’ प्रवृत्तिबाट गुज्रिँदै गएको हाम्रो समाज दिनानु दिन अपराधीकरणतर्फ अगाडि बढिरहेको छ । मास्के घटना त्यसको झिल्को मात्रै हो । यस्ता झिल्कोहरूको अन्त्य गर्न सबै इमानी हुन आवश्यक छ । सबैभन्दा बढी इमानी राजनीतिक दलहरू हुन आवश्यक छ । किनकि देशको मूल नीतिको बागडोर सम्हाल्ने राजनीतिक शक्ति जहिल्यै उच्च नैतिक आचरणबाट मार्गनिर्देशित हुनुपर्छ अनि मात्रै हामीले चाहेको समाज निर्माण गर्न सक्नेछौँ ।