प्रतिगमन र संविधानको रक्षाको लागि भन्दै पाँचदलीय गठबन्धन भएको थियो र त्यो नेकपा (एमाले) का विरुद्धको गठबन्धन थियो यो गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने वचनबद्धता गठबन्धन सम्मिलित दलहरूले प्रकट गरेका थिए । निर्वाचनपछि सरकार निर्माणको क्रममा विशेषतः प्रधानमन्त्री को सवालमा गठबन्धनभित्र मतान्तर देखिन थाल्यो । प्रचण्ड प्रधानमन्त्री नभई नछोड्ने र देउवा पनि प्रधानमन्त्री विना बस्नै नसक्ने ।

माओवादी दल अबको पालो हाम्रो भन्ने, काङ्ग्रेस भन्ने हामी ठूलो दल । यी दुवैको हठले गठबन्धन भङ्ग हुन पुग्यो । गठबन्धनमा सहभागी दलले गठबन्धनभित्रका दलको भावना, मान र मर्यादा बुझ्नु पर्छ र त्यो राख्न सक्नुपर्छ । त्यसको नितान्त अभाव देखियो । 

गठबन्धन टुट्न काङ्ग्रेस र माओवादी कुन दोषी हुन् भन्नुभन्दा पनि यी दुई दलभित्र दुवैको इमान्दारिता देखिएन । जुन अवधारणा र विचारबाट प्रेरित भएर गठबन्धन गरिएको थियो, त्यसमा आबद्ध हुन सकेनन् । एकीकृत नेकपा हुँदा प्रधानमन्त्रीकै लागि पार्टी विग्रह गरेका प्रचण्डले अहिले पनि प्रधानमन्त्रीकै लागि गठबन्धन भङ्ग गरेका छन्, यो उनको पद लिप्सा हो ।

काङ्ग्रेसभित्र पनि रूपान्तरण/पुस्तान्तरण को मुद्धा उठिरहेकै अवस्थामा शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्रीको रूपमा स्वीकार्ने अवस्था काङ्ग्रेसभित्र देखिरहेको थिएन ! यो अवस्थालाई कार्यरूप दिन र क्रियाशील गराउन संस्थापन इतर त जागरुक नै थिए । देउवाका सहयोगी र काङ्ग्रेसीजनहरू नै सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री पनि राष्ट्रपति पनि काङ्ग्रेसकै’ भन्ने समाचारहरूले पद र कुर्सीका लोभी पद लिप्सामा मोहित भएका देउवालाई प्रधानमन्त्री मै हुन्छु भन्ने मनोवैज्ञानिक बल मिलिरहेकै थियो र यो भावना र विचारबाट पूरै प्रभावित भएर लागे ।

त्यति लामो समय पार्टी सभापति भएका र पटक–पटक प्रधानमन्त्रीसमेत भएका देउवा नेपाली राजनीतिक कुशल खेलाडीका रूपमा चिनिएका बुझिएका देउवाले काङ्ग्रेसभित्रको राजनीति बुझ्नमात्र सकेनन् कि प्रचण्डको रणनीति समेतबाट अनभिज्ञ रहनु आश्चर्यलाग्दो छ । उनको पद लिप्सा, उनको अदूरदर्शिता, दम्भ र हठ अरू चरम् बन्न पुग्यो र उनको बुद्धि र विवेकमा बिर्को लाग्यो । अनि यही मूल कारण बन्यो गठबन्धन भङ्ग हुने ।

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र एक यस्ता नेता देखिए जो ‘प्रधानमन्त्री छोडेर राष्ट्रपतिमा सहमति गरेर भए पनि गठबन्धन जोगाउँ’ भन्थे र अहिले सबै काङ्ग्रेसका मुखमा यही कुरा उठ्दैछ र सम्पूर्ण दोष देउवामा थोपर्दैछन् । उनको दम्भ र हठ हो भनिँदै छ साथै यो सत्य र यथार्थ पनि हो । देउवाका वरिपरि रहेका देउवाका टिम र संस्थापन इतर भनिएकाहरूले पनि रामचन्द्र पौडेलको जस्तो सल्लाह र विचार किन देउवालाई दिन सकेनन्, किन सामाजिक सञ्जालमा पौडेलले राखेजस्तो स्टाटस राख्न सकेनन् । सुकरातको यौटा कुरा याद आयो– ‘हे भगवान्, मलाई मित्रहरूदेखि बचाउनुस् शत्रुहरूदेखि डर छैन ।’ अन्ततः देउवा मा यस्तै भयो ।

जे होस्, अब बस्ने भनिएको काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा यसको जवाफ मागिने नै छ भनिएको छ र यस विषयमा निर्मम समीक्षासमेत गरिन्छ भनिदैछ । यसमा संसदीय दलको नेताबाट राजीनामा माग्ने कुरा पनि आएको छ तर, संसदीय दल र केन्द्रीय समितिसमेतमा मजबुत रहेका देउवाप्रति काङ्ग्रेस असन्तुष्टहरू कति भारी देखिन्छन्, त्यो हेर्न बाँकी छ ।

सर्तै सर्तको घेरामा प्रचण्ड
चिडियाखानाको शेर

प्रचण्ड त प्रधानमन्त्री त भए । सात दलीय गठबन्धनका प्रधानमन्त्री । झट्ट हेर्दा र सुन्दा बलिया  प्रधानमन्त्री । अब प्रचण्डको नेतृत्वको सरकारले जे पनि गर्न सक्ने उनको लागि अब कुनै पनि निर्णय गर्न सक्षम । तर, यथार्थमा अहिलेका प्रधानमन्त्री माथि भनिएको अवस्थामा भने छैनन् ।

काङ्ग्रेससँग प्रधानमन्त्रीकैलागि गठबन्धन भङ्ग गरेर प्रधानमन्त्री बनेका प्रचण्ड पुनः सात दलीय गठबन्धनको बन्धनमा मात्र परेका छैनन्, ती गठबन्धन दलको आ–आफ्नो सर्तको बन्धनभित्र पनि छन् र ती सर्त यस्ता छन् कि आफूलाई गणतन्त्रको अवधारणा र सङ्घीयता भिœयाउने प्रणेताकै रूपमा उभ्याउने प्रचण्डका लागि निक्कै अनुत्पादक र प्रतिगामी कदमसमेत हुन जान्छ । प्रतिगमन नै भयो भनेर तत्कालीन नेकपा (एमाले) सँग विग्रह गरेर आफ्नो मातृपार्टीमा अहिले पुनः आएका छन् प्रचण्ड ।

प्रतिगामी भनेर चिनिएकै पार्टी र सङ्घीयताका विपक्षमा रहेका अन्य दलहरू सम्मिलित सरकारको नेतृत्व लिन पुगेका प्रचण्डलाई ती दलहरूको सर्त उनको इतिहासमा अर्को परिचय बन्न सक्दछ र त्यो यस कारणले हो कि प्रधानमन्त्री बन्नैका लागि भइरहेको गठबन्धन भत्काएर अर्को गठबन्धन गरी प्रधानमन्त्री बनेका प्रचण्ड ती सबै सर्तहरू निःसर्त स्वीकार्दै जाने उनको राजनीतिक चरित्र होला भन्न सकिन्छ तर, उनको परिचय प्रतिगामी नबनोस् । यो यस कारणले पनि हुनसक्छ कि अहिलेको राजनीतिमा शेरको रूपमा चिनिएका र परिचय बनाएका प्रचण्ड सातदलीय गठबन्धन र तिनीहरूको सर्तले त्यो ‘चिडियाखानाको शेर’ हुनसक्छ । मुखबाट गर्जन  र हुङ्कार मात्रै हुने उनको पञ्जाले पनि केही गर्न नसक्ने अवस्थामा पुग्नेछन् । शेर त हो तर, चिडियाखानाको शेर चिडियाखानामा घुम्न आउने केटाकेटी र दर्शकको रमाइलो र आनन्दका लागि मात्र बस् त्यति मात्र ।