पाँचथर । प्रसूतिपश्चात् आउन सक्ने सम्भावित जोखिमलाई ख्याल नगर्दा पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. २ की १९ वर्षीया सुत्केरीको ज्यान गएको पाइएको छ ।
सुत्केरी व्यथाले च्यापेपछि कुम्मायक–२ माङ्जाबुङकी १९ वर्षीया मनिषा आचार्यलाई गत बुधबार बिहान ९ बजे स्थानीय स्वास्थ्य चौकीमा प्रसूतिका लागि पुर्याइएको थियो । स्वास्थ्यकर्मीहरूका अनुसार उनले बिहान ११ः५५ बजे सामान्य अवस्थामै छोरा जन्माएकी थिइन् ।
प्रसूतिपश्चात् केही समय आचार्यको स्वास्थ्य अवस्था सामान्य रहे पनि केही क्षणपछि रक्तश्राव सुरु भएको थियो । रक्तश्राव रोक्ने प्रयास गरेका स्वास्थ्यकर्मीले उनको उमेर, तौल, रक्तचाप र शारीरिक अवस्थालगायत कारण आउनसक्ने जोखिमलाई ध्यान नदिँदा सोही दिन उनको ज्यान गएको हो ।
माङ्जाबुङ स्वास्थ्य चौकीका इन्चार्ज सचिन्द्र मेहताका अनुसार प्रसूति भएको केही समयपछि आचार्यमा रक्तश्रावको समस्या देखिएको थियो । स्वास्थ्यकर्मीले औषधि दिई रक्तश्राव रोक्ने प्रयास गरेका थिए । यद्यपि आचार्यमा देखिएको रक्तश्रावको समस्या हल भए–नभएको विषयमा स्वास्थ्यकर्मी र मृतकका आफन्तजन तथा स्थानीयवासीका धारणा बाझिएका छन् ।
स्वास्थ्यकर्मीले दिउँसो करिब ३ बजे जाउलो र दाल खाएपछि सुत्केरी बेहोस भएको बताएका छन् । यता मृतकका आफन्तजन र स्थानीयवासीले भने रक्तश्रावको समस्या निको नभएको र स्वास्थ्यकर्मीले समयमै सुविधासम्पन्न अस्पताल नपठाउँदा सुत्केरीको ज्यान गएको बताएका छन् ।
मृतकका दाजु मदन आचार्य पोष्टमार्टम रिपोर्टमा आन्तरिक रक्तश्राव र कम रक्तचापका कारण बिरामीको निधन भएको देखिएकाले स्वास्थ्यकर्मीको लापरबाहीका कारण आफ्नी बहिनीको ज्यान गएको बताउँछन् । ‘कम से कम स्वास्थ्यकर्मीले आन्तरिक रक्तश्राव, प्रेसर र बिरामीको अवस्थाबारे जान्नुपर्ने हो’ आचार्यले भने, ‘हामीलाई साढे ४ बजेमात्रै बिरामीको अवस्था कमजोर भएकाले बाहिर लैजान भनियो ।’ प्रसूतिपछि कम रक्तचापका कारण बिरामी उठ्न नसक्ने अवस्थामा पुग्दासमेत स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल पठाउनतर्फ ध्यान नदिई स्वास्थ्य चौकीमै राखेको परिवारको गुनासो छ ।
स्वास्थ्यकर्मीले बिरामीको अवस्थालाई ख्याल गरेर समयमै बाहिर लैजान भनेको भए समयमै जिल्ला अस्पताल पु¥याउन सक्ने मृतकका दाजु मदनको भनाइ छ । मृतकका परिवारले स्वास्थ्यकर्मीले जोखिमलाई ख्याल नगरेको र बिरामीको अवस्थाबारे लापरबाही गरेकाले छानबिन हुनुपर्ने माग गरेका छन् । ‘अहिले मेरी बहिनीको मात्रै ज्यान गएको हो । यस्तै गम्भीर लापरबाहीले भोलिका दिनमा अरूको ज्यान नजाओस् भन्ने मात्रै मेरो कुरा हो’–मदनले भने । माङ्जाबुङको चौथी बजारकी रेनुका खड्काका अनुसार अत्यधिक रक्तश्राव भएपछि समयमा जिल्ला अस्पताल नपठाउँदा सुत्केरीको अवस्था कमजोर बनेको थियो । ‘अलि चाँडो भएको भए बिरामीको ज्यान बच्न सक्थ्यो’–उनले भनिन् ।
स्वास्थ्यकर्मी भने बिरामीको अवस्था जटिल बनेपछि आफूहरूले बाहिर लैजानू भनेको बताउँछन् । ‘४ बजेतिर बिरामी एक्कासि बेहोस भएपछि हामीले बाहिर लैजानू भनेका हौं । क्रिटिकल अवस्था छ भनेका थियौं’–स्वास्थ्य चौकीका इन्चार्ज मेहताले भने ।
मृतकका जेठाजु नेत्रप्रसाद गड्तौला भने रक्तश्रावपछि तीन घण्टाभन्दा बढी समयसम्म पनि स्वास्थ्य चौकीले बाहिर नपठाउँदा बुहारीको ज्यान गएको बताउँछन् । ‘भनेजस्तो उपचार गर्न नपाई बुहारीको निधन हुँदा मलाई साह्रै दुःख लागेको छ’ गड्तौलाले भने, ‘बिरामीसँग रहेका आफन्तले तपाईंहरूले सक्नुहुन्न भने बाहिर पठाइदिनू भन्दासमेत दिनभरि राखेर साँझ परेपछि जिल्ला पठाउने काम भयो । तत्कालै गाडी व्यवस्था गरेर जिल्ला लगे पनि बाटैमा बुहारी बितिन् ।’ उपचार असम्भव भएपछि मात्रै स्वास्थ्यकर्मीले बिरामीलाई रेफर गरेको र पर्याप्त ध्यान नदिएको गुनासो जेठाजु गड्तौलाको छ ।
अर्कोतिर सुत्केरीलाई उपचारका लागि सदरमुकामसम्म लैजान एम्बुलेन्ससमेत नहुँदा ट्याक्सीमा हालेर लगिएको थियो । बेहोस भइसकेकी सुत्केरीलाई ट्याक्सीको सिटमा अड्याएर फिदिमस्थित जिल्ला अस्पताल पुर्याइएको भए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनापछि कुम्मायक गाउँपालिकाका जनप्रतिनिधिहरूले स्थलगत रूपमा घटनाको विवरणबारे जानकारी लिएका छन् । यस क्रममा स्वास्थ्यकर्मीले जोखिमलाई ख्याल नगरेको तथा सुत्केरीको अवस्थाबारे जानकारी गराई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् हेलिकप्टरका माध्यमबाट सुत्केरीलाई सुविधासम्पन्न अस्पताल पुर्याउनबाट बञ्चित गरेको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताए । मनिषाले जन्माएका नाबालकको अवस्था भने सामान्य रहेको परिवारजनले जनाएका छन् ।