भद्रपुर । त्रिभूवन विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण २ सय १४ जना विद्यार्थी अन्यौलमा परेका छन् ।
झापाको दमक बहुमुखी क्याम्पसमा गतवर्ष नै विश्वविद्यालयले ती विद्यार्थीको बिबिएस चौथो वर्षको परीक्षा लिएको थियो । तर, ती विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएपछि बाध्य भएर आइतबार केही विद्यार्थीले मात्र पुनः परीक्षा दिनुपरेपछि उनीहरूमा अन्यौलता छाएको हो ।
यस्तो लापरबाहीले आफूहरूको भविष्य नै अन्योल भएको उनीहरूले गुनासो गरेका छन् । परीक्षा सकिएको एक वर्ष बितिसके पनि नतिजा प्रकाशन गर्नुुको सट्टा क्याम्पसले पुनः परीक्षा लिएको उनीहरूले बताए ।
नतिजा प्रकाशन गर्ने यो समयमा परीक्षा नियन्त्रण कार्यालयले उत्तर पुस्तिका नै हराएको भनेर पुनः परीक्षा लिएको विद्यार्थी सुजता भण्डारीले बताइन् । एक वर्ष लगातार मेहनत गरेर परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खेर बसेको समयमा एका–एक पुनः परीक्षा दिनुपरेपछि भविष्य नै अन्यौल भएको उनले जनाइन् ।
दमक बहुमुखी क्याम्पसमा अहिले बिदा दिइएको छ । तर, पुस २४ गते आइतबार भने केही विद्यार्थीहरू पुनः परीक्षा दिन क्याम्पस पुगेको उनले सुनाइन् । यो समय कुनै परीक्षा हुने तालिकाको समय पनि हैन । क्याम्पसले ३ दिनअघि अचानक सूचना निकालेर परीक्षाको तालिका सार्वजनिक गरेकोमा उनले आपत्ति जनाइन् ।
गतवर्ष पुष २७ गते क्याम्पसका २ सय १४ जना विद्यार्थीले बिबिएस चौथो वर्षको बिजनेस रिसर्च विषयको परीक्षा दिएका थिए । तर, ती विद्यार्थीहरूको उत्तर पुस्तिका अहिले परीक्षा नियन्त्रण कार्यालयमा छैन । विद्यार्थीहरूको उत्तर पुस्तिका नै गायब भएपछि बाध्य भएर पुनः परीक्षा दिन भन्दै केही विद्यार्थीहरू क्याम्पस पुगेका हुन् ।
गतवर्ष नै परीक्षा दिएर आफ्नो भविष्यको खोजी गर्दै विद्यार्थीहरू विभिन्न ठाउँमा पुगिसकेका थिए । कोही त अझ वैदेशिक रोजगार वा विदेश अध्ययनका लागि पनि गइसकेका छन् । अघिल्लो वर्ष एक वर्ष तयारी गरेर विद्यार्थीहरूले परीक्षा दिएका थिए ।
तर, अहिले तीन दिनअघि पुनः परीक्षा दिनुपर्यो भन्दै क्याम्पसबाट एसएमएस आएपछि विभिन्न ठाउँमा छरिएका विद्यार्थीहरू बाध्य भएर पुनः आउनु परेको अर्का विद्यार्थी आशिष घिमिरेले बताए । तीन दिन तयारी गर्ने समयसमेत कम भएकोले परीक्षा पहिलाको जस्तो नहुने र यस्तो गतिविधिले गर्दा आफूहरूको भविष्य नै अन्यौल पो हुने हो कि भन्ने चिन्ता विद्यार्थीमा बढ्न थालेको उनले बताए । यो खेदजनक भएको उनले जनाए ।
उत्तर पुस्तिकाजस्तो संवेदनशील विषयमा त्रिभूवन विश्वविद्यालय तथा परीक्षा नियन्त्रण कार्यालयको हदैसम्मको लापरबाही भएको उनले आरोप लगाए । यसको छानबिन गरी कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ । नेविसङ्घ र अनेरास्ववियुले आइतबार क्याम्पसमा विरोध कार्यक्रमसमेत गरेका थिए ।
अघिल्लो वर्ष देशभर एकै साथ सञ्चालन भएको परीक्षा र यसमा कुनै एउटा मात्रै क्याम्पसको सबै उत्तर पुस्तिका गायब हुनु शङ्कास्पद देखिएको उनीहरूको भनाइ छ ।
दमक बहुमुखी क्याम्पसको प्रशासनले त्रिभूवन विश्वविद्यालयले उत्तर पुस्तिका जाँच्न लगेका प्राध्यापक दुर्घटनामा परेको र ती प्राध्यापक अहिले पनि अस्पतालमै भएकोले पुनः परीक्षा गराउनुपर्ने बाध्यता परेको क्याम्पस प्रमुख प्रा.डा. नेत्र बुढाथोकीले बताए । प्राध्यापकले बोकेको सामानसमेत नभेटिएका कारण पुनः परीक्षा गराउन पाउने प्रावधानलाई आधार बनाएर पुनः परीक्षा लिइएको जवाफ त्रिविबाट आएको उनले जनाए ।