प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक रूपमा विश्वासको मत पाएका छन् । संसद्मा उपस्थित २ सय ७० सांसद्मध्ये प्रधानमन्त्री दाहाललाई २ सय ६८ ले विश्वासको मत दिए भने दुई जना सांसद्ले मात्र विपक्षमा मत दिए । पुस १० गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सात दल र तीन स्वतन्त्र सांसद्सहित जम्मा १ सय ६९ सांसद्को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहालले संसद्मा सहभागी १२ दलमध्ये १० दलका २ सय ६८ सांसद्को विश्वासको मत पाएसँगै चुनाव लडेको काङ्ग्रेससहितको गठबन्धनलाई धोका दिएर एमालेसँग मिली सरकार बनाएका दाहाललाई काङ्ग्रेसले समेत विश्वासको मत दिएपछि राजनीतिक वृत्तमा अनौठो घटनाका रूपमा हेरिएको छ । प्रमुख प्रतिपक्ष ठानिएको काङ्ग्रेसले नै विश्वासको मत दिएपछि संसद् प्रतिपक्षविहीन बनेको टिप्पणी पनि भइरहेको छ । संसद्को ९९ प्रतिशतभन्दा बढी मत पाएका प्रधानमन्त्री दाहालका लागि देश विकास गर्ने यो ऐतिहासिक अवसर पनि हो ।

२०५२ सालमा भूमिगत भएर आम नागरिकका सवाल उठाउँदै सशस्त्र युद्ध थालेका दाहालप्रति धेरै सर्वसाधारणले ठूला अपेक्षा गरेका थिए । एक दशक लामो सशस्त्र हिंसात्मक गतिविधि छाडेर उनी शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेपछि आम नागरिकले दाहाल र उनको पार्टीबाट देशको कायापलट हुने अपेक्षा गरेका थिए । त्यही अपेक्षा स्वरूप मतदाताले माओवादीलाई चुनावमार्फत् पहिलो शक्ति बनाएर सत्तामा पु¥याए । दाहाल स्वयम् प्रधानमन्त्री बनेर सत्ता चलाएपछि उनले युद्धका बेला र भुमिगतकालमा दिएका आश्वासन पूरा गर्न सकेनन् । भूमिगत हुनुअघि सरकारलाई बुझाएका ४० बुँदे माग दाहाल र उनकै पार्टीबाट बाबुराम भट्टराई सरकारको नेतृत्वमा पुग्दा पनि पूरा भएनन् । उल्टै माओवादी नेताहरूको जीवनशैली परिवर्तन भयो तर, ज्यानको पर्वाह नगरी उनीहरूलाई सहयोग र समर्थन गर्ने आमनागरिकको जीवनशैलीमा अन्तर आउन सकेन । विस्तारै असन्तुष्टि बढ्दै गयो । दाहाल स्वयम्को आवेगको कामले सत्तामा टिकिरहन मुस्किल प¥यो । त्यसपछिका चुनावमा मतदाताले उनलाई सजायस्वरूप तेस्रो, चौथो शक्तिमा पुर्याए । तर, माओवादीका नेताहरूमा परिवर्तन आएन । त्यसपछि मतदाताले उनीहरूसँग १७ हजार नागरिकको बलिदानीको अर्थ खोज्न थाले ।

आशा गरिएको माओवादी पुरानै दलहरूजस्तै सुविधाभोगी बन्न थालेपछि मतदाताले उसलाईभन्दा पुनः पुरानै दलहरूलाई मत दिन थाले । उनीहरूबाट पनि देश विकास हुने छाँट नदेखेपछि नयाँदलहरू यस पटकको निर्वाचनबाट उदाए । सायद यही कुरा आत्मबोध भएर हुन सक्छ, प्रधानमन्त्री दाहालमा सुरुदेखि नै परिवर्तनका चिन्ह देखिएका थिए । उनले दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको सपथ लिएको विषयमा धेरै टिकाटिप्पणी भए तर, यथार्थमा यो उनको आफ्नो व्यक्तित्वसँगै आगामी राजनीतिक जीवन परिवर्तनको सङ्केत थियो । उनले प्रधानमन्त्री नियुक्त भएलगत्तै ल्याएका योजना विगतभन्दा विल्कुल फरक छन् । आम नागरिकको हितलाई केन्द्रमा राख्ने उनका योजना र कामको शैलीले उनमा देशका लागि केही गर्नुपर्ने आत्मबोध भएको छनक पाइन्छ । यद्यपि यो छनक कति समय टिक्ने हो हेर्न बाँकी छ । यदि सुरुवालमा जसरी नै उनी अगाडि बढिरहने हो र विश्वासको मत जसरी नै अन्य दलको साथ सहयोग पाइरहने हो भने देशले विकासको फड्को मार्न सक्छ । फेरि पनि विगतमा जस्तै सत्ता स्वार्थको खेलमा प्रधानमन्त्री दाहाल र अन्य दलका नेताहरू लाग्ने हो भने उनीहरू सबैलाई आगामी दिनमा राजनीतिमा टिकिरहन मुस्किल छ । यसर्थ अहिले पाएको विश्वासको मतलाई आम नागरिकको समेत विश्वासका रूपमा लिएर प्रधानमन्त्री दाहालले अधिकतम् समय देश र आम नागरिकको हितमा लगाउनु जरुरी छ । विश्वासको मतलाई अवसरका रूपमा लिएर अघि बढे उनले विगतका आरोप मेटाउँदै सुन्दर इतिहास बनाउन सक्छन् । त्यसैले यो अवसरलाई देश विकासका लागि अधिकतम् सदुपयोग गर्नु आवश्यक छ ।