बिर्तामोड । झापाको कन्काई हस्पिटलले घुँडामा ट्युमर पलाएर झण्डै २ वर्षदेखि थलिएका झापा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार गणेशको निःशुल्क शल्यक्रिया गरेको छ । अति विपन्न परिवारका गणेशको हस्पिटलले निःशुल्क उपचार गरेको हो ।
हिँडडुल गर्न नसक्ने गणेशलाई सोही ठाउँका काजी राउतको पहलमा हस्पिटलमा उपचार भएको हो । राउतको समूहले ‘राजकुमार गणेश बचाउ अभियान’ सुरु गरेर जम्मा गरेको रकम शल्यक्रियाबाहेक अरू उपचारमा खर्च गरिएको बताए ।
अभियान सुरु गरेका राउतले हस्पिटलमा अनुरोध गरेपछि निःशुल्क शल्यक्रिया भएको हो । अर्थाेपेडिक्स सर्जन प्रेमबहादुर शाही नेतृत्वको टिमले जटिल मानिने यो शल्यक्रिया गर्न सफल भएको हस्पिटलका प्रबन्ध निर्देशक युवराज डाँगीले जानकारी दिए ।
हस्पिटलले गरेको पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक शाहीले फेरि नबल्झिने गरी ट्युमर निकाल्न सफल भएको बताए । उनले अबको ६ हप्तापछि पुनः घुँडाको पाङ्ग्रामा अन्य स्थानको हड्डी ल्याएर फिक्स गरिने जानकारी दिए । मेडिकलको भाषामा यस खालको उपचारलाई ‘साल्वेज सर्जरी’ भनिने समेत शाहीले बताए ।
‘हामीले अभियान चलाएको ७–८ महिनासम्म पनि उपचार नपाउँदा दुःख लागेको थियो, पर्याप्त रकम सङ्कलन नभएपछि हस्पिटललाई नै निःशुल्क उपचार गरिदिन अनुरोध गर्दै हिँड्यौं, गणेशको उपचारका लागि सुरु गरिएको अभियानमा संलग्न अर्का एकजना सुवास डाँगीले भने, ‘हाम्रो कुरा कन्काई हस्पिटलले सुनिदियो र आज उपचार सफल भयो ।’
गणेशको उपचारका लागि देश बिदेशबाट २ लाख रुपैयाँ सङ्कलन भएको राउतले जानकारी दिए । ‘हामीले सामाजिक सञ्जाल तथा पत्रपत्रिकाबाट सहयोग सङ्कलनको विवरण र भएको खर्च सार्वजनिक गर्ने गरेका छौं’ उनले भने, ‘अझै अर्काे चरणको उपचारमा हुने खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।’