भद्रपुर । भद्रपुर नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको साडी प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली मङ्गलबार बेलुका साढे ७ बजे भद्रपुर नगरपालिका–५ मेची किनारास्थित काँसघारीमा ल्याएर राखेको करिब ४० हजार मूल्य बराबरको साडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको साडीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । त्यस्तै अस्थायी प्रहरी पोष्ट र्इंटाभट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति नै मेचीनगर नगरपालिका–७ स्थित ईंटाभट्टा चोक चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ हजार मूल्य बराबरको किराना सामान बरामद गरेको छ ।
बरामद गरिएको सामानलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।