सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा एक हप्ताअगाडि मृत भेटिएका एकजना बालकको हत्या भएको खुलेको छ ।

कोसी गाउँपालिका वडा नम्बर २ स्थित आलु बारीमा मृत अवस्थामा भेटिएका स्थानीय १७ वर्षका रञ्जितकुमार यादवको हत्या भएको खुलेको हो ।

अघिल्लो बुधबार कोसी गाउँपालिका वडानम्बर २ स्थित आलु बारीमा मृत भेटिएका यादवको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिए ।

रञ्जितको हत्यामा संलग्न रहेको आरोपमा कोसी गाउँपालिका–२ बस्ने १६ वर्षका एक युवा रहेकोे उनले बताए । कानूनअनुसार उमेर नपुगेकाले पक्राउ परेका ती युवाको नाम खुलाउन नमिल्ने बताउँदै प्रवक्ता राईले यद्यपि म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रारम्भिक अनुसन्धानबाट रञ्जितको हत्यामा दुईजना संलग्न रहेको देखिएकोमा एकजना अझै फरार रहेकाले खोजीकार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

पैसा दिन नमान्दा हत्या
सुनसरीको कोसी गाउँपालिका वडानम्बर १ स्थित लौकही नाका हुँदै भारतीय बजारबाट सामान ल्याउने (क्यारिङ) को काम गर्थे मृतक रञ्जितकुमार यादव । उनले कहिले चिनी त कहिले खाद्य सामग्री बोक्ने काम गर्थे । स्थानीय एक व्यापारीका अनुसार उनले दिनको ६ सयदेखि १ हजार रुपैयाँ कमाउने गर्थे । कहिले चोरी त कहिले अन्य विभिन्न आरोपमा कतिपटक मृतक रञ्जित इलाका प्रहरी कार्यालय लौकहीको हिरासतमा बसेको ती व्यापारीले बताए ।

बिहान बेलुका क्यारिङमार्फत् अलि अलि पैसा जोहो गर्ने रञ्जित कहिलेकाहीँ भने घरेलु मदिरा सेवन गर्थे । पुस १९ गते मङ्गलबार पनि उनले एउटा मदिरा पसलमा घरेलु मदिरा सेवन गरिरहेको अवस्थामा रञ्जित बसेकै होटलमा अन्य दुईजना पनि मदिरा सेवन गर्न भित्र पसेका थिए । उनीहरू तीनैजनाले मदिरा सेवन गरेपछि सँगसँगै हिँडेका थिए ।

प्रहरीका अनुसार बाटोमा अन्य दुईजनाले एकान्तमा लगेर रञ्जितसँग भएको ६ हजार रुपैयाँ मागेका थिए । उनले पैसा दिन नमानेपछि कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

रञ्जितको मृत्यु भएपछि उनीसँग भएको पैसा लगेर शव माटो मुनि गाडेर ती दुवैजना घटनास्थलबाट फरार भएको सुनसरी प्रहरीले जनाएको छ । रञ्जितसँग भएको पैसा दिन नमानेपछि उनीसँगै मदिरा सेवन गरेका दुईजनाले आवेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।