धनकुटा । राष्ट्रियताको प्रवद्र्धन गर्न नेपाली जनताको साथ र एकता चाहिने बुधबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
३०१ औं राष्ट्रिय एकता दिवसको अवसरमा भीमदल गण सल्लेरी ब्यारेक धनकुटाले साँगुरीगढीमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्ने वक्ताहरूले त्यस्तो बताएका हुन् । उनीहरूले अत्याधुनिक हातहतियारको बलले नभै सर्वसाधारण नेपाली जनताको एकताको बलले देश बन्ने दाबी गरे ।
राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वी पृतना इटहरीका पृतनापति सहदेव खड्काले राष्ट्रिय एकतालाई शिरमा राखेर नेपाली सेनाले देश र जनताको सेवा गरिरहेको बताए । उनले नेपाली सेनाले देश र जनताप्रति समर्पित भएर काम गरेकै कारण राष्ट्रिय एकतालाई मजबुत पार्न सफल भएको दाबी गरे । नेपाली सेना देश विखण्डन हैन, राष्ट्रिय एकता चाहन्छ भन्दै पृतनापति खड्काले भने, ‘हामी राष्ट्रिय एकताको मूल मन्त्रलाई शिरमा राखेर काम गर्छौं ।’
उनले नेपाल सरकारको प्राथमिकतामा परेको पदमार्ग संरक्षणको कार्यक्रम जिम्मेवारीमा रहेको बताए । नेपाली सेनाले पूर्वी पृतना अन्तर्गतका विभिन्न गढीहरूको संरक्षण र सम्बद्र्धनको कार्यक्रमलाई पर्यटनसँग जोडेर काम गरिरहेको बताए । उनले विराटनगरस्थित विराटराजाको दरबार उत्खनन्, भोजपुरमा निशान मन्दिर स्थापना, धनकुटाको निशानमा ३ सय वर्ष पुरानो ढुङ्गेधारा पुनःस्थापना, सङ्खुवासभाको चैनपुरगढी, हेदाङ्ना गढी, भोजपुरको हतुवा गढी, उदयपुरको चौदण्डी गढी र धनकुटाको साँगुरीगढीको संरक्षणको विशेष कार्यक्रम बनाएर काम गरिरहेको बताए ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले नेपाली जनतालाई अनेकतामा एकता भएर बाँच्न प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरे ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले कार्यक्रममा बोल्दै भने, ‘हामीलाई पार्टी, जाति, धर्मले नफुटाओस्, अबको दिनमा हामी एक भएर अघि बढ्न सक्यौं भने देशको विकास अवश्य हुन्छ ।’
त्यसैगरी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी गाउँपालिकाले गढीको चौतर्फी विकासको लागि डिपिआर तयार पारिसकेकोले धरान उपमहानगरपालिका र नेपाली सेनासँग मिलेर प्रवद्र्धन गर्ने बताए । कार्यक्रमलाई धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भीमदल गणका गणपति सुमन थापालगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाले विजय प्राप्तगरेपछि देखाइने छलै नृत्य, बहुमुखी पाठशाला धनकुटाका कलाकारहरूले विभिन्न मौलिक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । साँगुरीगढीमा कार्यक्रम आयोजना गर्नुपूर्व धरानको फुस्रेदेखि साँगुरीगढीसम्म नेपाली सेनाको टोली, नागरिक समाज, सामाजिक सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू ५ किलोमिटर करिब ७ सयको सङ्ख्यामा पदयात्रामा सहभागी भएका थिए ।