विराटनगर । स्रोत नखुलेको ७ लाखभन्दा ९ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले स्रोत नखुलेको रकमसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो । 

को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई विराटनगर–७ बाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार शंकास्पद अवस्थामा भेटिएका साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको नगद फेला परेको हो । उनको साथबाट विभिन्न बैंकका १४ वटा एटीएम कार्ड र ९ थान चेक पनि फेला परेको श्रेष्ठले बताए । उनको साथबाट बिभिन्न बैंकको डिपोजिट ६२ लाख ११ हजार २३५ बराबरको भौचर १० थान, ६ लाख  बराबरको काटिएको चेक २ थान बरामद भएको बताए । 

पक्राउ परेका साहबाट बरामद भएको रकम हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । साहले उक्त रकमको स्रोत खुलाउन नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।