विराटनगर । नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान भएका छन् ।
अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका खात्ताब मोरङ अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले बिहीबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।
अदालतको आदेशपछि खत्ताब मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
खत्ताबका कार चालक विराटनगर १५ भट्टा टोल बस्ने २५ वर्षीय अजय भन्ने जय कुमार रामलाई १ लाख धरौटिमा छोडन अदालतले आदेश दिएको उनले बताए ।
विराटनगरका उद्योगपति अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्गको मुद्दा दर्ता भएको थियो ।
झन्डै एक महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले खत्ताबविरुद्धको प्रतिवेदन शुक्रवार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । मोरङ प्रहरीले सञ्चालक खत्ताबलाई विराटनगर १ बाट मङ्सिर २९ गते पक्राउ गरेको थियो ।
राठीको अपहरण आरोप लागेपछि र जाहेरी प्रहरीमा पुगेपछि खत्ताब दुई साता फरार भएका थिए। खत्ताब र राठी विराटनगरबाट सञ्चालित अनलाइन नेपाल टाइम्सका साझेदार हुन् । खत्ताबले अन्तर्वार्ताको बहाना बनाएर राठीलाई मङ्सिर १४ गते नेपाल टाइम्सको स्टुडिओमा लगेर शरीर बन्धक बनाई १५ लाख रुपैयाँ असुलेको आरोप छ ।
आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै विराटनगर ७ का ५६ वर्षीय राठीले प्रहरीमा जाहेरी दिएका थिए । खत्ताब विराटनगर ६ मा बस्दै आएका छन् । उनको घर सिरहा नगरपालिका ४ हो । विगत तीन वर्षदेखि राठीलाई खत्ताबले मिडियामा पार्टनर बनाएका थिए । उक्त मिडियामा राठीको २० प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर छ ।
अपहरणबाट मुक्त गर्दा खत्ताबले उजुरबाजुर गरे ज्यान मारिदिने धम्की दिएका थिए । स्टुडियोमा लगेर खत्ताबले राठीलाई तारले बाँधेर ‘क्यामराको ब्यागमा पेस्तोल रहेको र जिन्दगी एउटा गोली न हो’ भनी धम्की दिएर चेक कटाएको अभियोग पत्रमा उल्लेख छ ।