देउराली ।  बलात्कार आरोपीलाई छुटाइदिने भन्दै पैसाको बार्गेनिङ गरेको आरोप लागेकी धरान १४ की शान्ता खड्का पक्राउ परेकी छन् । 

पुर्पक्षका लागि थुनामा रहेका धरान १७ का एक व्यक्तिको परिवारसँग मुद्दा मिलाइदिने भन्दै बार्गेनिङ गरेको आरोप लागेकी खड्कालाई इलाका प्रहरी कार्यालय धरानको टोलीले  उनको निवासबाट पक्राउ गरेको कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताएका छन् ।  

पौष ७ गते उनिविरूद्ध इलाका प्रहरी कार्यालयबाट ठगी मुद्दा दायर भएपछि ८ गते पक्राउ पुर्जी जारी  भएको थियो । घटना बाहिरिएसँगै फरार रहेकी खड्का आज बिहान पक्राउ परेकी हुन् । 

खड्काले आफूलाई  महिला अधिकारकर्मी  बताउँदै महिला सञ्जालको नाम लिएर  पुर्पक्षका लागि थुनामा रहेका पिडक पक्षसँग १० लाखको बार्गेनिङ गरेको र ३ लाख लिएको बताइएको छ । खड्काले माग्न दैनिक जसो फोन गर्ने गरेको र सोही समयमा पिडक पुरुषकी श्रीमतीको समेत मृत्यु भएपछि   आफन्तजनले खड्का विरुद्ध प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।

खड्काको समेत संलग्नतामा  पुरुष बलात्कार आरोपमा थुनामा रहेको बताइएको छ ।  बार्गेनिङका क्रममा  महिला सञ्जाल का नाम समेत मुछिएकाले  महिला सञ्जाल धरानले पनि खडकालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।