विभिन्न चाडपर्व तथा परम्पराहरूको धनी देश नेपाल हो । नेपालमा मनाइने विभिन्न चाडपर्वहरूका आफ्नै विशेषता छन् । सबै चाडपर्वहरू उत्तिकै रमाइला छन् । यी चाडपर्वहरू विभिन्न समय र ऋतुमा पर्दछन् । तीमध्ये सबैलाई मन पर्ने चाडपर्व माघे सङ्क्रान्ति आज धुमधामका साथ मनाइँदै छ ।
ज्योतिष शास्त्रका अनुसार आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दैछ । त्यसैले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सूर्य कर्कट राशिमा प्रवेश गर्ने साउने सङ्क्रान्ति र मकर राशिमा प्रवेश गर्ने मकर सङ्क्रान्तिको निकै धार्मिक महŒव रहेको छ । यसैगरी आजैबाट सूर्यको उदय बिन्दु दक्षिणबाट उत्तरतर्फ सर्ने भएकोले सूर्य उत्तरायण हुने गर्दछ । आजको दिनमा पवित्र नदी, तलाउ, त्रिवेणी, सागरमा स्नान गरिने भएकोले यसलाई मकर स्नान पनि भनिन्छ । आजै वराहक्षेत्रमा ठूलो मेला लाग्दैछ । त्यहाँ तीर्थालुहरू मकर स्नान गर्दैछन् । शुद्ध मनले नुहाई वराह देवताको दर्शन गरेमा सम्पूर्ण पापहरू पखालिएर इच्छित फल पाइने विश्वास गरिन्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा उल्लेख भएअनुसार आजको दिन नुहाई धुवाई गरी शुद्ध मनले घ्यू, चाकु, वस्त्र, तिलको लड्डु, तरुल, सागपात, पानीको भाँडो र मकलसहित सिदा दान गरेमा पुण्य प्राप्त हुने तथा उपर्युक्त पदार्थहरू सेवन गरेमा आफ्नो शरीरलाई पोषिलो हुने र निरोगी भइनेछ ।
भौगोलिक दृष्टिकोणले नेपाललाई तीन क्षेत्रमा विभाजित गरिएको छ–हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्र । यी तीनै क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका नेपालीहरूले विविध नामसहित आजको दिनलाई आ–आफ्नो परम्परा र रीतिरिवाजअनुसार धुमधामका साथ मनाउँछन् । मगर समुदाय तथा किरात समुदायले आजको दिनलाई नयाँवर्षको रूपमा मनाउँछन् भने तराईका थारु समुदायले यसलाई माघी पर्वको रूपमा मनाउँछन् । त्यसैगरी उपत्यकालगायत नेपालका विभिन्न भू–भागमा बस्ने नेवारहरूले माघे सङ्क्रान्तिलाई ‘घ्य चाकु सँल्हु’ भनेर मनाउँछन् । तसर्थ माघे सङ्क्रान्तिलाई प्रायः सबै जातजातिका मानिसले मनाउने महŒवपूर्ण पर्वको रूपमा लिन सकिन्छ ।
आजबाट क्रमशः तापक्रम बढ्दै गर्मी सुरुवात हुने विश्वास गरिन्छ भने आजैबाट तिलको आकार जति दिन लम्बिँदै र रात छोट्टिँदै जाने विश्वास पनि रहेको पाइन्छ । आजको दिन आफू, आफ्नो घरपरिवार तथा बोलाइएका चेलीबेटीहरूसहित मीठा–मीठा परिकार खाने, खुवाउने गरिन्छ । यी परिकारका अलावा घ्यू, चाकु, वन तरुल, घर तरुल, तिलको लड्डु, सुठुनी, खिचडी, मासुका परिकार आदि विशेषरूपमा खाने गरिन्छ । यी परिकारहरू स्वादिष्ट त हुन्छन् नै । यसले शरीरमा पोषण बढाउँछ भने शरीरलाई स्फूर्ति दिई शक्ति प्रदान गर्दछ । आजको दिन मासमा पड्काएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीर स्वस्थ रहन्छ भन्ने विश्वास रहेको छ ।
आजको दिन विभिन्न स्थानमा मेलासमेत लाग्ने गर्दछ । नेपालको देवघाट, रिडी, पनौती, दोलाल घाट, माई बेनी, कन्काई आदि स्थानमा मेला लाग्छ भने भारतका प्रयाग तथा गङ्गा सागरमा पनि मकर स्नान गरी पूजाआजा गरेर दान, धर्म गर्नेहरूको भीड लाग्ने गर्दछ । महाभारतका अनुसार आजैका दिन भीष्मले आफ्नो मृत्यु रोजेका थिए भने भगिरथले यसै दिन गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले गङ्गा सागरमा गरिने स्नानलार्ई महास्नान भनिन्छ । आजको दिन भक्तपुरको तौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । त्यस्तै उपत्यका नजिकै रहेको पनौतीमा मकर मेला लाग्छ, जुन लिच्छवीकालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान रहेको पाइन्छ । यस मेलामा पनि श्रद्धालु भक्तजनहरूको घुइँचो हुने गर्दछ । त्यसैगरी नुवाकोटको तारुका गाउँमा माघ १ गते अर्थात् आज माघे सङ्क्रान्तिका दिनलाई धुमधामका साथ मनाउने गरिन्छ । यहाँ गोरु मेला लाग्दछ । गोरुहरूको जुधाइ गरेर मनाइने यस दिनको छुट्टै महŒव तथा विशेषता रहेको छ ।
तराईका मैथिलीहरूले यस पर्वलाई ‘तिला सङ्क्रान्ति’ पर्वको रूपमा मनाउने गर्दछन् । नुहाई धुवाई पूजापाठपछि परिवारका अग्रज वा आमाबुबाले आफ्ना सन्ततिलाई तिल र सख्खर खुवाई आफ्नो सेवा गर्ने वचन लिने गर्दछन् । उनीहरू आजको दिन खिचडी, तिल, चिउराको लड्डु तथा अन्य परिकार खाई मनाउने गर्दछन् ।
तराई क्षेत्रमा घनारूपमा बसोबास गर्ने तथा देशका विभिन्न भागमा छरिएर रहेका थारु समुदायले आजको दिनलाई माघी पर्वको रूपमा धुमधामका साथ मनाउँछन् । यो पर्व थारु समुदायका निमित्त मौलिकताले भरिएको आफ्नै विशेषता भएको सबैभन्दा ठूलो पर्व हो । उनीहरू माछामासु, ढिकरी (पिठोबाट बनाइने एक परिकार) तथा मन पर्ने पेय पदार्थ खाएर नाचगान गर्दै धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । यस अवसरमा गाइने गीतलाई ‘धमार’ भनिन्छ ।
यस समुदायमा मासको दाल र चामल मिसाई पकाइएको खाद्यान्न खिचडी (माघी) खाने प्रचलन पनि रहेको छ । खिचडी माघको दोस्रो दिन खाने गरिन्छ । यसलाई ‘खिचरहवा’ भनिन्छ । माइत आएका चेलीबेटीहरू माघी पर्व मनाइसकेपछि घर फर्कने बेलामा उपहार दिने चलन छ, जसलाई ‘निसराउ’ भनिन्छ ।
दैलेखलगायत नेपालका पश्चिमी जिल्लाहरूमा विशेष महत्वका साथ माघे सङ्क्रान्ति मनाउने गरिन्छ । त्यहाँ यसलाई ‘चेलीत्यार’ भनिन्छ । यसको अर्थ हो चेलीको तिहार । पुसको अन्तिम दिन तरुल खनेर ल्याई सेलरोटीलगायत विविध खानेकुरा पकाउने गरिन्छ । पकाइएका खानेकुरा पहिले कागका लागि छुट्याइन्छ ।
त्यसपछि घरका मूलीसहित परिवारका सदस्यहरूले सो खानेकुरा खान्छन् । राति पधँेरा वा पानीको मुहाननिर मूढा बाल्दछन् । गाउँका वृद्धवृद्धा, युवायुवती, बालबालिका भेला भएर देउडा गाउँदै, गाउँखाने कथा वा दन्त्यकथा भन्दै रात बिताउँछन् । भोलिपल्ट नुहाई धुवाई गरी कागलाई बोलाएर खानेकुरा दिन्छन् । यस दिन चेलीबेटीलाई कोसेलीका रूपमा सेलरोटी तथा तरुलको पोको बनाई दिने गर्दछन् । माइत आउन नसकेका चेलीबेटीलाई पनि यो पोका पु¥याइदिने गर्दछन् । कुनै चेलीबेटीले यो पोका सो दिन नपाएमा माघभित्र जसरी भए पनि फेरि पकाई तुल्याई पोका बनाई पु¥याउने चलन रहेको पाइन्छ ।
आफ्नो मौलिक पहिचान र छुट्टै विशेषता बोकेको यस माघे सङ्क्रान्तिमा सेवन गरिने विभिन्न खाद्यपदार्थहरूले शरीरलाई ऊर्जा दिई रोगबाट लड्ने शक्ति दिने कुरामा कुनै दुईमत छैन । यसरी विभिन्न जातिहरूले सिँगारिएको नेपालको विभिन्न भेगमा बस्ने नेपालीहरूले विविध किसिमले मनाउने आजको महŒवपूर्ण पर्व माघे सङ्क्रान्तिको अवसरमा सबैलाई शुभकामना ।