यात्राका हिसाबले विश्वमै हवाईजहाजको यात्रालाई सुरक्षित मान्ने गरिन्छ । नेपालमा भने बर्सेनिजसो भइरहेका हवाईजहाज दुर्घटनाले हवाई यात्रा असुरक्षित बनिरहेको देखिन्छ । हरेकपटक जहाज दुर्घटना हुँदा छानबिन समिति गठन हुने र प्रतिवेदन सार्वजनिक हुने गरे पनि प्रतिवेदनमा उल्लेखित सुधारका विषयमा न विमान कम्पनीहरूले ध्यान पु¥याएको पाइन्छ, न त नियामक निकाय र सरकारले नै । हवाई उडानमा संवेदनशीलता अपनाउन नसक्दा बर्सेनि धेरैले ज्यान गुमाइरहेका छन् । भयावह बनिरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बन्नु जरुरी छ । दुर्घटनाका बेला बिदा दिएर र पीडित परिवारलाई क्षतिपूर्ति दिएर मात्र समस्याको समाधान हुँदैन ।

नेपालमा हरेक वर्षजस्तो हवाईजहाज दुर्घटना हुने गरेको छ । पछिल्लो तीन दशकमा भएका हवाई दुर्घटनामा हालसम्म सयौंले ज्यान गुमाइसकेका छन् । आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ७२ जनाले ज्यान गुएका छन् । जसमा नेपाली नागरिक, पाँच भारतीय र अन्य विभिन्न देशका गरी १५ विदेशीले ज्यान गुमाए । यो दुर्घटना नेपालका आन्तरिक विमान दुर्घटनामध्ये मानवीय क्षतिका हिसाबले सबैभन्दा ठूलो हो । यसको आठ महिनाअघि मात्र गत जेठ १५ मा मुस्ताङको जोमसोममा तारा एयरको विमान दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । २०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एअरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

२०७४ फागुन २८ गते काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो। त्यसअघि २०७२ फागुन १२ गते तारा एयरको विमान म्याग्दीमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो भने २०७० फागुन ४ मा जोमसोम जाने क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। त्यस्तै २०६९ असोज १२ गते काठमाडौंमा सीता एयरको विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। २०६८ असोज ८ गते बुद्ध एयरको विमान दुर्घटनामा १९ जनाको ज्यान गएको थियो । २०६७ मङ्सिर २४ गते तारा एयरको विमान दुर्घटनामा २२ जनाको ज्यान गएको थियो। त्यस्तै २०६५ असोज २२ गते यती एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गुमेको थियो। हालसम्म नेपालमा सयभन्दा बढी हवाई दुर्घटनामा ८ सयभन्दा धेरैको ज्यान गइसकेको छ । हालसम्मका दुर्घटनामा सबैभन्दा बढी मानवीय क्षति सन् १९९२ मा भएको थियो । त्यसवर्ष पाकिस्तानको कराँचीबाट काठमाडौं आउँदै गरेको पाकिस्तान एयरलाइन्सको विमान काठमाडौं आइपुग्नुअघि नै दुर्घटना हुँदा १ सय ६७ जनाको ज्यान गएको थियो भने सोही वर्ष थाई एयरको विमान दुर्घटनामा ९९ जनाको ज्यान गएको थियो। नेपालमा भएका धेरैजसो दुर्घटनामा खराब मौसम प्रमुख कारणका रूपमा देखिएको छ । दुर्घटनापछि बन्ने छानबिन समितिले प्रायः खराब मौसम र पाइलटको गल्ती औंल्याउने गरेका छन् ।

त्यसो त नेपालको भौगोलिक अवस्था, मौसम मात्र नभई प्रायः अधिकांश विमान कम्पनीहरूले मापदण्डअनुरूप विमान सञ्चालन नगरेको पाइन्छ । त्यसैगरी नियमित रूपमा विमानका चालकदलको मानसिक र शारीरिक स्वास्थ्यको जाँच नहुने, नियामक निकायले मापदण्डबारे ध्यान नदिने गरेको पाइन्छ । लगातारजसो भइरहेका दुर्घटनाका कारण यिनैमध्ये कुनै पनि हुन सक्छन् या यीभन्दा अन्य कारक तŒवहरू पनि हुन सक्छन् । यस विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नु आवश्यक छ । सरकार मात्र नभई सम्पूर्ण सरोकारवाला गम्भीर बन्नु आवश्यक छ ।