विजयपुर । विश्व स्वास्थ्य सङ्गठनको ‘वाक द टक’ को ७० औँ वार्षिकोत्सव धरानमा मनाइएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा वार्षिकोत्सव मनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनका सञ्चार अधिकृत सुदन ज्ञवालीले विश्वमा नसर्ने रोगहरूको न्यूनीकरणका लागि ‘वाक द टक’ कार्यक्रम सञ्चालन गरेको बताए । उनले भने, ‘पछिल्लो समय धेरै मानिस जीवनशैलीका कारणले नसर्ने रोगको सिकार बन्दै आएका छन् । त्यसकोे न्यूनीकरण जीवनशैलीले नै गर्न सकिन्छ ।’
उनले सहरी क्षेत्रमा हिँड्ने कार्य गर्न छाडेकाले नसर्ने रोगहरू शारीरिक क्रियाकलापले नै नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम सञ्चालन गरेको बताए ।
कार्यक्रम नेपालमा २ वर्षदेखि मनाइँदै आएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जीव शर्माले प्रतिष्ठानमा दीर्घ रोग र मानसिक रोगसम्बन्धी २ दिने कार्यशाला गोष्ठी भइरहेको बताए ।
शारीरिक परिश्रम गर्दा नसर्ने रोगहरू नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश जनमानसमा पुर्याउन ‘वाक द टक’ ले सहयोग गर्ने उनले बताए । उनले ‘वाक द टक’ मा कुराकानी गर्दै हिँड्ने र सिर्जनात्मक कुरा पनि हुने बताए । प्रतिष्ठानका डा.मधुर बस्नेतले शारीरिक कारणले नसर्ने रोग महामारीको रूपमा आएको बताए । वाक द टक कार्यक्रमले शारीरिक क्रियाकलापलाई प्रोत्साहन गरेको बताए ।