नेपालमा हालसम्मकै सबैभन्दा बढी मानवीय क्षति हुने गरी आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो । जसमा चार जना चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको सरकारी अधिकारीले जनाएका छन् । यो मानवीय क्षति आन्तरिक उडानमा हालसम्मकै धेरै हो । काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयर दुर्घटनाग्रस्त हुनुको कारण खोज्न तत्काल सरकारले उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ । यो समितिलाई ४५ दिनको समयसीमा दिइएको छ । यो समयसीमाभित्र दुर्घटनाको कारणको खोजी र अबका दिनमा दुर्घटनाबाट बच्नका लागि गरिनुपर्ने उपायको खोजीसमेत गरिने उल्लेख छ । सन् २०१८ को मार्चमा युएस बाङ्ला विमानमा ५१ जनाको ज्यान जानेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । नेपालमा हरेक वर्ष झैं विमान दुर्घटना हुँदै आइरहेका छन् । दुर्घटना हुँदा सरकारले हरेक पटक छानबिन समिति बनाउने र प्रतिवेदन तयार पार्ने गरेको छ । तर, रात गई, बात गई आहान जस्तो हुँदै आएको छ । त्यसलाई कार्यान्वयन गर्ने तहमा भने अहिलेसम्म तदारुकताका साथ लागू गरेको पाइँदैन ।

नेपालको हवाई रुट अन्य देशको भन्दा जोखिमपूर्ण छ भन्ने यथार्थबाट हामी जो कोही पनि अन्जान छैनौँ । नेपालको आकाश जोखिमपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि हामीसँग भएका विमानहरूको प्राविधिक अवस्थाबारे अनभिज्ञजस्तै छौँ । पुराना तथा अन्यत्र वर्षौंवर्ष चलाइसकेका जहाजहरू नेपाली आकाशमा उड्ने गरेका छन् । गतवर्ष मे महिनामा पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको जहाज नै त्यसका लागि काफी उदाहरण हो । जहाँ २२ जनाले ज्यान गुमाउन पुगेका थिए । नेपालमा आउने विमानहरूको प्राविधिक जाँच, यहाँका रुटहरूको यथेष्ट जाँच हुन नसकेको हो कि भन्ने पनि देखिँदै आएको छ । अर्कोतिर हरेक पटकको दुर्घटनापश्चात् बन्ने समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्दाको परिणाम हो भनेर कतिपय विज्ञहरूले औल्याउँदै आएका छन् । यसतर्फ विचार किन नगरिएको हो ? एकातिर नेपाली आकाशको उडान जोखिमपूर्ण त छँदैछ, अर्कोेतिर प्रतिवेदनहरूले औंल्याएका टिपोटहरूलाई बेवास्ता गरिँदाको परिणाम हामीले भोग्दै आइरहेका छौँ । त्यसैको एउटा उदाहरण आइतबारको दुर्घटना हो । हाम्रा छानबिन समितिहरूले निक्र्यौल गरेका बुँदाहरूलाई अक्षरशः पालना गरिनुपर्ने हो, त्यो हुन नसक्दाको परिणाम हरेक वर्ष भोग्दै आइरहेका छन् । प्रतिवेदन सार्वजनिक भए पनि कार्यान्वयन कर्मकाण्डी हुँदाको परिणाम हो भन्नलाई हामी हिच्किचाउनु हुँदैन ।

नेपाली आकाशलाई कसरी सुरक्षित बनाउने हो ? यो राज्यको सरोकारको विषय धेरै हो । यसको मतलव जसले विमान उडान भर्ने अनुमति पाएका छन्, उनीहरूको हुँदै होइन भन्ने होइन । उनीहरू पनि उत्तिकै जिम्मेवार छन् । सरकार सबैभन्दा बढी जिम्मेवार निकाय हो । उसले नियामक निकायको जिम्मेवारी बहन गर्नुपर्छ । विमान उडाउने जिम्मेवारी पाएका संस्थाहरूले ल्याएका ‘बोइङ’ हरूको प्राविधिक जाँचदेखि लिएर सम्पूर्ण कुराको जिम्मेवारी उसले बोक्नुपर्छ । तर, यहाँ कमिसनको चक्कर र खेलका कारण धेरै कुराहरू कर्मकाण्डी नै हुने गरेका छन् । फलतः हामी त्यसको सिकार हुँदै आएका छौँ । यसतर्फ अब सरकारले कर्मकाण्डी होइन । गम्भीर भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । सरकारले अभिभावकको जिम्मेवारी निभाउनुपर्छ अनि मात्रै नागरिक सुरक्षित हुन्छन् । राज्य पनि सबल हुन्छ ।