धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले संविधानको व्यवस्था र लोकसेवा आयोगको निर्देशनविपरीत प्रतिष्ठानका कर्मचारीहरूको एक तह आन्तरिक बढुवाको तयारी गरेपछि प्रतिष्ठानकै चिकित्सक, शिक्षक तथा कर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी गरेका छन् ।

उनीहरूले अख्तियारसहित चिकित्सा शिक्षा आयोग, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालयलगायतका सरोकारवाला निकायमा उजुरी दिएको प्रतिष्ठान स्रोतले जनाएको छ । उनीहरूले दिएको उजरीपत्रमा लोकसेवाको सहमतिमा नियमावली संशोधन नभई नेपाल सरकारको ऐनविपरीत प्रतिष्ठानले जारी गरेको सूचना खारेज गर्न माग गरिएको छ । २०७४ सालमा सरकारले ऐन जारी गरेपछि प्रतिष्ठानको पुरानो ऐन स्वतः निष्क्रिय हुने भएकाले गैरकानूनी नियुक्ति र बढुवा खारेज गरी संशोधित ऐन आएपछि मात्र विज्ञापन गर्न माग गरिएको छ । उजरीमा लेखिएको छ, ‘प्रतिष्ठानको हितविपरीत पदको दुरुपयोग गर्ने उपकुलपतिलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न पनि यहाँ समक्ष अनुरोध गर्दछौं ।’

प्रतिष्ठानको संशोधित नियमावली लोकसेवा आयोगमा स्वीकृतिको अन्तिम प्रक्रियामा छ । संशोधित नियमावली नआउँदै प्रतिष्ठानले भने गत पुस २० मा चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवाका लागि भन्दै प्रतिष्ठानको सूचना पाटीमा विज्ञापन प्रकाशन गरेको थियो । लोकसेवा आयोगले ‘सङ्गठिन संस्थाका कर्मचारीको सेवाका शर्तसम्बन्धी कानून, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त २०७४’ अनुसार नियमावली संशोधन गरेर पठाउन पटक–पटक पत्राचार गरे पनि प्रतिष्ठानले डेढ वर्षअघि मात्र संशोधित नियमावली लोकसेवामा पठाएको छ ।

उक्त नियमावली आयोगबाट स्वीकृत भएपछि प्रतिष्ठानको सिनेट बैठकले पारित गर्नुपर्छ । त्यसपछि मात्र आयोगको परामर्श लिएर नियुक्ति, बढुवा र कारबाही गर्नसक्ने व्यवस्था छ । प्रतिष्ठानका एक कर्मचारी पदाधिकारीले मापदण्ड नपुगेका आफ्ना मान्छेको बढुवा गराउन हतारमा स्वतः बढुवा हुने गरी यस्तो सूचना प्रकाशन गरेको दाबी गरे । उनी भन्छन्, ‘नियमावली आएपछि बढुवा हुन लोकसेवाको नियम पालना गर्नुपर्छ । त्यसो गर्दा आफूले चाहेका मान्छे पर्दैनन् । त्यसैले सेटिङमा यस्तो सूचना आएको हो ।’

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सूर्यप्रसाद सङ्ग्रौला लोकसेवाबाट नियमावली संशोधन भएर आउन समय लाग्ने भएकाले लामो समयदेखि कार्यरत चिकित्सकको हितका लागि यस्तो सूचना निकालेको बताउँछन् । उनले प्रतिष्ठानबाट चिकित्सक, कर्मचारीहरू पलायन हुने क्रम बढेकाले बाध्यतावश यस्तो सूचना निकाल्नु परेको दाबी गरे ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नियमावली स्वीकृतिको प्रक्रिया अन्तिम अवस्थामा रहेको बताउँछन् । उनी भन्छन्, ‘आयोगबाट प्रतिष्ठानको नियमावली स्वीकृत हुने अन्तिम अवस्थामा छ तर, बीपी प्रतिष्ठानमा बढुवाको सूचना आएको भन्ने जानकारी हामीलाई पनि आएको छ । यो विषयमा आयोगमा छलफल हुन्छ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल भने प्रतिष्ठानको आन्तरिक कुरा भएकाले मन्त्रालयलाई खासै चासो नहुने भए पनि उजुरी परेको अवस्थामा मन्त्रालयले चासो लिने बताउँछन् ।