विराटनगर । ३ सय ३६ जना सर्वसाधारणको साढे १२ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका ज्वेलर्स सञ्चालक मोरङ उर्लाबारी नगरपालिका–५ तरुण चौकका ४९ वर्षीय राजेश भन्ने गोपाल गौतमलाई पक्राउ गरी कारबाहीको माग राखेका छन् । बचतकर्ताहरूले उर्लाबारीबाट बस रिजर्भ गरी मङ्गलबार जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिँदै ठगी गर्ने गौतमलाई पक्राउ गरी कारबाही र सर्वसाधारणको रकम फिर्ता दिनुपर्ने माग राखेका हुन् ।
उनीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालालाई भेटेर फरार भएका गौतमलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग राखे ।उर्लाबारी–६ डिबी मार्गमा गौतम सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनले आकर्षक ब्याज दिने प्रलोभनमा पारी सर्वसाधारणसँग १२ करोड ६६ लाख रुपैयाँ सङ्कलन गरेका थिए । उनी तीन वर्षदेखि फरार छन् । वर्षौं बितिसक्दा पनि आरोपी पक्राउ नपरेको कारणले गौतमलाई पक्राउ गरी कानूनी कारबाही र बचतकर्ताहरूले जम्मा गरेको रकम फिर्ताको माग राख्दै प्रशासन कार्यालयमा धर्ना दिन आउनुपरेको पीडित उर्लाबारीका पदम भण्डारीले बताए । ‘खाई नखाई दुःख गरेर आर्जेको रकम सुनचाँदी पसलमा उर्लाबारीका सर्वसाधारणहरूले ब्याज पाउने लोभमा राखिदिए ।
कराडौं रुपैयाँ जम्मा भएपछि सञ्चालक गौतम फरार भएको तीन वर्ष भइसक्यो । यसबीचमा हामीले न्यायका लागि जनप्रतिनिधिदेखि प्रशासन कार्यालयसम्म धाएको वर्षौं भइसक्यो’ जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएर बसेका पीडित भण्डारीले भने, ‘अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । हामीले बचत गरेको पैसा पाउने अहिलेसम्म टुङ्गो लागेकै छैन ।’
सुनचाँदीको कारोबार गर्ने अनुमति लिएर गौतमले गैरकानूनी बैङ्किङ कारोबार गरेको घटना बाहिर आएको वर्षौं भइसक्दा पनि आरोपीलाई पक्राउ गर्नेतर्फ प्रशासनले चासो नदेखाएको उनीहरूको भनाइ छ । ‘अवैधरूपमा बैङ्किङ कारोबार गरी सर्वसाधारणको करोडौं रुपैयाँ सङ्कलन गरेर फरार भएका गौतमलाई प्रहरीले पक्राउ गर्नमा चासो देखाएको छैन’ उनले भने, ‘आरोपीलाई प्रहरीले खोजबिन गरे पक्राउ परिहाल्ने थिए । तर, यहाँ चासो दिएको पाइएन ।’
गौतमको सुनचाँदी पसलमा १ लाखदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगाउने सर्वसाधारणहरू रहेका छन् । गौतमले रकम जम्मा गर्ने सर्वसाधारणलाई पासबुक दिने गरेका थिए । तीन सयभन्दा बढीले ब्याजमा लगाएको रकम लिएर गौतम फरार भएपछि पीडितहरूले जम्मा गरेको पैसा फिर्ता गराउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासनसम्म हारगुहार गरेका छन् ।
सुनसरीको इटहरी र मोरङको विराटनगर, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा रहेका अधिकांश सुन पसलले यस्तो गैरकानूनीरूपमा बैङ्किङ कारोबार गर्दै आएको जानकारहरू बताउँछन् । प्रायः सबै सुन पसलहरूले व्यक्तिगत पासबुक नै छापेर कारोबार गर्दै आएका छन् । एक–दुई सुन पसल छाडेर प्रायः सबैले यस्तो धन्दा चलाउँदै आएको एक सुन पसल सञ्चालकले नाम नछाप्ने शर्तमा जानकारी दिए । ठूला सुन पसलले करोडौंको कारोबार पासबुक राखेर सञ्चालन गर्ने गरेको उनको भनाइ छ ।
केही समयअघि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो सीआइबीले अनुमति नै नलिई बैङ्किङ कारोबार गर्ने विभिन्न इन्भेष्टमेन्ट कम्पनी, सुन पसल, फेन्सी पसलमा छापा मारेपछि इटहरीका सुन पसल सञ्चालकहरूको पनि भागाभाग भएको थियो । केही समय कारोबार बन्द गरे पनि पुनः कारोबार सञ्चालन हुन थालेको छ ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पीडितहरूलाई रीतपूर्वक जाहेरी दिन जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको जानकारी दिए ।
‘ठगिएका पीडितहरू आएका थिए’ उनले भने, ‘मैले प्रहरीमा गएर उजुरी दिन भनेको छु । जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनेछ ।’मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले स्वीकृति नलिई सुन पसलहरूले बचत कारोबार गर्नु गैरकानूनी भएकोले यस्ता पसल कारबाहीको दायरमा आउने बताए । ‘राष्ट्र बैङ्कबाट अनुमति नलिई सुनचाँदी व्यापारीले बचत सङ्कलन गर्नु तथा ऋण दिनु गरैकानूनी हो’ उनले भने, ‘यस्तो भेटिए कानूनी दायरामा आउनेछन् ।’
उनले सर्वसाधारणहरूलाई कानूनी मान्यता पाएको बैङ्क र सहकारीहरूबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् । व्यवसायीले छिटो र सहजरूपमा ऋण दिने तथा धितोको मूल्याङ्कन पनि बढी गर्ने भएकाले सर्वसाधारण यतातर्फ आकर्षित भएका हुन् । बैङ्कले धितो मूल्याङ्कन गरेर मात्र ऋण दिने, लामो प्रक्रिया, बिललगायतका कागजात खोज्ने भएकाले पसलबाट ऋण लिएको सर्वसाधारण बताउँछन् । आरोपीगौतमले सर्वसाधारणलाई उनीहरूले बचत गरेको रकमबाट महँगो ब्याज र धितोमा ऋणसमेत दिने गरेका थिए । पैसा फिर्ता गर्न नसकेपछि गौतम फरार भएपछि सर्वसाधारण बिचल्लीमा परेका छन् ।