विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रा.डा. सङ्गीता भण्डारीलाई नेपाल मेडिकल काउन्सिलले उपस्थित हुन पत्राचार गरेको छ । प्रतिष्ठानका चिकित्सकले भण्डारीविरुद्ध उजुरी दिएपछि उपस्थित हुन पत्राचार गरेको हो । नाक, कान, घाँटी विभागकी प्रा.डा. भण्डारी जनवरीदेखि ‘स्याबोटिकल लिभ’ स्वीकृत गराई बिदामा बसेकी थिइन् ।
यो बिदा पाँच वर्ष कार्य पूरा गरेपछि अध्ययन वा अन्य प्रयोजनका लागि पाइन्छ । बिदामा बसे पनि रेजिडेन्टलगायतको करार थपमा अनावश्यक हस्तक्षेप गर्दै आएकी थिइन् । प्रा.डा. भण्डारीलाई अनधिकृत रूपमा चिकित्सकमाथि दबाव दिने, अनावश्यक अनुशासनमा राख्ने र मनोवैज्ञानिक तनाव दिने गरेको आरोप लाग्दै आएको छ । तर प्रा.डा. भण्डारीले प्रतिष्ठानमा हाजिर गर्दै आफ्ना जुनियर चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको आरोप लागेको छ ।
विभागका एचओडी श्याम थापामाथि प्रा.डा. भण्डारीले अनावश्यक दबाव दिने गरेको प्रतिष्ठान स्रोतको भनाइ छ ।प्रतिष्ठानमा कार्यरत नाक, कान, घाँटी विभागका सिनियर रेजिडेन्ट डा. प्रविद गजुरेलमाथि कार्यक्षेत्र (अपरेसन थिएटर) प्रवेशमा रोक लगाएकी थिइन् ।
त्यसपछि निरन्तर चिकित्सकलाई अनावश्यक दबाव दिई असर पारेपछि डा. गजुरेलले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । उजुरी दिएपछि काउन्सिलले उनलाई ३६ घण्टाभित्र उपस्थित हुन पत्राचार गरेको प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य सङ्ग्रौलाले जानकारी दिए । उनका अनुसार काउन्सिलको समूह प्रतिष्ठान पनि आएको थियो ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी नभएकाले समूह फर्किएको थियो । त्यसपछि प्रा.डा. भण्डारीलाई पत्राचार गरेको हो । रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘उहाँलाई मेलमार्फत् जानकारी गरायौँ ।’ प्रतिष्ठान नियमावलीअनुसार ‘स्याबोटिकल लिभ’ चिकित्सकले ५ वर्ष सेवा गरेपछि १ वर्षका लागि अध्ययनलगायतको प्रयोजनका लागि बिदा पाउने गरेका छन् । बिदा स्वीकृत भएपछि समय नसकिउन्जेल चिकित्सकले फिर्ता हुन पाउँदैनन् ।
यसअघिको नजिरअनुसार रूपा सिंह रेक्टर हुँदा एनेस्थेसिया विभागका एचओडी एसएन सिंहलाई बिदा सकिन डेढ महिना बाँकी हुँदासम्म प्रतिष्ठान प्रवेश गर्न अनुमति लिँदा नियमावलीले नदिने भन्दै रोक लगाइएको थियो । रजिष्ट्रार सङ्ग्रौलाका अनुसार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बिदा पनि स्वीकृत गरेका थिए । बिदा स्वीकृत भइसकेपछि प्रा.डा. भण्डारीले बिदा नचाहिने भन्दै स्वीकृति रद्द गर्न माग गरेकी थिइन् ।
तर, उपकुलपति डा. गिरीले गरेको निर्णय प्रतिष्ठानका कार्यसमितिले अनुमोदन गरिसकोकाले रद्द गरेनन् । रजिष्ट्रार सङ्ग्रौलाले भने, ‘निर्णय स्वीकृत भइसकेपछि प्रा.डा. भण्डारीले माग गरेअनुसार बिदा चाहिँदैन भन्ने निवदेन दिनुभयो । उपकुलपतिले स्वीकृति रद्द हुँदैन भन्ने जवाफ दिनुभयो ।’
बिदा रद्द नगर्ने बताएपछि प्रा.डा. भण्डारीले उपकुलपति डा. गिरीलाई थर्काएकी थिइन् । प्रतिष्ठानका उपकुलपति डा. गिरीले बिदा स्वीकृति रद्द नगरेपछि प्रा.डा. सङ्ग्रौला उच्च अदालत विराटनगर पुगिन् । उच्च अदालतले अन्तरिम आदेश दिएपछि हाल उनलाई प्रतिष्ठानमा हाजिर गराएको रजिष्ट्रार डा. सङ्ग्रौलाले बताए । उनले भने, ‘अदालतको आदेश आएपछि सम्मान गर्दै हाजिर गराएका छौँ ।’ प्रा.डा. भण्डारीले के कारणले पहिले लिएको बिदा पुनः रद्दको माग गरेको भन्ने विषयमा राजिष्ट्रार सङ्ग्रौलाले अनभिज्ञता प्रकट गरे ।
उनले भने, ‘यकिन भन्न सक्ने परिस्थिति छैन । विभिन्न विषयमा मनमुटाव भएको हुनसक्छ ।’ उनका अनुसार प्रा.डा. भण्डारीका विषयमा काउन्सिलले अनुसन्धान गरिरहेको छ । यस विषयमा प्रा.डा. भण्डारीलाई फोन सम्पर्क गरेर बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । धरानका दलको ध्यानाकर्षणबीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
मङ्गलबार प्रतिष्ठानकी प्रा.डा. भण्डारी छुट्टी (स्याबोटिकल लिभ) मा बसेकी भए पनि उनले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको विषयले दलहरूलाई ध्यानाकर्षण गराएको हो । नेकपा (एमाले) धरान नगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले प्रतिष्ठानका समस्यामा सुझाव र सहजीकरण गर्नु राजनीतिक दलहरूको पनि कर्तव्य भएको बताए । उनले भने, ‘प्रतिष्ठानलाई जहिल्यै विवादित बनाउने र दक्ष चिकित्सकलाई बस्न नदिने परिपाटीको अन्त्य हुनुपर्छ ।’
प्रा.डा. भण्डारीले प्रतिष्ठानका चिकित्सकलाई पलायन हुने वातावरण सिर्जना गरेकाप्रति दलको गम्भीर ध्यानाकर्षण भएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले अराजक प्राध्यापक बीपी प्रतिष्ठान आउनु भनेको बीपीको दुर्भाग्य रहेको बताए । उनले प्रा.डा. भण्डारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएर जानुभन्दा अगाडिसमेत प्रतिष्ठानमा विवादित छवि भएको बताए । ‘प्राध्यापक भण्डारी बीपी प्रतिष्ठानमा आउनु चिकित्सक, कर्मचारी र पदाधिकारीहरूका लागि नै दुर्भाग्य हो’ उनले भने, ‘राम्रा चिकित्सकलाई प्रतिष्ठान व्यवस्थापनले काम गर्ने वातावरण तयार गर्नुपर्छ ।’
राजनीतिक दलसँगको छ्लफलमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जीव शर्माले स्थानीय चिकित्सकले काम गर्ने वातावरण नभएकोप्रति चासो व्यक्त गरे । प्रा.डा. शर्माले भने, ‘विवादको निकास हामी सबै मिलेर निकाल्छौँ, प्रतिष्ठानको भलो हुने गरी काम गर्छौं, प्रतिष्ठानमा धमिरा लाग्न दिँदैनौँ ।’ प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले काम गर्ने उचित वातावरण नभएको गुनासो गरे । उनले अनेक बहानामा मुद्दा लगाउने गरेकाले काम गर्न असहज भएको बताए । उनले समस्याको समाधान गर्न प्रतिबद्ध रहेको बताए । उपकुलपति गिरीले भने, ‘कसैको महŒवाकाङ्क्षा पूरा नहुँदा त्यहीँबाट आगो लागेको हो, छोरी कुटेर बुहारी तर्साउने भनेजस्तै हो ।’ ‘व्यवस्थापनसँगको आक्रोस हो भने छलफल गर्दा हुन्छ, ११ सय जना कर्मचारीको वृत्ति विकास रोक्ने गरी धम्कीको भाषा उपकुलपतिमाथि प्रयोग गर्ने हो ?’–उपकुलपति गिरीले प्रश्न गरे