विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले बिरामी भएर हस्पिटल ल्याएको जिउँदै नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि झगडा भएको छ ।

श्वास–प्रश्वासमा समस्या भएपछि कोसी अस्पतालमा ल्याएको १८ दिनको नवजात शिशुलाई डाक्टर यादवले बुधबार बिहान राम्रोसँग स्वास्थ्य उपचार नगरी जीवित बच्चालाई मृत घोषणा गरिदिएपछि झगडा भएको हो ।

मोरङको जहदा गाउँपालिका– ३ भातीगञ्जकी उमा मुखियाले कोसी अस्पतलामा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी नवजात शिशुको तौल १ किलो चार सय ग्राम रहेको थियो । अस्पतालमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो ।

विराटनगर–८ मधुमारा माइती घर रहेको मुखियाले छोरीलाई जन्म दिएपछि माइतीमा बस्दै आएकी थिइन् । उनका श्रीमान् दिलिप मुखिया हुन् । उनी एम्बुलेन्स चालक हुन् । मुखिया कोसी अस्पतालबाहिर बस्ने गर्दछन् ।

बुधबार छोरीलाई श्वास–प्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले बिहान ८ बजे कोसी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए । ड्युटीमा मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी रहेका थिए । उनीहरूको ड्युटी समय बिहान ८ देखि दिउँसो २ बजेसम्म हो । आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए । ‘त्यसपछि हामीलाई डा.आकाश यादवले भने, ‘छोरीको सास छैन । घर लैजानू ।’

डाक्टरले यति भनेको खबर सुनेपछि श्रीमती उमा र आफन्तहरूको आकस्मिक कक्षबाहिर रुवाबासी सुरु भएको दिलिपले बताए । ‘मैले श्रीमतीलाई सम्हाल्न थालेँ । त्यही बीचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरको लापरबाहीले मृत भनिएको रहेछ’ दिलिपले भने, ‘बिरामीको उपचारमा लापरबाही गर्ने यस्ता चिकित्सकलाई कडा कारबाही हुनुपर्दछ ।’

अहिले दिलिपले छोरीको उपचार कोसी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा गराउँदैछन् । छोरीलाई अहिले एनआइसियुमा राखेर उपचार सुरु गरिएको छ । ‘अहिले गोल्डेन अस्पतालमा राखेर छोरीको उपचार सुरु गरेको छु’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ ।’

चिकित्सकमाथि कुटपिट
उपचारमा लापरबाही गरी जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै कोसी अस्पतालको अकस्मिक कक्षका डा. आकाश यादवलाई कुटपिट गरिएको छ ।

नवजात शिशुका आफन्तहरूले डा. यादवलाई कुटपिट गरेका हुन् । जिउँदो बच्चालाई मृत घोषणा गरेको भन्दै आक्रोसित भएका आफन्तहरूले यादवलाई कुटपिट गरेका थिए । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ ।

चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोसी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।

अहिले नवजात शिशुका आफन्त र अस्पताल प्रशासनबीच छलफल चलिरहेको छ । कोसी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटनाका विषयमा बुझ्ने काम भइरहेको बताए । ‘नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन थिएन । सास पनि चलेको थिएन, उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझ्ने काम भइरहेको छ’ उनले भने, ‘यदि उपचारमा लापरबाही नै भएको पाइएमा अस्पतालले एक्सन लिनेछ ।’
ghaite